काठमाडौ, माघ २ - कालो जुत्ता र कालै ज्याकेटमा न्यानो अनुभूति गरेको तस्बिर फेसबुकमा राखेर नायिका रेखा थापाले केही दिनअघि स्टाटस् लेखिन्- 'आई हेट विन्टर ।'कमेन्ट गर्नेको ओइरो नै लाग्यो । कसैले विन्टरसँग समरको सन्दर्भ जोडेर कमेन्ट गरे । कसैले 'समर'भनेको को हो ? जसमा कुनै राप छैन, उसको नाम समर । जसमा कुनै रेशा छैन उसको नाम रेखा'भन्दै लेखे ।
रेखाले चाहिँ यी सबै कमेन्टलाई सकारात्मक रूपमा लिँदै लेखिन्-'हाहाहा...।''कुरा जाडो मन पर्दैन भन्ने थियो'त्यसपछिको कुराकानीमा रेखाले भनिन् 'तर, कमेन्ट चाहिँ अनेक आउँछन् हेर्न रमाइलै लाग्छ ।'सेलीब्रेटीहरूले जीवनलाई यसरी नै सहज बनाउनुपर्ने पनि थपिन उनले ।
जाडोमा आँखा र छालामा एलर्जी हुने भएकाले आफुलाई विन्टर खासै मन नपर्ने बताइन् रेखाले । तर, पनि मौसम अनुसार सेलिब्रेटी फेसनेवल हुनुपर्ने तर्क छ उनको । आइतबार मात्रै फेसबुकमा विन्टरलाई हेट गर्दै सेयर गरेको जुत्ता एक वर्षअघि विदेशमा किनेकी थिइन् । केही अघि हङकङमा विन्टर सुज र वान पिसमा मात्रै फोटो सेसन गरेकी उनी नेपाल फर्केपछि भने चेपाङबस्तीदेखि सहरका कार्यक्रमहरूमा 'टु पिस विद विन्टर सुज'मै देखिँदै आएकी छन् ।
'मेरो छाला सेन्सेटिभ छ,'उनले भनिन् 'जाडोमा यसलाई जोगाउनुपर्छ ।'तर पनि फेसनमा उनी जुत्तालाई खास अर्थमा लिन्नन् । गएको वर्ष कतारमा किनेको जुत्ता उनले अहिलेसम्म लगाउँदै आएकी छन् । ब्रान्डमा खासै ध्यान नदिने रेखाले एउटै जुत्ता दुई वर्ष सम्म लाउने जनाइन् । 'जाडोको फेसनमा खासै खर्च गर्दिन'उनले भनिन्, 'केही दिनका लागि जाडो आउँछ र जान्छ ।
आफू अभिनित फिल्म 'मेघा'को रिलिज पर्खिरहेकी नम्रता श्रेष्ठ चाहिँ धेरै नै ब्रान्ड कन्सस छिन् । नेपालमा चाहेको बेला उपयुक्त ब्रान्डको सामग्री नपाइने र पाए पनि विश्वसनीय नहुने उनको गुनासो छ । 'प्रायः विदेशबाटै मगाउँछु,'उनले भनिन् 'हामी कहाँ चुजेवल मार्केट कम छ ।'
एकदमै मन पर्यो भने चाहिँ कहिलेकाहीँ ब्रान्ड नै वास्ता गर्दिनन् । मनको अगाडि महँगीले पनि खासै अर्थ राख्दैन उनको लागि । 'मन पर्यो भने जति महँगो भए पनि किन्छु,'उनले भनिन्, 'अझ जुत्तामा त कम्प्रोमाइज गर्नै मन लाग्दैन ।''अल्डो'ब्रान्डको जुत्तामा उनको मन अल्झेको रहेछ । ड्रेसअपले माग गरे अनुसार उनी कहिलेकाहीँ क्लोज सुज पनि लगाउँछिन् । सजिलो र हल्लाका हिल भएको जुत्ता उनलाई मन पर्छ ।
'हिलले फिगरको लुक्स राम्रो देखाउन मद्दत गर्छ,'उनले भनिन् 'तर लोसन लगाएपछि बाक्लो सक्स लगाएर मात्रै बुट लगाउने गर्छु ।'नेपालमा ब्रान्ड कम भएकाले उनले बाहिर जाँदा जुत्ता र पहिरनमा बढी किनमेल गर्ने दाबी गरिन् । आवश्यकताअनुसार एक महिनामा २-३ वटा सम्म जुत्ता किन्ने गरेको उनले सुनाइन् । नेपालमा उनले कम्तीमा पनि १० हजार देखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने जुत्ता किन्ने दाबी गरिन् ।
अभिनेत्री सुष्मा कार्की सानैदेखि लुगा र जुत्ता फेरी-फेरी लगाउन सोखिन रहेको दाबी गर्छिन् आफूलाई । त्यो गुण अहिले झन मौलाउँदै गएको छ । लुगा अनुसार जुत्ता म्याच गर्नुपर्ने भएकाले उनीसँग 'जति लुगा उति जुत्ता'छन् रे । 'पब्लिक फिगर भएपछि बाहिरी आवरणमा खुट्टादेखि टाउकोसम्म ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता छ,'उनले भनिन् । जाडो याममा भने उनले धेरैजसो कन्भर्स सुज र 'बुट'लगाउन मन पराउने सुनाइन् । कन्भर्स जुत्तामा आफूलाई सहज अनुभूति गर्छिन् भने 'बुट'मा चाहिँ बोल्ड ।
रेखा जस्तै सुस्मा पनि ब्रान्डको पछि कुददनन् । राम्रो र सुलभ भए जुन ब्रान्डको पनि किनेर लगाउने उनको बानी छ । जाडोमा उनी प्रायः स्कटमा हिल भएको 'बुट'लगाउन मन पराउछिन् । 'अनुहारको मेकअपमा जति बढी ध्यान दिन्छु उत्तिकै खुट्टामा'सुष्माले भनिन् 'बुटमा म साँच्चिकै बोल्ड अनुभूति गर्छु ।'जुत्ता फेर्ने मामला चाहिँ उनको र नम्रताबीच कुरा मिल्छ । महिनामा २३ वटासम्म जुत्ता फेर्ने उनले सुनाइन् । ८ हजार रुपैयाँदेखि १० हजार मूल्य सम्मका बुट उनले किनेकी छन् । 'विदेशका सामग्री गुणस्तर हुन्छन्,'उनले भनिन्, 'सम्भव भएसम्म विदेशबाटै मगाउने गरेकी छु ।'
source : kantipur