धनगढी । कैलालीमा एक युवतीले आफ्नो शरीरमा मट्टितेल खन्याएर सोमबार बिहान आत्मदाहको प्रयास गरेकी छिन् । उनको शरीरमा आगो दन्केको देखेर अर्की एक महिलाको बेहोस भएर मृत्यु भएको छ ।
आत्मदाह प्रयास गरेकी युवतीको अवस्था चिन्ताजनक छ। सेती अञ्चल अस्पतालले रेफर गरे पनि ती युवतीलाई सोमबार साँझसम्म उपचारका लागि अन्यत्र लगिएको छैन।
धनगढी २ सन्तोषटोलकी २७ वर्षीय हेमा ओझाले सोमबार बिहान १० बजेतिर शरीरमा मट्टितेल खन्याएर आगो लगाएकी थिइन्। ओझा सुदूरपश्चिमान्चल एकेडेमीमा एमएड दोश्रो वर्षमा अध्ययनरत रहेको प्रहरी निरीक्षक मनोहर भट्टले बताए।
उनको शरीरमा आगो दन्किरहेको देखपछि नजिकै रहेकी २६ वर्षीय लक्ष्मी बिक बेहोस भएर लडेकी थिइन्। उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्याइएकी बिकको उपचार क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भट्टले बताए। बिकका दुई छोराछोरी छन्।
आगो लागेकी ओझाको शरीर ८० प्रतिशत जलिसकेकाले अवस्था चिन्तानजनक रहेको चिकित्सकले बताएका छन्। सेती अञ्चल अस्पतालबाट दिउसै रेफर गरे पनि युवतीको घरमा ८० वर्षका बुढा बुबा मात्र भएकाले उपचारका लागि सोमबार साँझसम्म अन्यत्र नलगिएको प्रहरीले जनाएको छ। युवती 'डिप्रेसन’मा रहेकाले शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।
- नागरिकन्युज