भोजराज श्रेष्ठधरान, ९ असार/ भनिन्छ, कलियुगका देवताहरु भनेका डाक्टहरु हुन् । उनीहरुप्रति आम मानिसको धारणा पनि त्यस्तै हुन्छ । अपेक्षा हुन्छ । तर, एचआइभी संक्रमितहरुको सवालमा भने ठिक विपरीत पाइएको छ । पूर्वाञ्चलको एकमात्रै एचआइभी संक्रमितहरुको उपचार गर्ने केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमित उपचार गर्ने विभाग बाहेक अन्य सवै विभागहरुले उपचारमा हिच्किचाउने गरेको गुनासो पोखेका छन् । संक्रमित परिचय पत्र देखेपश्चात नै अन्य विभागका उपचारका संलग्न डाक्टरहरु हिच्किचाउने गरेको संक्रमितहरुको गुनासो छ । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ट्रपिकल वार्डमा उपचार हुने गरेको छ । तर, अन्य विभागहरुमा गए सक्रमित परिचय पत्र देख्ने वित्तिकै उपचार नर्गने गरेको एचआइभी संक्रमित सोलुखुम्बूकी ३४ वर्षीय राई थरकी एक महिलाले सुनाइन् । उनले सम्बन्धित विभाग संवेदनशील बने पनि अन्य विभागहरुले हेयको दृष्ट्रिले हेर्ने गरेको बताइन् । ‘सम्बन्धित विभाग संवेदनशील हुन्छन् तर, अन्य विभाग चाही फिटिक्कै हेर्न चाहादैनन्’–उनले गुनासो गरिन् । एक महिना अघि दाँतको समस्या लिएर पुगेकी उनलाई प्रतिष्ठानका डाक्टरहरुले उपचार गर्न नसकिने भन्दै फर्काएको सुनाइन् । डाक्टरहरुले नै तपाईको रगतबाट सर्छ भन्दै पन्छिने गरेका छन् । संक्रमितहरुलाई अन्य उपचारमा कठिनाई हुने गरेको बताउँदै उनले मंहगो सुल्क तिरी निजी क्लिनिकहरुमा जानु परेको सुनाइन् । त्यस्तै, कहिलेकाही आफ्नो परिचय नै लुकाएर पनि उपचार गर्नुपर्ने बाध्यता भएको उनीहरुको संयुक्त गुनासो छ । धरान–१६ की शंकर थरकी एक महिलाले पनि आफूहरुलाई डाक्टरहरुले उपचारमा ध्यानै नदिने गरेको सुनाइन् । उपचारमा गए पनि उपचार गर्न सकिन्न भन्दै अर्को–अर्को डाक्टरहरुले देखाउने प्रवृतिले आफूहरु हैरान हुने गरेको दुखेसो पोखिन् । ‘साधारण मानिसहरुलाई जस्तो गर्दैनन्, अलिकति हिच्किचाउँछन्, उनले भनिन् । थाइराइडकी विरामीसमेत रहेकी उनले अहिलेसम्म प्रतिष्ठानबाट उपचार पाइरहेकी छैनन् । उनी १० वर्षदेखि एचआइभी संक्रमित महिला हुन् । जिल्ला एड्स समन्वय समितिले गरेको अध्ययनबाट सुनसरीमा खुलेर आएका ९०२ जना एचआइभी संक्रमितहरु छन् भने ३५० को हाराहारीमा धरानमा छन् । त्यस्तै नखुल्नेहरुमा १ हजारको संख्यामा भएको धरान नगर एड्स समन्वय समितिका उपाध्यक्ष सुमित डाँगीले बताए । बीपी प्रतिष्ठानमा एचआइभी संक्रमितहरुका लागि अस्पताल निर्देशकको संयोजकत्वमा कोर कमिटि पनि बनेको छ । तर, कोर कमिटिले पनि डाक्टरहरुलाई एड्सको बारेमा सचेतना गराउने काम नगरेको कोर कमिटिकै सदस्य नरेशलाल श्रेष्ठले बताए । कमिटिले पनि प्रभावकारी ढंगले काम नगरेका उनी बताउँछन् । ‘तीन तीन महिनामा बैठक बस्नु पर्ने हुन्छ, तर, कहिलेकाही एकवर्षमा पनि हुन्न, उनले भने । एचआइभी संक्रमितहरुकै क्षेत्रमा कार्यरत विश्वास महिला समूहकी अध्यक्ष रञ्जना श्रेष्ठले डाक्टरहरुको व्यवहार देखेर आजित छिन् । ‘डाक्टरहरुलाई त झन एचआइभी एड्सको बारेमा जानकारी हुनु पर्ने हो, तर, जाने पनि नजाने झै गरेर उपचार गर्दैनन्, उनले भनिन् । एचआइभी बाहेकको उपचार गर्नु पर्दा डाक्टरहरुकै कारण बिरामीहरु स्टाटस लुकाएर निजीमा उपचार गराउनु पर्ने बाध्यता भएको सुनाउँछन् । प्रशासनले नै अन्य विभागका डाक्टरहरुलाई एड्स बारे सचेत गराउन जरुरी रहेको उनी बताउँछन् । उपचारमा आनाकानी गर्नु वेठिक भएको उनको धारणा छ । प्रतिष्ठानकै एक डाक्टरका अनुसार सामान्य बिरामीलाई भन्दा बढी जोखिम मोल्नु पर्ने भएकाले पनि डाक्टरहरुले उपचारमा आनाकानी गरेको हुन सक्छ । ‘संक्रमितको उपचारमा बढी जोखिम हुन्छ । त्यसैले पनि डाक्टरहरुले नाक खुम्च्याएका होलान्’–उनले भने । प्रतिष्ठानका अस्पता निर्देशक डा. अरविन्दा सिंन्हालाई सम्पर्क हुन सकेन् । यता प्रतिष्ठानका सह प्रवक्ता पशुपति चौधरीले अन्य वार्डहरुमा पनि प्रत्येकमा दुइवटा वेड छुट्याउने भएकाले पनि डाक्टरहरुले भेदभाव नर्गने बताए । तर, संक्रमितहरुलाई उपचार गर्दा सुरक्षा कवचहरु धेरै अपनाउनु पर्ने भएकाले पनि बिरामीलाई त्यस्तो लागेको मात्रै हुन सक्ने बताए । उनले सुरक्षा प्रणाली अपनाएर उपचार गर्ने विश्वव्यापी मान्यता भएको र उपचारै नगर्ने भन्ने नहुने बताएका छन् । संक्रमित बिरामीहरुको शल्यक्रिया गर्नु पर्ने अवस्था आए, बिरामी र अन्य साधारण बिरामी, सर्जनहरुको पनि सुरक्षा अपनाउनु पर्ने कारण केही ढिलाइ भएको हुन सक्ने बताए । तस्विर क्याप्सन : मैनबत्ति तालिम लिँदै एचआइभी संक्रमित । तस्विर भोजराज श्रेष्ठ/खबरपाटी
↧
एचआइभी संक्रमितलाई उपचार गर्न हिच्किचाउँछन् डाक्टरहरु
↧