Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

'सेलिब्रेटी'दलालहरु

$
0
0
- अखण्ड भण्डारी
टेलिसिरियल बनाउने एउटा कलाकारले अमेरिका लैजान्छु भनेर मिडिया मार्केटिङ क्षेत्रमा संलग्न एक जनासँग साढे ५ लाख रुपैयाँ चप्काउन भ्याएछ । आफैं अमेरिका जान खुट्टा उचाले पनि नसकिरहेको उसले त्यही नाममा धेरै जनालाई ठगिसकेको रहेछ । अलिअलि नाम कमाएको, हेर्दा दाम पनि कमाए जस्तो देखिने अनि मीठो बोलेर लठ्ठ पार्ने उसलाई 'लाँदैन'वा 'ठग्छ'भनेर कमैले ठान्छन् । त्यही भ्रमको खेती उसको पैसा कमाउने गतिलो उद्योग बनिरहेको छ । तर जब उसले अमेरिका लैजान सकेन, मिडियावाला मित्रले हनुमानढोका प्रहरीमा उजुरी गरेछ । थुनिँदा नाकै जाने, फेरि ठग्ने बाटो रोकिने र उठाउने अरूको पनि ताँती लाग्ने डरले होला, उसले ४ लाखचाहिँ फिर्ता गरेछ । बाँकी छिट्टै दिने कागज गरेर कुरा मिलाएछ । ठगिने मित्रले आग्रह गर्दै मलाई भन्यो, 'पैसा उठाउनुछ, केही दिनका लागि नामचाहिँ नलेखिदिनु होला ।'

हामी ठगिन्छौं, ठगिएँ भन्न लजाउँछौं । यसका पनि आ-आफ्नै बाध्यता छन् । हल्ला गरेर भन्दा सल्लाह गरेरै उठाउने चाहना सबैको हुन्छ । हुन पनि मूल समस्या पात्रभन्दा प्रवृत्तिको हो । अमेरिका, क्यानाडा, बेलायत, जापान आदि देशमा जाने र भासिने नेपाली मोहसँगै कतिपय सेलिब्रेटी भनाउँदाहरू यो धन्दामा होमिएका छन् । सांगीतिक वा सांस्कृतिक कार्यक्रमको सूचीमा पारेर लगिदिन्छु भनेर झुक्याइएका पात्र खोज्दै जानुभयो भने हजारौं पाउनुहुन्छ । एउटै व्यक्तिले सयौंलाई त्यसो भनेका उदाहरण छन् । केही मात्रामा त्यसरी लगेर छाडिएका पनि छन् । तर धेरैजना फँसाइएका छन् । लामो समय लान नसकेपछि सम्पर्क गर्नुहोस्- कि फोन उठाउँदैनन्, कित फेरिसकेका हुन्छन् । पहिला देखाएको घर/डेरा खोज्दै जानुहोस्, सरिसकेका हुन्छन् । जम्काभेट हुन्छ कि ठान्नुहोस्-कागभन्दा कोइली बाठा हुन्छन् । के गर्नुहुन्छ ? कसरी उठाउनुहुन्छ ?

मानव अधिकारवादी, समाजसेवी वा अन्य कुनै आवरणमा ठूलठूला देश आउ-जाउ गर्ने कतिपय व्यक्तिले पनि यस्तो धन्दा गरेको पाइएको छ । विदशमै बसेर नाम कमाएका केही व्यक्ति बेला-बेला मान्छे ओसार्न आइरहन्छन् । दुईजना लाने चाँजोपाँजो मिलाएर आए भने दुई सय जनासँग पैसा उठाउँछन् । सुत्त उड्छन्, फुत्त हराउँछन् । ज्यान जाओस्, फोन उठाउँदैनन् । जहाँ जाने आसले तिरेको पैसा उठाउन त्यहीं पुग्न पनि सकिँदैन । ठान्नुहोस् - तपाईं सिधै फँस्नुभयो । तपाईंले पत्तै नपाई फेरि आएर कति बेला अरूलाई ठग्न भ्याइसकेका हुन्छन् ।

त्यस्ता धन्दावालाले कहिलेकाहीं कसै-कसैलाई लान सफल नहुने होइनन् । तिनैलाई उदाहरण देखाउँछन् । ताल परे फोनमा सम्पर्क गराइदिन्छन् । 'कमाइ राम्रो छ', 'उहाँले ठूलो गुन लाउनुभयो', 'उहाँजस्तो महान् र मनकारी त कोही छैन'आदि भन्न लाउँछन् । त्यति भएपछि त पैसा ग्वार-ग्वार झरिहाल्छ । अनि डुब्छ, धेरैको घरबारी । कसैले 'नदे फस्लास्'भन्यो भने 'फलानालाई लग्यो त'भन्ने उदाहरण हामी आफैं अघि सार्छौं । हामीले अन्धविश्वास गरेर पनि यस्तो दलालीले मलजल पाइरहेको हो । 

हो, हामी ठगिइरहन्छौं । ठगिएका घटनाहरू सुन्छौं, देख्छौं, पढ्छौं, कसैले त भोग्छौं नै, तर फेरि अर्कामाथि त्यसरी नै विश्वास गरिहाल्छौं । खोज्दै जानुभयो भने वैदेशिक रोजगारमा एकपटक ठगिएको व्यक्ति फेरि पनि त्यस्तै दलालको खोजीमा हिँडिरहेको हुन्छ । पहिला ठगिएभन्दा बढ्तै पैसा आँखा चिम्लेर बुझाउन डराउँदैन । अचम्मको लत बनेको छ, विदेश जाने सपना । बडो गज्जबको विश्वास बढेको छ, अनेक आवरणमा दलाली गर्नेहरूको । खासमा कलाकार वा समाजमा स्थापित देखिने कुनै पनि व्यक्तिलाई पत्याउन सजिलो हुन्छ । सेलिब्रेटीले के ठग्ला भन्ने विश्वासमा सर्वसाधारणले ह्वात्तै पैसा दिन सक्छन् । तर सबै सेलिब्रेटी कहाँ सच्चा सेलिब्रेटी हुन्छन् । गायनमा नाम कमाएकी एक महिलाले चेलीबेटी ओसार-पसारको धन्दा गरेको समाचार पुरानो भएको छैन । 

भ्रम नहोस्- सबै सेलिब्रेटीलाई दोष लाइएको होइन । तर जसले यस्तो बदमासी गरिरहेको छ, उसलाई सबै मिलेर आफ्नो कित्ताबाट निकाल्न सक्नुपर्छ । नाम कमाएको व्यक्तिले त आफ्नो र देशको प्रतिष्ठा जोगाउन सक्नुपर्छ । सर्वसाधारणको विश्वासलाई कुठाराघात गर्ने होइन, सम्मान गर्नुपर्छ । हामी आम नागरिकले पनि जसको जुन पेसा हो, त्यो मात्रै गर्छ भनेर बुझिदिनुपर्छ । कलाकार, पत्रकार, राजनीतिकर्मी, मानव अधिकारवादी, गायक, संस्थावाल आदिको काम मान्छे विदेश ओसार्ने होइन । जब उसले फलाना देशमा लगिदिन्छु भनेर ठूला आश्वासन दिन्छ वा पैसा नै माग्न थाल्छ— ठान्नुहोस्, यो ठग रहेछ । दलाली उसको पेसा होइन । त्यो जान्दा-जान्दै हामी पैसा खन्याइरहेका हुन्छौं ।

अलिकति नाम कमाएको एकजना गुरुङले नजिकका गुरुङै-गुरुङबाट करोडौं उठाइसकेछ । ठगीमा परेका एक गुरुङ बन्धु हालै मलाई भेट्न आएका थिए । आश्चर्य- मलेसियाको सेक्युरिटी गार्डमा जान साढे चार लाख अग्रिम दिइसकेछन् । महिनाको तलब ८० हजार रुपैयाँ पुग्छ भन्दा पनि पत्याएछन् । अलिकति त शंका पनि गर्नु नि । यसरी नै गुमराहमा पारेर सकेजति लुट्ने क्रम यस क्षेत्रमा बढेको छ । स्वजाति, नातेदार, नातेदारका नातेदार, आफ्नै गाउँले आदि ठगीमा बढी परेका पाइन्छन् । उनीहरूचाहिँ 'नजिकको'ठानेर बेइज्जत गर्न डराउँछन्, त्यही नजिकको व्यक्तिले सर्वस्व पारिसकेको पत्तो पाउँदैनन् ।

भन्नुहोस् त- हो कि होइन ?
- कान्तिपुरबाट साभार
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>