Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बिचल्लीमा बेपत्ता परिवार

$
0
0
बैतडी, फाल्गुन ७ - सकार-४ की रमा भट्टराईले राम्ररी नखाएको १३ वर्ष भइसक्यो, त्यसयता चैनले सुतेकी पनि छैनन् । २०५८ मा श्रीमान् टीका बेपत्ता भएपछि खान र सुत्न मन नलागेको उनी बताउँछिन् ।  

दुई छाक खान/लाउन धौधौ भएको अवस्थामा टीका कञ्चनपुरको मालाखेती बस्ने आफन्तको घर गएका बेला उतैबाट बेपत्ता भए । घरमा अन्न सकिएपछि गहुँ-चामल ल्याउन गएका श्रीमान् नफर्केपछि दुःखका दिन बढेको उनले सुनाइन् । 'कसैले मरेको हुन सक्ने अनुमान लगाए, कसैले कतै गयो होला भन्दै चित्त बुझाउने कुरा गरे,'गतसाता रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) सँगको भेटघाटमा सदरमुकाम आएकी उनले भनिन्, 'जाने त छाडेर गए, कसरी परिवार पाल्ने ?'उनका छोरा चमन ८ र छोरी तुलसी ६ कक्षामा पढ्छन् । बस्नलाई घर समेत नहुँदा माइतीमा गएर बस्दै आएकी छन् ।

सकार ५ कै पार्वती भट्टराईको पनि श्रीमान् हराएको ११ वर्ष भइसक्यो । उनलाई अझै कतैबाट आइपुग्छन् कि भन्ने आस छ । श्रीमान्् बेपत्ता भएयता पार्वती पनि छोराछोरीसहित माइतमै बस्दै आएकी छन् । कक्षा ९ मा छोरा र ७ मा पढ्ने छोरीलाई नियमित विद्यालय पठाउन समेत समस्या भएको उनले सुनाइन् ।

गाउँमा मजदुरी गरेर परिवार पाल्दै आएकाहरू एकाएक बेपत्ता भए पनि आफन्तहरूले त्यो पीडा अझै भुल्न सकेका छैनन् । 'आफ्नो काम र परिवारबाहेक कसैको मतलव थिएन,'पार्वतीले भनिन्, 'सास या लास पाए पनि चित्त बुझाउँथ्यौं ।'श्रीमान् बेपत्ता भएका महिलाहरू गाउँमा ज्याला-मजदुरी गरेर बालबच्चाको गुजारा गर्दै आएका छन् । 'माइतीको पनि पारिवारिक अवस्था कमजोर छ,'उनले भनिन्, 'काम नगरे बाल बच्चालाई खान पुग्दैन ।'

द्वन्द्वका बेला आफन्त बेपत्ता भएका परिवारले सरकारी कोषबाट ३ लाख राहत पाएका थिए । त्यो रकम घर खर्चको ऋण तिर्नमै ठिक्क भएको बताउँछन् । पटक-पटक अधिकारकर्मी र सरकारी निकायमा आएर सोधखोज गरे पनि आफन्तको अवस्थाबारे कुनै पत्तो नपाउँदा पीडा थपिएको उनीहरूले बताए । शिक्षा कार्यालयमार्फत बेपत्ताका बालबालिकालाई छात्रवृत्ति दिने व्यवस्था छ । गत वर्ष २० जनालाई छात्रवृत्ति वितरण भएको थियो । तर, २/३ विद्यार्थी भएका बेपत्ता परिवारले एक जनाको मात्रै छात्रवृत्ति पाएको बताउँछन् । शिक्षा कार्यालयले स्थानीय शान्ति समितिको सिफारिसमा विद्यालय मार्फत छात्रवृत्ति वितरण गरिएको जनायो । माथिल्लो कक्षामा गएपछि सरकारी स्तरबाट सहुलियत नपाउँदा बालबच्चा पढाउन समस्या भएको उनीहरू सुनाउँछन् । 'छाक टार्न समस्या भएका बेला कसरी स्कुल पठाउने ?'पार्वतीले भनिन् ।

आफन्त बेपत्ता भएका पुरुषको पीडा पनि महिलाहरूको भन्दा कम्ती छैन । सेनामा कार्यरत छोरा महावीर हराएको ११ वर्षसम्म पत्तो नपाउँदा परिवारले तनाव भोग्दै आएको भौनेली-९ का कृष्ण बहादुर चन्द बताउँछन् । महावीर नेपालगन्जमा कार्यरत छँदै बेपत्ता भएका थिए । उनले पटकपटक सेनाको केन्द्रीय कार्यालयदेखि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगायत उच्च तहमा रहेका बैतडेलीसित छोराको अवस्था पत्ता लगाइदिन माग गरेको बताए ।  

हिन्दु संस्कारअनुसार मृतकको दाहसंस्कार र काजक्रिया नगरे पछिल्लो पिढीलाई दुःख हुने विश्वास छ । भूलवश जिउँदोको काजक्रिया भए अनिष्ट हुने मान्यता पनि छ । 'काजक्रिया गर्न लासको पत्तो छैन, जिउँदो भए फर्किनुपर्ने,'कृष्ण बहादुरले भने ।  

बेपत्ता भएकामध्ये अधिकांश पुरुष छन् । उनीहरू बेपत्ता भएपछि सबैभन्दा बढी महिला र केटाकेटी प्रभावित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा आईसीआरसीको तथ्यांकमा १४ जना र स्थानीय शान्ति समितिको तथ्यांकमा ४४ जना बेपत्ता भएका छन् । शान्ति समितिका अनुसार २० परिवारले राहत पाएका छन् । द्वन्द्वका बेलाबाहेक र अन्यत्र गएर सम्पर्कविहीन भएका, भारतमा बसोबास गर्दै आएका र मृत्यु भएकाहरूले समेत बेपत्ताको सूचीमा निवेदन दिएको आरोप लाग्दै आएको छ ।
- कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>