.jpg)
राजविराज ७ स्थित आफ्नै घरको कोठामा सुतिरहेको बेला करिब दिउँसो २ बजे अचानक नजरानाको कोठामा आगलागी भएको हो । घरबाट धुवाँ आएको र कसैले चिच्याएको आवाज सुनेर घटनास्थल पुगेका छिमेकीहरुले नजरानालाई उद्दार गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याएका हुन् । घाइते नजरानाको अञ्चल अस्पतालमै प्राथमिक उपचार गरिएको र उनको शरीरको ९० प्रतिशत भाग जलेको अस्पतालस्थित आकास्मिक कक्षले जानकारी दिए । उनी बोल्न समेत नसक्ने अवस्थामा छिन् ।
नजरानालाई सघन उपचारका लागि अञ्चल अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको छ ।
यता नजराना सुतेको कोठामा भने आगलागीबाट सामान्य क्षति भएको छ । घटना घटेको बखत नजरानाको घरमा कोही नभेटिनु, घटनास्थलबाट मट्टीतेलको गन्ध आउनु र नजरानाकी सासुसहितका तीन जना महिला छिमेकीको घरमा फेला पर्नुजस्ता कारणहरुले उनको हत्या प्रयास भएको छिमेकीहरुको आशंका छ ।
घाइते नजरानाकी पति गुडु अन्सारी भने पन्ध्र दिनअघि रोजगारीकालागि साउदी अरब गएका छन् । छिमेकीहरुका अनुसार घाइते नजरानासित उनकी सासु बानो खातुन र देउरानी नुरजहाँसित पटक घरायसी विवादले झैझगडा हुँदै आएको थियो ।
अस्पतालमा भेटिएका घाइते नजरानाकी ससुरा महमुद अन्सारीले आफुलाई अचानक जानकारी आएपछि अस्पताल पुगेको बताए । 'राजविराजमै रहेको पसलमा थिएँ', सञ्चारकमीहरुसित उनले भने, 'एक छिमेकीले घटनाबारे जानकारी दिएपछि अस्पताल आएको हुँर । घटनाबारे मलाई केही जानकारी छैन् ।'
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी राजकुमार बैदवारले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । 'घाइतेको स्थिति नाजुक रहेकाले हामीले पहिल्यै उपचारलाई प्राथमिकता दिएका छौ', उनले भने, 'अनुसन्धानपछि हत्या प्रयास भएको हो वा होइनौं निश्कर्षमा पुग्नेछौं ।'