काठमाडौं : सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आफ्ना नेताहरुलाई नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गैर कानुनी ढंगले गिरफ्तार गरेको आरोप लगाउँदै कारबाही गर्नुपर्ने माग गरेको छ।
गत फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई प्रहरीले हतियारसहित पक्राउ गरेको थियो।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघका अध्यक्षसमेत रहेका सभासद् रञ्जित कर्णले ती हतियार इजाजत प्राप्त भएको दावी गरेका छन्।
कर्णले माग तत्काल सम्बोधन नभए कडा संघर्षमा उत्रने चेतावनी दिए। आजै विद्यार्थीहरुले त्रिचन्द्र कलेजअगाडि सवारी साधनमाथि ढुंगामुढा गरी विरोध जनाएका थिए।
आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैर कानुनी बाटोमा हिँडेका छन्, उनलाई प्रधानमन्त्री र गृह मन्त्रीले तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ, कर्णले भने।
कार्यक्रममा बोल्दै अर्का नेविसंघका पुर्व उपाध्यक्ष ऋषिकेश शाहले राज्यले उपलब्ध गराएको सुविधा र कानुन बमोजिम नै इजाजतपत्र सहितको हतियार बोक्दा पनि रमेश खरेलले गलत ढंगले नाटक मञ्चन गरी आफ्ना नेताहरुलाई पक्राउ गरेको आरोप लगाए। उनले भने– रमेश खरेलले मुलुकमा स्वेच्छाचारी शासन लाद्न खोजेका छन्। त्यसको नेविसंघ घोर भर्त्सना गर्दछ।
source : annapurnapost