२६ फागुन, लन्डन - बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनको घरमा काम गर्ने एउटी नेपाली महिला कामदारले बेलायती संसद् नै हल्लाइदिएकी छन् । कारण, उनी आफैँले कुनै हङ्गामा गरेर चाहिँ होइन । उनले बेलायतको नागरिकता प्राप्त गरेको विषयलाई लिएर हङ्गामा मच्चिएको हो । उनलाई नागरिकता दिलाउन प्रधानमन्त्री पत्नी सामन्था क्यामरुनले सहयोग गरेका कारण विपक्षी दलले कोकोहोलो मच्चाएपछि गीता लामा चर्चामा आएकी हुन् ।
बेलायतमा पछिल्लो समय आर्थिक सङ्कट गहिरिएको बेला कसरी आफ्नै देशभित्र रोजगारी सिर्जना गर्ने भन्ने व्यापक छलफल भइरहेका बेला प्रधानमन्त्री निवासमै गैर बेलायती नागरिकले काम पाएको देखिएपछि कोकोहोलो मच्चिएको हो । केही समयअघि स्वयं प्रधानमन्त्रीले बेलायती नागरिकहरुलाई सकेसम्म स्वदेशीलाई नै काम दिन आग्रह गरेका थिए । उनको सो भनाइले समर्थन समेत पाएको थियो । तर उनी आफैँले विगत आठ वर्षदेखि नेपालीलाई कामदार बनाएको भन्ने खुलेपछि भने उनको आलोचना हुन थालेको हो ।
त्यसो त बेलायतीहरु विदेशीलाई नागरिकता दिने मामिलामा निकै कञ्जुस छन् । खासगरी कालो छाला भएकाहरुलाई नागरिकता दिन भनेपछि अनेकौँ बहाना बनाइरहेका हुन्छन् । त्यसै पनि पछिल्लो समय भएको एउटा अनुसन्धानले राजधानी लण्डनमा गोराहरु अल्पसंख्यक हुन थालेको देखिएको थियो । गोराहरुको ठाउँमा अपि|mकी र एसियालीहरुको बाहुल्यता बढेको देखिएको थियो । त्यसैले नागरिकता दिलाउने कुरामा ठूलै हङ्गामा मच्चिने गरेको छ ।
अहिले प्रधानमन्त्री निवासमा रहेकी कामदार गीता लामाको विवाद उनको कामलाई लिएर भन्दा पनि उनले यति चाँडै कसरी नागरिकता पाइन् भनेर विवाद गरिएको हो । कञ्जरभेटिभ पार्टीका सांसद् जेम्स ब्रोकेनसायरले हालै आफू इमिग्रेसन मिनिस्टर नियुक्त भएपछि धनीहरुका कारण देशमा रोजगारी पाउन अप्ठेरो परेको वक्तव्य दिएका थिए । उनले वर्किङ क्लास बेलायतीलाई रोजगारी नदिएर विदेशीलाई रोजगारी दिएका कारण देशमा रोजगारी समस्या चर्किएको बताएका थिए ।
त्यसो त आफ्नो घरमा काम गर्ने व्यक्तिका बारेमा प्रधानमन्त्री क्यामरन परिवारले लुकाएका छैनन् । नेपालमा जन्मिएकी गीता लामाले वर्षौंदेखि आफ्नो घरमा काम गरिरहेको बताउँदै आएका हुन् तर मन्त्री ब्रोकेनसायरले चाहिँ प्रधानमन्त्रीलाई ढोंगी मानेका छन् । बोलीमा उनले जनतामाझ बेलायती कामदारहरुलाई नै काम दिनुपर्ने भने पनि आफैँले सो कुरा लागू नगरेको भनी कडा आलोचना गरेका थिए ।
यसबीचमा गीताले पाएको नागरिकतामा प्रधानमन्त्रीको सिफारिस वा प्रभाव पनि छ कि भन्ने विषयमा अनुसन्धान पनि शुरु भएको छ । साथै, गीताले पाउने पारिश्रमिक कति हो त्यसबारे पनि सोधखोज शुरु भएको छ ।
यसबीच, लेबर पार्टीका फिल विल्सनले प्रधानमन्त्री क्यामरन गीताको बारेमा पूर्ण रुपमा पारदर्शी हुनुपर्ने बताएका छन् । कामदार गीता र प्रधानमन्त्री निवासबीच के कस्ता सम्झौता भएका छन् भन्ने पनि खुलाउनुपर्नेमा पनि उनको जोड छ ।
यसबीच, गीतालाई नागरिकता दिलाउन प्रधानमन्त्री पत्नी सामन्थाको नाउँ उल्लेख गरिएको तर लिखित रुपमा कुनै पनि किसिमको सिफारिश नगरिएको स्पष्ट भएको छ ।
नौ वर्षअघि लेबर होम सेक्रेटरी डेभिड ब्लङ्केटले राजिनामा दिनु परेको थियो । त्यसको कारण चाहिँ उनको घरमा काम गर्न फिलिपिनो कामदारलाई चाँडो भिषा दिलाउन उनको कार्यालयमा काम गर्ने एक महिलाले उनलाई सिफारिश गराएकी थिइन् । ती महिला र ब्लङ्केटबीच 'अफेयर'चलेको पछि खुलासा भएको थियो । फिलिपिनो कामदारलाई सिफारिश गरेकै कारण उनले राजिनामा दिनु परेको थियो । त्यस्तै स्थिति गीताको मामिलामा पनि दोहोरिएको हो कि भन्ने आशङ्कामा अनुसन्धान हुनु पर्ने र अनुसन्धान नभए पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने केहीको राय छ ।
यता प्रधानमन्त्री कार्यालय डाउनिङ स्टि्रटले भने ब्लङ्केटको घटना र यस घटनामा कुनै पनि किसिमको सम्बन्ध नरहेको बताएको छ । यो चर्चासँगै अर्का सांसद जोन मनले सबै क्याबिनेट मन्त्रीहरुले आफ्नो घरमा वा कार्यालयमा कसकसलाई जागिर दिलाएको छ भन्ने कुरा खुलासा गर्नुपर्ने भन्दै दवाव दिन थालेका छन् ।
विदेशी कामदारको कुरा कतिसम्म चर्किएको छ भने उपप्रधानमन्त्री निक क्लेगको नियमित रेडियो सवालजवाफ कार्यक्रममा उनको घरमा कुनै विदेशी कामदार छन् कि भनी सोधिएको प्रश्नमा उनले जवाफ दिन अस्वीकार गरे तर पछि उनले आफ्ना कार्यालय सहयोगीमध्ये एक जना बेल्जियन रहेको बताएका थिए ।
यसअघि इमेग्रेसन मन्त्री मार्क हार्परले आफ्नो लण्डनस्थित फ्ल्याटमा सफाइ गर्ने कामदार अवैधानिक रुपमा भित्रिएको पत्तो पाएपछि उनले राजिनामा दिएका थिए ।
को हुन् गीता लामा ?
गीता लामाको यसअघि कतै पनि नाम सुनिएको थिएन तर कामदार मिलाइदिने एउटा वेबसाइटका अनुसार, गीता यसअघि कुनै मुस्लिम देशको राजदूतावासमा दासजस्तो जीवन बिताइरहेकी थिइन् । त्यहाँ नारकीय जीवन बिताइरहेकी उनले खान र सुत्नबाहेक कुनै पनि किसिमको तलब सुविधा दिइँदैनथ्यो । घरेलु कामदारहरुको जीवनस्तर हेर्ने एउटा सामाजिक संस्थाले उनलाई सो घरबाट उद्धार गरिसकेपछि उनले क्यामरुनको घरमा काम पाएकी थिइन् ।
गीता काठमाडौँको बौद्धस्थित आरुबारी निवासी हुन् । उनको त्यहाँ दुई तले घर छ । घरैमा उनका बुवाले पसल चलाइरहेका छन् ।
गीता क्यामरुन परिवारकी सबैभन्दा रुचाइएकी कामदार मानिन्छिन् । उनलाई मुस्लिम राजदूतको घरबाट उद्धार गरिएपछि विज्ञापनमार्फत् अनुभवी 'न्यानी'को खोजी गरिरहेका बेला सामन्थाले काम दिलाएकी थिइन् । गीता नेपाल फर्किएको बेला सन् २००९ को फरवरीमा क्यामरुनका छोरा इभानको मृत्यु भएको थियो । इभान बालमस्तिष्क पक्षघातबाट पीडित थिए । गीतालाई क्यामरुन परिवारले कति रुचाउँथ्यो भने नेपाल आएका बेला ६ वर्षकै उमेरमा इभानको मृत्यु भएपछि उनलाई मृत्युसंस्कारमा बोलाइएको थियो ।
इभानको मृत्युपछि प्रधानमन्त्रीका छोराछोरीहरु नान्सी, अर्थर एल्वन र फ्लोरेन्सको रेखदेख गरिरहेकी छन् ।
एक वेबसाइटका अनुसार, गीताका भाइ पेम्बा लामाले क्यामरुन परिवारले उनलाई निकै राम्रो व्यवहार गरिएकाले यति लामो समय बितिसक्दा पनि उनी क्यामरुन परिवारसँगै रहेको बताएका छन् । गीताका श्रीमान् पवन लामा पनि बेलायतमा नै रहेको बताइन्छ ।
- नेपालीपत्र/एजेन्सी