१ चैत, काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्दिको विरोधमा सडकमा उत्रेका युवा संघका नेता कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दा ५ जना घाइते भएका छन् । नयाँ बानेश्वरस्थित यातायात व्यवस्था कार्यालय अगाडिको सडकमा विरोध जुलुश निकालेका युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्दा युवा संघका महासचिव राजिव पहाडीसहित ५ जना नेता कार्यकर्ता घाइते भएका हुन् ।
‘हामीले शान्तिपूर्ण जुलुश निकाल्ने क्रममा प्रहरीले एक्कासी हस्क्षेप गरी अन्धाधुन्दा लाठीले हान्यो ।’ युवा संघका सचिवालय सदस्य रोशन बस्नेतले भने । प्रहरीको लाठीचार्जबाट युवा संघका महासचिव राजिव पहाडी, सचिवालय सदस्य रोशन बस्नेत र संघका बैंक तथा वित्त प्रमुख घनश्याम धमला घाइते भएका हुन् । त्यसैगरी युवा संघका कार्यकर्ताहरु सुमित्रा थापा पनि प्रहरीको लाठीचार्जबाट घाइते भएका छन् । लाठीचार्जबाट घाइतेहरुको टाउको, ढाड र खुट्टामा चोट लागेको छ । घाइते सबैको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।


source : onlinekhabar