Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यसरी हराइन् धीरेन्द्र शाहकी पत्नी प्रेक्षा !

$
0
0
काठमाडौं, २ चैत । हवाइ सेवाका लागि नेपाली आकाश असुरक्षित मानिन्छ । यहाँ ठुल्ठूला हवाइ दुर्घटना भएका छन् । अधिकांश दुर्घटनाबारे सरकारी तवरबाटै अध्ययन भएका छन् र प्रायः सबै कुरा बाहिर पनि आएका छन् । तर, १२ वर्षअघि रारा तालमा भएको एक हेलिकोप्टर दुर्घटना भने अहिलेसम्म रहस्यकै विषय बनेको छ । दुर्घटना हुनुको कारण पत्ता लगाउन गठन गरिएको आयोगको प्रतिवेदनले उल्टै घटनालाई थप रहस्यमय र शंकास्पद बनाएको छ । तत्कालीन अधिराजकुमारी प्रेक्षा शाह (धीरेन्द्र शाहकी पत्नी) सवार फिस्टेल एयरको ९ एन एएफपी एएस ३५० बी इक्युरियल हेलिकोप्टर २३ कात्तिक ०५८ मा रारा तालमा खसेको थियो । ‘भिआइपी’ सवार हेलिकोप्टर दुर्घटनाको झन् धेरै गहिरो छानविन हुनुपर्ने हो । तर, छानविन टोलीले ‘हचुवा पारा’ देखाएको छ, जसले घटनालाई थप रहस्यमयी र शंकास्पद बनाइदिएको छ ।
दुर्घटना हुँदा हेलिकोप्टरमा ६ जना सवार रहेको र तीमध्ये तीनजना ‘अझै हराइरहेको’ सरकारी अध्ययन-प्रतिवेदनमा उल्लेख छ । तर, को-को हराइरहेका छन् वा क-कसको मृत्यु भयो, केही खुलाइएको छैन । त्यस्तै, सरकारकै अर्को निकाय नेपाल उड्डयन प्राधिकरणको अभिलेखमा ‘रारा हेलिकोप्टर दुर्घटनामा चारजनाको मृत्यु’ भएको उल्लेख छ । तर, त्यसमा पनि क-कसको मृत्यु भयो भन्ने केही खुलाइएको छैन । हेलिकोप्टर कम्पनी फिस्टेल एयरसित त ‘रारामा हेलिकोप्टर दुर्घटना भएको’ सामान्य अभिलेखबाहेक केही विवरण नै छैन ।
१२ वर्ष बित्दा पनि रारामा खसेको हेलिकोप्टरको मुख्य बडी भेटिएको छैन । एक सय ६७ मिटर गहिरो तालमा हेलिकोप्टरसँगै केही मान्छे पनि अलप भएका छन् । तर, उनीहरू को(को हुन् भन्ने अहिलेसम्म सरकारी प्रतिवेदनले समेत खोलेको छैन ।
छानविन आयोगको प्रतिवेदन र नागरिक उड्डयन प्राधिकरणको अभिलेख एक अर्कासित बाँझिनु, फिस्टेल एयरमा कुनै अभिलेख नै नहुनु र दुर्घटनामा परेर सकुशल बाँचेका व्यक्तिहरू पनि औपचारिकरूपमा बोल्न नमान्नुले पनि दुर्घटनालाई थप रहस्यमयी बनाएको छ ।
कसरी भयो दुर्घटना ?
चार्टर्ड फ्लाइटमा रहेको हेलिकोप्टरमा तत्कालीन अधिराजकुमारी प्रेक्षा शाहसँगै नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल डाऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत थिए । हेलिकोप्टरको उडान क्याप्टेन रविन कडरियाको कमान्डमा थियो । दानबहादुर शाही नातेदार हुन् भने शारदा अधिराजकुमारी प्रेक्षाकी सहयोगी । डा खत्री प्रेक्षाका निजी फिजिसियन थिए । बस्नेत दरबारकै कर्मचारी ।
दुर्घटनाका दिन राराको मौसम सामान्य र सफा थियो । हेलिकोप्टरले ११ बजेर ५ मिनेटमा रारा हेलिप्याडको पूर्वतर्फबाट सामान्य ‘टेकअफ’ गरेको थियो । पाइलटले हाइट लिनलाई एक फन्को लगाए । अचानक हेलिकोप्टर तल खस्न थाल्यो । हेर्दाहेर्दै राराको पानीमा डुब्यो । उडेको करिब एक मिनेटमै हेलिकोप्टर पानीभित्रै अलप भयो ।
दुर्घटनालगत्तै पूर्वअधिराजकुमारी प्रेक्षाको शरीर पानीमा देखिएको तर तत्कालै गायब भएको छानबिन आयोगको प्रतिवेदनमा उल्लेख छ । उनीसँगै रहेका अन्य दुई व्यक्ति र हेलिकोप्टरको मुख्य बडी अहिलेसम्म फेला नपरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । ‘हेलिकोप्टर र हराइरहेका यात्रुको शव अहिलेसम्म भेटिएको छैन,’ प्रतिवेदनमा भनिएको छ । हेलिकोप्टरको सामान राख्ने ढोकाको टुक्रा, अक्सिजन सिलिन्डर, सिट कभर, कुसन र केही व्यक्तिगत सामान मात्र फेला परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकारी प्रतिवेदनअनुसार रारा दुर्घटनामा परेर अहिलेसम्म फेला नपरेकी प्रेक्षा पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी पत्नी हुन् । पहिल्यैदेखि धीरेन्द्रको परिवारमा दुःखद् घटना घट्दै आएका छन् । विभिन्न विवादित घटनामा मुछिएका धीरेन्द्रले अधिराजकुमार उपाधि त्याग्नुपरेको थियो । पञ्चायती शासनकालमा विवादमा मुछिएका धीरेन्द्रको ०४५ मै प्रेक्षासँग सम्बन्धविच्छेद भएको थियो । दरबार हत्याकाण्डमा दाजु वीरेन्द्रलाई बचाउन खोज्दा गोली लागेर धीरेन्द्रको मृत्यु भएको थियो ।
तर, फिस्टेल एयरका अध्यक्ष विकास राणाका अनुसार दुर्घटनामा परेकी पूर्व अधिराजकुमारी प्रेक्षाको शव भेटिएको हो । उनका अनुसार पाइलट कडरिया, हेलिकोप्टरमा सवार दरबारका नातेदार शाही र दरबारका कर्मचारी बस्नेत दुर्घटनामा बेपत्ता भएका हुन् । डा। खत्री र प्रेक्षाकी सहयोगी शारदा बाँच्न सफल भएको राणाले बताए । ‘यो कुनै लुकाउनु पर्ने कुरै छैन, छानबिनबाटै यी सबै कुराहरु बाहिर आइसकेका छन्’, राणाले भने ।
घटनाबारे धेरै चर्चा नै भएन
राजसंस्था कायम रहेकै वेला दरबारकै एक सदस्यसमेत हेलिकोप्टर दुर्घटनामा पर्दा पनि नेपालमा यसबारे धेरै चर्चा नै भएन । बरु, विदेशी सञ्चारमाध्यमले राम्रै ‘कभरेज’ गरे । रारामा हेलिकोप्टर दुर्घटना हुँदा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको करिब साढे पाँच महिना मात्रै बितेको थियो । यही कारणले पनि हुनसक्छ रारा दुर्घटना ओझेलमा पर्‍यो ।
छानबिन आयोग के भन्छ ?
ठूलो-सानो जत्रो भए पनि हवाइ दुर्घटना भएपछि सरकारले सामान्यतया छानबिन आयोग गठन गर्छ । रारा दुर्घटनापछि पनि सरकारले आयोग बनायो । तत्कालीन सहन्यायाधिवक्ता कृष्णराम श्रेष्ठको संयोजकत्वमा बनाइएको छानबिन समितिमा नेपाली सेनाका अवकाशप्राप्त ब्रिगेडियर जनरल खगेन्द्रबहादुर श्रेष्ठ, सेनाकै भिभिआइपी फ्लाइट इन्जिनियरिङ इन्चार्ज ओमप्रसाद श्रेष्ठ, सेनाका हेलिकोप्टर पाइलट सुधीर श्रेष्ठ, पर्यटन मन्त्रालयका उपसचिव उदयराज सापकोटा र नागरिक उड्डयन प्राधिकरणका चिफ पाइलट प्रभाकर घिमिरे सदस्य थिए । सापकोटा आयोगका सदस्यसचिव थिए ।
अन्य दुर्घटना छानबिन गर्न बनाइएका आयोगमा सेनाका धेरै अधिकारी संलग्न हुँदैनन् । केही आयोगमा भने सेनाका एकजना प्रतिनिधि रहने गरेका छन् । तर, रारा दुर्घटनाको छानबिन गर्न बनाइएको आयोगमा तीनजना सेनाका अधिकारी सदस्य थिए ।
आयोगले अन्य दुर्घटनाजस्तै यसको पनि अनुसन्धान त गर्‍यो, तर त्यसले थप आशंका जन्मायो । दुर्घटनामा बेपत्ता भएका वा मृत्यु भएका व्यक्तिहरूको नामसमेत बाहिर ल्याउन सकेन आयोगले । अहिले त आयोगका सदस्यहरूको स्मृतिबाट समेत दुर्घटनाका तथ्य पनि हराउन थालिसके ।
छानबिन आयोगका सदस्यसचिव गौतम पुरानो घटना भएकाले आफूलाई केही याद नभएको बताउँछन् । तर, हेलिकोप्टरको पार्टपूर्जा तथा हराएका शव खोज्न विदेशबाट समेत गोताखोर ल्याएको सम्झना गौतमलाई छ । ‘कैयौँ दिनसम्म नेपाली तथा विदेशी गोताखोरले रारामा डुबुल्की मारेका थिए । तर, इन्जिन र शव दुवै फेला परेन,’ गौतमले भने ।
संस्कृति तथा पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव भएकाले उनलाई छानबिन आयोगको सदस्यसचिव बनाइएको थियो । गौतमले सरकारी सेवाबाट अहिले अवकाश पाइसकेका छन् । रारा दुर्घटनालाई अरू हवाइ दुर्घटनाजस्तै प्राविधिक त्रुटिका कारण भएको दुर्घटना मान्छन् छानबिन आयोगका सदस्यसचिव गौतम । ‘प्राविधिक रूपमा अरू दुर्घटनाजस्तै हो त्यो पनि । कति दुर्घटनाको छानबिन गरियो, सम्भिmएर साध्य पनि हुँदैन,’ उनी भन्छन् । यद्यपी, घटनाबारे सबै तथ्य बाहिर नआएको उनी स्वीकार गर्छन् ।
गौतमका अनुसार छानबिन टोलीले स्थलगत भ्रमण गरेर तथ्य संकलन गर्ने प्रयास गरेको थियो । तर, पर्याप्त प्रमाण भेटिएनन् । यहाँसम्म कि दुर्घटनामा परेको ९ एन एएफपी एएस(३५० बी इक्युरियल हेलिकोप्टरको मुख्य बडी नै भेटिएन । दुर्घटनामा को-को बेपत्ता भए, को-को बाँच्न सफल भए र क-कसको मृत्यु भयो भन्ने यकिन तथ्यांकसमेत आउन सकेन ।
दुई सरकारी निकायका छुट्टाछुट्टै विवरण chait cover
रारा दुर्घटनामा मृत्यु भएका वा हराएका व्यक्तिहरूको सम्बन्धमा दुई सरकारी निकायका फरक-फरक विवरण छन् । सरकारले गठन गरेको छानबिन आयोगले तयार गरेको संक्षिप्त प्रतिवेदनमा हेलिकोप्टरमा चालकसहित ६ जना यात्रु रहेको र उनीहरूमध्ये तीनजना अझै हराइरहेको उल्लेख छ । प्रतिवेदनमा को(को हराइरहेका छन् र को-को फेला परे भन्ने प्रतिवेदनमा केही खुलाइएको छैन ।
छानबिन प्रतिवेदनअनुसार हेलिकोप्टरका क्याप्टेन रविन कडरिया थिए । यात्रुमा तत्कालीन अधिराजकुमारी प्रेक्षा शाह, नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल डा। ऋषि खत्री, शारदा सिंह, दानबहादुर शाही र ईश्वर बस्नेत थिए ।
उता, अर्को सरकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाइ सुरक्षा विभागले संकलन गरेको हवाइ दुर्घटना तथ्यांकमा भने रारा दुर्घटनामा चारजनाको मृत्यु भएको उल्लेख छ । प्राधिकरणका चिफ पाइलट प्रभाकर घिमिरे सरकारले बनाएको छानबिन आयोगका सदस्यसमेत थिए ।
दुर्घटनाबारे दुई सरकारी निकायका छुट्टाछुट्टै विवरणले पनि घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ । छानबिन आयोगले तत्कालीन सरकारको निर्णयअनुसार २५ फागुन ०५८ देखि खोजी तथा उद्धार कार्य बन्द गरेको थियो ।
हेलिकोप्टर कम्पनीसित दुर्घटनाको विवरण नै छैन
दुर्घटनाबारे सरकारी छानबिन प्रतिवेदन सार्वजनिक भइसकेको भन्दै फिस्टेल एयरले दुर्घटनाबारे आन्तरिक छानबिनसमेत गरेन । कम्पनीसित दुर्घटनाको विवरण पनि छैन । अन्य दुर्घटनाको जस्तै रारा दुर्घटनाको इन्स्युरेन्स रकम भने कम्पनीले पाइसकेको छ ।
फिस्टेल एयरका एक पुराना कर्मचारीका अनुसार सरकारले स्वाभाविक रूपमा दुर्घटना छानबिन आयोग गठन गर्ने भएकाले कम्पनीले चासो दिएन । त्यसमाथि राजपरिवारको सदस्य दुर्घटनामा परेकाले अप्रत्यक्ष रूपमा दरबारनिकट ‘ठाउँ’हरूबाट पनि घटनाको छानबिन नगर्न दबाब आएको ति कर्मचारीले बताए । त्यति ठूलो दुर्घटनाको औपचारिक रेकर्डसमेत कम्पनीसँग छैन । तिवेदन भन्छ- पाइलट दोषी
छानबिन प्रतिवेदनले घटनाको सम्पूर्ण दोष पाइलट कडरियालाई दिएको छ । प्रारम्भिक कारणका रूपमा गलत उडान प्रक्रियालाई औँल्याइएको छ । पाइलटले उचित ‘हाइट मेन्टेन’ नगरेको र तौलको पनि बेवास्ता गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार टेकअफको समयमा हेलिकोप्टरको तौल एक हजार आठ सय २८ किलो थियो । हेलिकोप्टरले राराअघि डोल्पाको से-फोक्सुन्डोमाथि पनि उडान गरेको थियो । से(फोक्सुन्डो तीन हजार ६ सय मिटर उचाइमा छ भने रारा दुई हजार सात सय मिटर उचाइमा अवस्थित छ ।
रारा दुर्घटना हालसम्मकै रहस्यमय रहेको र विवादित तथ्यांक आएको हवाइविद्हरू बताउँछन् । उनीहरूका अनुसार रविन कडरिया निकै अनुभवी पाइलट हुन् । उनले ‘हाई अल्टिच्युड’मा धेरै कठिन उद्धारको काम पनि गरेका थिए ।
रारामा दुर्घटना भएकै मोडलका नयाँ डिजाइनका हेलिकोप्टर नेपाली आकाशमा अहिले पनि उडिरहेका छन् । सम्बद्ध कम्पनीका अनुसार रारामा दुर्घटना भएको हेलिकोप्टर ‘बी’ सिरिजको पहिलो नम्बरको हो भने हाल तेस्रो र चौथो नम्बरका हेलिकोप्टर सञ्चालनमा छन् । दुर्घटनाग्रत सिंगल इन्जिन हेलिकोप्टर सन् १९९० मा फ्रान्स बनेको थियो ।
-मिरर न्यूज मासिकबाट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>