Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भारतमा नर्सिङ पढेका नेपालीलाई रोजगारीमा बन्देज

$
0
0

चैत १७, काठमाडौं : भारतका विभिन्न शैक्षिक संस्थामा बीएस्सी नर्सिङ पढेका नेपाली विद्यार्थीलाई भारतीय नर्सिङ काउन्सिलले रोजगारीमा बन्देज लगाएको छ।

भारत पढ्न जानुअघि नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएका संस्थाका प्रतिनिधिका अनुसार नेपाली विद्यार्थीलाई काउन्सिलमा दर्ता गर्न नदिने निर्णय गरेर रोजगारीमा बन्देज लगाएको हो। काउन्सिलमा दर्ता नभएपछि विद्यार्थीले इजाजतपत्र पाउँदैनन्। इजाजत नपाएका नेपाली विद्यार्थीलाई भारतीय अस्पताल तथा स्वास्थ्यसेवा प्रदायक संस्थामा काम गर्न कानुनी अधिकार छैन।

नतिजा सार्वजनिक भएपछि नर्सिङ काउन्सिलमा इजाजतका लागि निवेदन दर्ता गर्न गए पनि काउन्सिलले अस्वीकार गरेपछि निराश भएर फर्केकी सुस्मिता पौडेलले भनिन्, 'हामीलाई भर्ना हुने समयमा केही जानकारी गराइएन। तर पढाइ पूरा भएपछि इजाजत लिने बेलामा पक्षपातपूर्ण निर्णय गरियो।'पौडेलले मसुद कलेज अफ नर्सिङबाट चारवर्षे बीएस्सी नर्सिङ पूरा गरेकी हुन्।

काउन्सिलले यसै वर्षदेखि लागू हुने गरी बनाएको यो नियमले सन् २००९ पछि भर्ना भएका विद्यार्थी प्रभावित हुनेछन्। त्यसपछि भर्ना भएका विद्यार्थीको पढाइ पूरा हुन चार वर्ष लाग्छ। यो निर्णयबाट तत्काल आठ हजारको हाराहारीमा नेपाली विद्यार्थी मर्कामा पर्ने भारतमा नर्सिङ विषय पढाउन विद्यार्थीलाइ परामर्श दिँदै आएको सताक्षी एजुकेसन फाउन्डेसनका प्रमुख उमेश ढुंगेलले बताए। भारतीय शैक्षिक संस्थामा सन् २०१० मा भर्ना भएका विद्यार्थीको नतिजा यही मार्चमा सार्वजनिक भएको थियो।

इक्यानका अध्यक्ष राजेन्द्र बरालले नेपाली विद्यार्थी पढाउने, शुल्क लिने तर रोजगारी नदिने निर्णय अव्यावहारिक रहेको बताए। उनका अनुसार बीएस्सी नर्सिङ पढ्न नेपालबाट वार्षिक एक हजार पाँच सयदेखि दुई हजार हाराहारीमा विद्यार्थी भारत जान्छन्। '२००९ पछि भर्ना भएका नेपाली विद्यार्थीको संख्या आठ हजारभन्दा बढी हुन्छ', बरालले भने।

काउन्सिलले नेपालीसँगै बंगलादेश र भुटानबाट भारतमा नर्सिङ पढ्न आएका विद्यार्थीलाई समेत रोजगारी अनुमति नदिने निर्णय गरेको छ। इक्यान सदस्य ढुंगेलका अनुसार काउन्सिलले कलेजलाई छुट्टाछुट्टै पत्र पठाएर यसबारे जानकारी गराएको थियो।

तर काउन्सिलको निर्णय अव्यावहारिक भएको दाबी गर्दै नेपालीसहित अन्य विदेशी मुलुकका विद्यार्थी पठाउँदै आएका कलेज सञ्चालकले काउन्सिलको निर्णयविरुद्ध अदालतमा उजुरी दिएका छन्। ढुंगेलले भने, 'हामीसँग सम्पर्कमा रहेका कलेजले अदालतमा उजुरी दिएका छन्। तर आइतबारसम्म फैसला भएको छैन।'

पछिल्लो समय भारत नेपाली विद्यार्थीका लागि उच्चशिक्षा अध्ययनको आकर्षक गन्तव्य बन्दै आएको थियो। विशेषगरी नेपाली विद्यार्थी नर्सिङ र इन्जिनियरिङ विषय अध्ययन गर्न भारतको बैंगलोर, नोयडालगायतका सहरमा जाने गरेका छन्। खानेबस्ने सुविधासहित बीएस्सी नर्सिङ विषय पूरा गर्न नेपाली विद्यार्थीले भारतीय कलेजलाई न्यूनतम तीन लाखदेखि ६ लाख ५० हजार रुपैयाँ बुझाउँदै आएका छन्।

दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदुत खगनाथ अधिकारीले भारतीय नर्सिङ काउन्सिलले नेपाली विद्यार्थीलाई रोजगारीमा मात्र बन्देज लगाउने उद्देश्यले दर्ता रोकेको जानकारी आफूले पनि पाएको बताए। 'सत्य कुरा के हो भनेर बुझ्न भारतीय विदेश मन्त्रालयमा पत्र पठाएका छौं, केही दिनपछि मात्र वास्तविकता बाहिर आउला', उनले भने।
- अन्नपूर्ण पोष्ट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>