सन्तानका रुपमा छोरै जन्मिनुपर्छ भन्ने मान्यता पश्चिमी मुलुकहरुमा मात्रै हैन हाम्रो मुलुकमा पनि आजकल हराईसकेको छ । छोरा होस् वा छोरी एकै सन्तानमा चित्त बुझाएर खुसीसाथ जीवन बिताउने जोडी थुप्रै छन हाम्रो समाजमा ।छोरै जन्मियोस् भन्ने चाहना राखेर आमाबाबुले बिभेद गरे भने त्यसलाई त्यति राम्रो मानिन्न । तर, एक अबोध बालकले बाबुआमाले जन्माएको नयाँ सन्तान छोरी भएको थाहा पाउँदा रडाको मच्चायो भने के भन्ने ? अमेरिकाको एरिजोनामा हालै यस्तै घट्ना भयो । जसको भिडियो अहिले युट्युवमा भाइरल बनेको छ ।
अमेरिकाको एरिजोनाको एक परिवार नयाँ जन्मिएको सदस्यको पहिचानबारे जानकारी दिन भेला भयो । टेवलमा छन हाराहारी १० बर्षजतिका एक बालक र उसका दुई बहिनीहरु । बाबुआमाले नयाँ सन्तानको पहिचान खुलाउन अघि छोरा छोरीलाई के चाहान्छौं भनी सोध्छन । छोराले छोरा होस् भने भने छोरीहरुले छोरी ।त्यतिकैमा बाबुले केक लिएर काट्न दिन्छन् । बालक बढो उत्सुक भएर केक काट्छन । जब उनले केकको पिंधमा पिंक कलर देख्छन तब उनी धरधरी रुन थाल्छन् । फेरि केटी हो ? उनले निश्चित गर्न बाबुलाई सोध्छन । बाबुले हो भनेपछि उनी भन्छन- ‘हरेक समय छोरी, छोरी छोरी । म अर्को केटी चाहन्न । केटी धेरै भयो । मलाई भाइ चाहिन्छ ।’
उनलाई फकाउन बाबुआमालाई निकै हम्मेहम्मे पर्छ । बरर आँसु झारेर उनी यसरी रोएका छन कि उनलाई ठूलै दुःख परेको छ ।छोराको यस्तो ब्यबहारलाई बाबुले भिडियो खिचेर युट्युवमा राखेका छन जुन हिजोआज भाइरल बनेको छ ।