पाल्पा, बराङ्दी गाविस–२ की २९ बर्षीया शिक्षिका श्यामकला अधिकारीको रहस्यमय मृत्यु भएको छ। शवसँगै प्राप्त ‘सुसाइड नोट’ मा ‘दाईजोका कारण मेरो हत्या हुँदै’ भन्ने ‘हेडलाईन’ लेखिएको छ।
१९ गते राती श्यामकलाले लेखेको ‘सुसाइड नोट’मा श्रीमान् र परिवारको यातना सहन नसकेर आफू र दुई छोराछोरी समेतको मृत्यु हुँदै गरेको उल्लेख छ। ‘म किन यसरी आफ्नो जिन्दगी र छोराछोरीको जिन्दगीलाई अन्त्य गर्दैछु त?’ उनले ‘आत्महत्या’का लागि बाध्य पार्ने परिवारका सदस्यहरुको नाम उल्लेख गर्दै लेखेकी छिन् ‘उनीहरु सबैलाई ६० बर्ष जेल सजाय हुनैपर्छ।’ एक हजार शब्दमा लेखिएको ‘सुसाइड नोट’मा मृत्युको कारण दाइजो रहेको उल्लेख छ।
परिवारको संलग्नतामा श्यामकलाको हत्या गरिएको भन्दै माईती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन्। उनका पति जीवन अधिकारी, नन्द गीता, देवर शंकर र सासु प्रहरी हिरासतमा छन्। श्यामकला चैत्र २० गते बिहान घरको कोठाभित्र पासो लागेको अवस्थामा मृत भेटीएकी थिइन्। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा पुर्याइएको थियो। जिल्लामा पोष्टमार्टम हुन नसकेपछि अञ्चल अस्पताल बुटवल पुर्याइएको थियो। बुटवलबाट पनि रेफर गरेर त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाण्डौ पुर्याइएको थियो। पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। शवको अन्त्यष्टि शनिबार गरिएको छ।
उनका पति जीवन कतारबाट चैत्र १५ गते घर आएका थिए। १६ गते बुटवल गएका उनी १८ गते घर फर्केका थिए। विदेशबाट आएको ५ दिनपछि १९ गतेको राती घटना भएको हो। उनीहरुका ५ बर्षीया छोरी र ३ बर्षीया छोरा छन्। ‘सुसाइड नोट’मा ‘दुई छोराछोरीको समेत मृत्यु हुँदैछ’ भन्ने उल्लेख गरिएपनि उनीहरु सकुसल छन्।
जीवनले कतारबाट पत्नीलाई पठाएका चिठीमा अस्लिल र अपशब्द प्रयोग गर्दै ज्यान लिने धम्की समेत दिएका छन्। उनले पत्नी र माइती पक्षलाई पठाएका एसएमएसमा समेत धम्की र अपशब्द प्रयोग गरेका छन्। अधिकारी परिवारले भने हत्या आरोप इन्कार गरेका छन्। प्रहरीमा उनीहरुले दिएको बयानमा आफ्नै मर्जीले श्यामकलाले आत्महत्या गरेको बताएका छन्।
‘घर परिवारको चरम यातनाका कारण उनको ज्यान गएको हो,’ श्यामकलाका दाजू शोभाखर भण्डारीले करुवा पत्रिकासँग भने ‘हत्यामा संलग्नलाई कारबाही नभए यस्तै नियती भोलीका दिनमा अरुले पनि भोग्नुपर्ने हुनसक्छ।’ पाल्पाका प्रहरी प्रमुख डिएसपि शिव कुमार श्रेष्ठले मृत्यु रहस्यमय भएको बताए। ‘घटना रहस्यमय छ, परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ।’ श्रेष्ठले भने।
बराङ्दी प्राबीमा पढाउने शिक्षिका श्यामकलाले आफ्नो ‘सुसाईड नोट’ सञ्चारमाध्यममा पनि सार्वजनिक होस् भन्ने अन्तिम इच्छा जाहेर गरेकी छिन्। उनले लेखेकी छिन् ‘यी सबैकुरा र मेरो चिठीजति सबै प्रत्येक–प्रत्येक पत्रिकामा छपाईदिनुहोला। रेडियो नेपाल, टिभी, बिबिसीबाट सबै प्रचार–प्रसार गरिदिनुहोला।’ उनले नोटमा पीडा र यातनाका थुप्रै प्रशंगहरु लेखेकी छिन्। पतिबाट कहिल्यै पनि मायाँ नपाएको र सधै यातना र दुर्व्यवहार सहेको उल्लेख छ।
दाइजोको कारण मेरो हत्या हुँदै (सुसाइड नोट)
म अभागिनीको जिन्दगी यसरी सुरु हुन्छ,
मिति २०७०/१२/१९ गते बुधबार। विवाह भएको २०६०/११/२२ गते शुक्रबार। माइतीघर स्याङ्जा जिल्ला मालुङ्गामा पर्दछ। बाबाको नाम चुरामणी हो। म किन यसरी आफ्नो जिन्दगी र छोराछोरीको जिन्दगीलाई अन्त्य गर्दैछु त? आज मेरो विवाह भएको पनि १० बर्ष पुगी ११ बर्षमा हिँड्दैछ। मैले यस जिन्दगीमा कुनै दिन राम्रो, खुसी र सुखी केही पनि पाइन। मेरो लोग्नेको माया के कस्तो हुन्छ भन्ने कुरा मलाई आज १० बर्षसम्म पनि केही थाहा छैन। तर कहिल्यै पनि हरेश खाँदिन थिएँ। मेरा पाखुरा छन्, मलाई केही कसैको डर लाग्दैन थियो। तर म आज बाध्य छु म नमर्दासम्म मलाई सुखै भएन त म के गरुँ? म भित्रिएदेखि मलाई आज यो कुरा भोलि अर्को कुरा गरी–गरी मेरो ज्यान सुकेर ल हेर्नु कस्तो छ? यो उमेरको मान्छेको शरीर किन यस्तो भयो? आजसम्म पनि, १० बर्ष भयो, यो घरबाट केही जस्तै साबुन, कपडा, चप्पल आदि कुराहरु आजसम्म केही पाएकी छैन। २–२ वटा छोराछोरी भए लोग्नेको माया कस्तो हुन्छ थाहै छैन।
छोरो जन्मदा लोग्नेले कतारबाट फोन गरेका थिए अझै मरेकी छैनस् भनेर। यस्ता खालका चिठीहरु, मेरो जीवन (पति) ले पठाएका चिठीहरु मेरा दाई कृष्णप्रसाद भण्डारी र शोभाखर भण्डारीसँग छन्। ती सबै चिठीहरु एकएकगरी पढी किन कसरी आफ्नो हत्या गरेको भन्ने थाहा हुन्छ। विवाहको दाइजो दराज लोग्नेले फुटालीदिएर माइतबाट अर्को दराज ल्याइयो। ल हेर्नु घरमा दुइदुइवटा दराज दुईदुईवटा पलङ। टिभि सादा भयो भनेर फुटालीदिए। गाग्री चुहिने भयो भनेर कुच्याइदिए, मैले अहिले आएर पनि यस्ता कुराहरु कसरी सहने? मलाई बढी भयो। लोग्नेले छोरो पेटमा हुँदा राम्दीको पुलमा गएर हाम फालेर मर भनेर कतारबाट चिठी पठायो। उक्त चिठी मेरो दाई कृष्णसँगै छ। उक्त पत्र पनि अवश्य पढिदिनुहोला। मेरो घरपरिवारको राम्रोसँग कारवाही भएन भने जो जस्ले मेरो काण्डबाट उम्काउनुहुन्छ उस्लाई म मरेपनि छाड्ने छैन। म सपनीमा भएपनि उस्को परिवारलाई उस्लाई जे जसर पनि यही अवस्थामा ल्याइ पुर्याउने छु। एक होइन, दुई होइन, तीनवटाको यो मृत्यु कसरी भयो? कस्तो भयो? अलि बढी नै भएर होला नि? वरपर तलमाथि, दायाँबायाँ मेरो बारेमा सबैलाई थाहा छ सोध्नुहोला।
मैले बराङ्दी प्रा.विमा बाल सहयोगी कार्यकर्ता भएर पढाएकी छु। मेराबारेमा के कस्ता घटना घटे बालबच्चाले भविष्यमा गएर कति दुःख कष्ट सहनु पर्छ भन्ने कुरा कस्लाई के थाह? त्यसकारण मेरो छोरी पनि भोलि गएर यही मेरो स्थितिमा भैदियो भने के होला? आज बिहान पनि तँ रण्डी नमरुन्जेल मलाइ सुख भएन, दुनियाँ भरीका कुराहरु, नाना बेखन्ना कुराहरु मेरो श्रीमान्ज्यू जीवन अधिकारीबाट भयो। त्यसकारण हिजो राती १२:३० बजे घरमा हल्लाखल्ला भयो। छोराछोरी कहालिदै ममी भन्दै रोए। देवर कान्छाले खुर्पा हातमा लिई यहीँ सिध्याउँछु भन्दै आए। बल्लबल्ल सुतेको हो। मेरो कोठामा रातीको १२:३० बजे आई सासु, ससुरा, नन्द, देवर र जीवनले सारै नराम्ररी भने, हल्लाखल्ला गरे। म नमर्दासम्म पनि नरोइकन खान पाईन। त्यसकारण म मरेको खुसीमा खसी खाने भनेका जीवनले राँगो खाए हुन्छ।
मेरो लोग्ने र घरपरिवारलाई कहिल्यै पनि खुसी र सुख नआओस्। सबैका आँखामा सधै आँसु नै आँसु रहोस्। लोग्नेले स्वास्नी नपाएर कुकुरले नपाएको दुःख पाओस्। कुनैदिन स्वास्नीसँग हाँसेर बोल्न नपाओस्। स्वास्नी पाएपनि संसारकै रण्डी, चोर्नी, बेत्ताले पाओस्। छोराछोरीको मुख देख्न नपाओस्। म मरेपनि दिनरात यही घरवरीपरि बसिरहन्छु। जहाँ लोग्ने जान्छ त्यहीँ यसलाई सधैभरी दुःख नै दुःख दिन्छु। यसका आँखामा एकदिनपनि हाँसो देख्न चाहन्न। जतिखेर पनि मेरा माईतीलाई रातदिन गाली गर्ने, तेरा बाउको त्यो खान भन्ने किन?
स्कुल पढाउँछु तलब देवरले बुझ्ने हो। कसरी दुईवटा केटाकेटी हेरुँ? मैले के गरुँ? अहिलेको जमाना कस्तो छ? आजसम्म १० बर्ष पुगी ११ बर्ष लाग्यो लोग्नेको हातबाट एक रुपैयाँ पाएकी छैन। कसरी म चल्नु? यी सबैकुरा र मेरा चिठीजति सबै प्रत्येक–प्रत्येक पत्रिकामा छपाईदिनुहोला। रेडियो नेपाल, टिभी, बिबिसीबाट सबै प्रचार–प्रसार गरिदिनुहोला। मेरो पैसा भनेको मसँगसँगै पढाउने मेडम कल्पना भट्टराईसँग पच्चीस हजार लिन छ। चैत्र १ गते दिएको उक्त पैसा मेरी बहिनी राधा बश्यालकी छोरी रोशिका बश्याललाई दिनुहोला र जिम्मालकी सुमित्रा बश्याललाई मैले २ हजार दिनु छ त्यही मध्येबाट दिनु होला। तानसेन सूर्य लाईफ इन्स्युरेन्समा छोरी सन्जु अधिकारीको नामबाट बिमा खोलेकी थिएँ अहिले यही चैत्रमा २ बर्ष पुगी ३ बर्ष लाग्यो। पैसा बुझाएकी छु उक्त इन्स्युरेन्सको डाटा कल्पनाकी मम्मी राजकुमारकी श्रीमतीसँग छ। किनभने मेरो लोग्नेले उक्त पैसा ननिकाल्दासम्म मलाई रातदिन तँलाई मार्छु भनेको भन्यै गरे। उक्त मम्मीलाई राख्न दिएकी हुँ। उहाँको केही गल्ती छैन। उक्त पैसा मैले नखाएर, नलगाएर एकएक रुपियाँ गरेर जम्मा गरेको पैसा हो। उक्त पैसा मेरो परिवारलाई कुनैपनि हालतमा नदिनु होला। बरु उही संस्थालाई दिनु, मेरो परिवारलाई नदिनु। उक्त पैसा पनि बहिनीकी छोरी रोशिका बश्याललाई दिनुहोला। र दाईहरुसँग लिन भएको पैसा जम्मा २० हजार मात्र हो उक्त पैसा पनि उनै रोशिका बश्याललाई दिनुहोला।
अब यसलाई आजका ६ महिनामा फेरि आफ्नै परिवारको काट्टो खान पर्नेछ। र त्यो छ महिना पुगेपछि फेरि अर्को गरेर लगातार आफ्ना दरसन्तान ६/६ महिना पालो गर्दै लैजाँदै गर्नेछु। ख्याल गरेस्, होस राखेस्। कस्को बाउको काट्टो खाने हैछ? आजसम्म मलाई र मेरा छोराछोरीलाई यो घरकाले एकरुपैयाँ खर्च गरेर एउटा केही पनि ल्याइदिएका छैनन्। कसरी म बाँचु? मेरो बाँच्ने आधार खै त? स्कुल पढायो तलब देवर बुझ्छन्। रात न दिन घरमा काम गर्यो एक रुपैयाँ कसैले दिन्न। कसरी म बाँचु, कसरी म हाँसु? यो लेखन मेरा माईती पक्षलाई सबैलाई पढ्न दिनुहोला। मैले भने गरेका कुरा सही सत्य छन्। वरपर, तलमाथि सबैलाई सोध्नु होला। राम्रोसँग सबैलाई २० गुणा ३ बराबर ६० बर्षको जेल अवश्य नै हुनुपर्छ। तर दुईवटी देउरानीको भने केही दोष छैन। कडा भन्दा कडा कारवाही हुनैपर्छ। घरपरिवार सबैलाई, नन्दलाई पनि। मेरा टप, छोरीका छोराका मुन्द्रा, मेरा मुन्द्रा बहिनी राधा बश्याललाई दिनुहोला। विवाहको सिक्री मेराबाबाले लगाइदिएको सिक्रीमा रु ७ हजार थपेर ठूलो बनाएकी थिएँ, ३ बर्ष पहिले ४० हजार तोला सुन हुँदा, त्यसको पनि हिसाब गरेर उक्त सुन या पैसा बहिनी राधा बश्याललाई दिनु होला। ल त मेरो मोबाईल मेरो लोग्ने कतारबाट आएपछि उनकै हातमा छ, मसँग छैन, कति बज्यो रातको थाहा छैन। भोलि २०७०/१२/२० गते हो। म यो संसारमा रहन्न। मेरो लोग्नेलाई शुभकामना। सधै पिर चिन्ता, दुःख, रोग व्याधी, मुहार कहिल्यै पनि राम्रो नहोस् सधै रुन्चे मुहार होस्।