हङकङ।पहिलो चीन भ्रमणमा रहेका एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराईले बुधबार छेङ्दुमा चिनियाँ नेताहरूसँग गुपचुप भेटवार्ता गरेको समाचार आजको नागरिक दैनिकमा पूर्ण बस्नेतले लेखेकाछन।
काठमाडौंबाट ल्हासा हुँदै सिचुवान प्रान्तको राजधानी छेङ्दु पुगेका पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट्न बेइजिङबाट चिनियाँ नेता त्यहाँ आएका हुन्।
चीन सरकारले नै चाँजोपाँजो मिलाएको भ्रमण र भेटवार्तालाई भट्टराईले गोप्य राखेका छन्।
एमाओवादी राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको केन्द्रीय समिति सूचीमा असहमति जनाउँदै मंगलबार विराटनगर छाड्ने क्रममा मात्र उनले ‘निजी भ्रमणमा चीन जान लागेको’ खुलासा गरेका थए। बेइजिङस्थित नेपाली दूतावासले पनि पूर्वप्रधानमन्त्री भट्टराईको भ्रमण र भेटवार्ताबारे औपचारिक जानकारी नभएको जनाएको छ।
एमाओवादी राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको केन्द्रीय समिति सूचीमा असहमति जनाउँदै मंगलबार विराटनगर छाड्ने क्रममा मात्र उनले ‘निजी भ्रमणमा चीन जान लागेको’ खुलासा गरेका थए। बेइजिङस्थित नेपाली दूतावासले पनि पूर्वप्रधानमन्त्री भट्टराईको भ्रमण र भेटवार्ताबारे औपचारिक जानकारी नभएको जनाएको छ।
‘पारिवारिक पर्यटकीय’ भनिएको भट्टराईको भ्रमण चीन सरकारकै आयोजनामा भएको हो। करिब डेढ महिनादेखि भ्रमणको तयारी भइरहेको जानकारी दिँदै स्रोतले नाम उल्लेख नगरी उनलाई भेट्न बेइजिङबाट मध्यमस्तरीय नेता आएको जानकारी दियो।
‘भट्टराईसँग छेङ्दुमा चिनियाँ नेतासँग भेटवार्ता गराउनेदेखि मानसरोवर घुमाउनेसम्म सबै व्यवस्था चीन सरकारले नै गरेको हो,’ भ्रमणलाई औपचारिक मान्यता दिइएको बताउँदै बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टी सम्बद्ध स्रोतले नागरिकसँग भन्यो।
एमाओवादी नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा भट्टराईले चीन भ्रमण गर्न पाएका थिएनन्। करिब डेढ वर्ष प्रधानमन्त्री हुँदा पनि भट्टराईको चीन भ्रमणको साइत जुरेन। गत वर्ष कुनमिङमा भएको पहिलो चीन दक्षिण एसिया एक्स्पोमा सहभागी हुने भट्टराईको कार्यक्रम सरकार छाड्नुपरेपछि रद्द भएको थियो। त्यसयता उनले चीनले गरेको आर्थिक विकास अध्ययन गर्ने चाहना व्यक्त गर्दै आएका थिए।
काठमाडौंबाट एयर चाइनामा ल्हासा हुँदै छेङदु पुगेका भट्टराईसँग बेइजिङबाट आएका चिनियाँ नेतासहित स्थानीय अधिकारीले भेटवार्ता गरेका थिए। बुधबार साँझ छेङ्दुका गर्भनर वेइ होङले आयोजना गरेको डिनर बैठकमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को छेङ्दु प्रान्तीय सेक्रेटरी वाङ डोङमिङलगायत सहभागी थिए।
तिब्बतसँग सीमा जोडिएको सिचुवानको राजधानी छेङ्दुलाई चीनले दक्षिण र मध्य एसियासँगको व्यापारिक केन्द्रका रूपमा विकास गरेको छ। छेङ्दुबाट दक्षिण एसिया हेर्दै आएको चीनले त्यहाँ वाणिज्य दूतावास खोल्न नेपाललाई आग्रह गर्दै आएको छ।
बुधबार छेङ्दुमा रात बिताएर बिहीबार तिब्बतको राजधानी ल्हासा फर्कने भट्टराईको कार्यक्रम छ। ल्हासामा बिहीबारै भट्टराईले चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेत्रे्कटरी छन कुङवा र त्यहाँका सरकारप्रमुख लोसाङ ग्याल्तसेनसँग भेट गर्नेछन्। भट्टराई परिवारलाई तिब्बत सरकारले ल्हासा होटलमा बस्ने व्यवस्था मिलाएको छ।
ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालका अनुसार तिब्बतका पार्टी प्रमुख र सरकारप्रमुखले भट्टराईसँग बिहान र बेलुका छुट्टाछुट्टै बैठक आयोजना गरेका छन्। आफूले भट्टराई आउने सूचना बुधबार बिहान मात्र पाएको जनाउँदै बस्यालले भने, ‘चीन सरकारले सबै कार्यक्रम औपचारिक बनाउन खोजेको देखिन्छ।’
भट्टराईले बिहीबार महावाणिज्य दूतावासमा ल्हासामा बस्ने नेपालीहरूसँग पनि भेट्नेछन्। शुक्रबार बिहान एउटा राजनीतिक भेटवार्ता गरेर भट्टराई परिवार तिब्बतको दोस्रो ठूलो सहर सिगात्सेमा बास बस्न पुग्नेछ। काठमाडौंबाटै भट्टराईका साथ चिनियाँ दूतावासका एक अधिकारी पनि आएका छन् भने सम्भवतः तिब्बतका पार्टी उपसचिवले मानसरोवरसम्म भट्टराईलाई साथ दिनेछन्।
भट्टराई टोली ल्हासाबाट ९ सय ८० किलोमिटर पश्चिममा पर्ने मानसरोवर सडकमार्गबाटै जानेछ भने फर्कंदा जहाजमा सिधै ल्हासा उत्रनेछ। पश्चिम तिब्बतको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मानसरोवर विश्वकै आकर्षक तीर्थाटन मानिन्छ। भट्टराईले द्वन्द्वकालमा सरकारसँग वार्तामा आउँदा आमालाई मनकामना दर्शन गराएका थिए।
भट्टराईको पाँच सदस्यीय पारिवारिक टोलीमा पत्नी हिसिला यमी, छोरी मानुषी, ८४ वर्षीय पिता भोजप्रसाद भट्टराई र एक सहयोगी छन्। वैशाख २९ मा ल्हासा फर्केर वैशाख ३० मा काठमाडौं फर्कने कार्यक्रम छ। - हाम्रा कुरा