
बाह्र वर्षअघि गाउँबाट एकाएक हराउँदा पार्वती १० वर्षकी थिइन्। त्यतिबेला बुवा फर्साराम र आमा देवी गिरीले जति खोजे पनि पार्वती कतै भेटिएनन्। उनै पार्वतीलाई ३ वर्षकी छोरी र ३ साताको छोरासहित जेठ १६ गते आफ्नै आगनमा देख्न पाउँदा दुबैका आँखा हर्षका आँसुले भरिए।
जिन्दगीको १२ वर्षे यात्रापछि आमाबुवाको काखमै पाउँदा पार्वती पनि भक्कानिइन्। २२ वर्षीया पार्वतीलाई भारतमा उद्धार गरेर गाउँसम्म पुराउने काम गरेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज र त्यसको माउ संगठन राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष रेशम बीसीसहितका पदाधिकारीसँग कुरा गर्दै पार्वती १२ वर्षपछि फर्किइन् ।
१० बर्षको स्कुल पढ्ने उमेर थियो मेरो, पार्वतीले विगततिर फर्किएर भनिन्, करेसाबारी समेत नभएको सानो खरको झुप्रे घर। कान नसुन्ने र राम्ररी आँखा देख्न नसक्ने काका बुवा र उमेर धेरै नभए पनि बृद्ध देखिने आमा।
सानो भाइ र आफ्नो उमेर सानो भए पनि अरुको काम नगरे भोकै बस्नुपर्ने। यही अवस्थामा बाचेको थियो हाम्रो परिवार। उनी अझै भावुक मुद्रामा भन्दै गइन्, जीवन यसैगरी चलिरहेको अवस्थामा ठेकेदार पुरन घर्ति मगर गाउँमा आउनु भयो, उनले थपिन्, उहाँले सजिलो काम दिन्छु। खान पुग्ने दाम पनि दिन्छु। राम्रो लगाउने कपडा दिन्छु। बस्ने राम्रो बास पनि दिन्छु भन्नुभयो।
चर्को गरीवी, अभाव र समस्यामा जेलिएर जीवन खेर फाल्नुभन्दा उनकै विश्वास गरेर जानु नै उचित लागेको पार्वती बताउँछिन्। ठेकेदारको कुरा उचित लागेपछि बाबा, आमा, भाइ कसैलाई पनि थाहा नदिएर म ठेकेदारको पछि लागें। ठेकेदारले मलाई भारतको हिमाञ्चल प्रदेशमा पुराए।
त्यहाँ उनीसँग केही समय काम गरें। धेरै कठिन काम गर्नुपर्ने तर पैसा नदिने। त्यसैमाथि शारिरिक यातना सहन नसकेपछि तड्पिरहेको अवस्थामा सरिता दिदी भन्ने एकजना महिलासँग भेट भयो। उहाँले मलाई सुर्खेत घर बताउने हरि ठकुरीसँग विवाह गरिदिनुभयो। त्यसपछिको जीवन केही सहज भयो, पार्वतीले विस्तारमा भनिन्। पार्वतीका अनुसार विवाहपछि एक छोरीको जन्म भयो। छोरी यतिबेला ३ वर्षकी भएकी छ।
त्यसपछि ? त्यसपछिको बेली विस्तार लगाउँदै पार्वतीले भनिन्, त्यसपछि गर्भमा बच्चा भएको समयमा मेरो श्रीमानका आफन्तीहरु मैले थाहा नपाउने गरी हामी भएको ठाउँमा पुगेछन्। उनीहरुले मेरो श्रीमानलाई अलपत्र पारी भगाएर लगेछन्। मेरो श्रीमानले मलाई अलपत्र पारेर भागेको केही दिनपछि मात्र थाहा पाएँ। आफू गर्भवती भएको र त्यही समयमा श्रीमान्ले अलपत्र छोडेर हिडेको थाहा पाएपछि आफू मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको शरणमा पुगेको उनले बताइन्। एकता समाजले मलाई सहारा दियो।
छोरो जन्मियो। अहिले छोरो ३ हप्ताको भएको छ, उनले भनिन्, एकता समाजले गाडी भाडाको व्यवस्था समेत मिलाएर मलाई नेपालमा लिएर आयो। राष्ट्रिय जनमोर्चा दाङको घोराहीस्थित कार्यालयमा छोडेर जानु भयो। राजमोका अध्यक्ष रेशम बीसीसहितको टोलीले यहाँ गाउँसम्म लिएर आउनु भयो। म बाँचेर बाबा, आमाको घरसम्म आइपुगेकी छु ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चा दाङको कार्यालयमा २२ वर्षीया पार्वती वली (गिरी)लाई बुझाएपछि राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष रेशम बीसी, उपाध्यक्ष दोर्ण घर्ती, जिल्ला सदस्य शुक्रराज भण्डारी र डुरुवा गाउँ समितिका सचिव पीताम्बर पौडेलको टोलीले यही जेठ १६ गते शुक्रवार उनका बुवा र आमालाई जिम्मा लगाएको हो। पार्वतीलाई जिम्मा लगाएर फर्केका राजमो दाङका अध्यक्ष रेशम बीसी भन्छन्, हामी पार्वतीलाई लिएर उनको बुवाआमाको घरमा पुग्यौं। गरीवी र पीडा देखेर हामी अत्यन्तै दु:खी भयौं। उनले थपे, घरमा २/४ माना चामल र २/३ वटा बाख्राबाहेक केही पनि थिएन। केहि पनि थिएन। हराएकी छोरी १२ बर्षपछि घरमा आउँदा आमा हर्षित हुनुभयो। हर्षका आँसु चुहाउनु भयो तर सानी नातिनीले भोक लाग्यो भन्दा खान दिने केही नहुँदा आमाका आँखामा टिलपिल टिलपिल आँसु देखियो ।
अध्यक्ष बीसले भने, तीन साताकी सुत्केरी छोरीलाई खान दिने केही थिएन। सहयोग गर्नका लागि तत्काल हामीसँग पनि केही थिएन। सहयोग गर्न गाउँलेहरुलाई अनुरोध गर्यौं। अध्यक्ष बीसीले थपे, 'यता शहरबजारको रमझम र उता फर्साराम गिरीको परिवारको गरीवी देख्दा मन साह्रै दुख्यो।'अध्यक्ष बीसीले सम्झिए, राष्ट्रिय जनमोर्चाको टोली छुट्टिन लाग्दा पार्वती वली (गिरी)ले रुँदै भनिन्, दाइ, म सुत्केरी मान्छे। काम गर्न सक्दिन।
बाबाआमाले पनि काम गर्न सक्नुहुन्न। म कसरी बाँच्ने ? पार्वतीको यो प्रश्नले राजमो अध्यक्ष रेशम बीसीलाई अझै पनि अत्याइरहेको छ। अध्यक्ष बीसीले भारतमा अलपत्र परेर फर्केकी तीनसाताकी सुत्केरी पार्वतीलाई सहयोग गरिदिन व्यक्ति, सामाजिक संघसंस्था र राज्यसँग आग्रह गरेका छन्। अध्यक्ष बीसी प्रश्न गर्छन्, तारे होटलहरुमा लाखौं खर्चेर समाजसेवाका नाममा भोजभतेर चल्छन्। के तीन साताकी सुत्केरीलाई एक मुठी सातु मिल्ला ?