Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कुवेतमा फेरि धरपकड, शुक्रबार मात्रै झन्डै ८ सय २० कामदार पक्राउ

$
0
0
कुबेत, जेष्ठ २५ - कुवेत सरकारले गैरकानुनी कामदार पक्राउ गरी फिर्ता पठाउने अभियान फेरि सुरु गरेको छ । यसक्रममा शुक्रबार मात्रै झन्डै ८ सय २० कामदार पक्राउ परेका छन् । कुवेतको सार्वजनिक सुरक्षा मामिला विभागले गएको वर्ष पनि आवासीय कानुन उल्लंघन गरी बस्ने आप्रवासी कामदार पक्राउ गरी निकाला गरेको थियो ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार आवासीय कानुन उल्लंघन गरी बस्नेमा नेपालीहरू पनि छन् । तर, यो संख्या अन्य देशको तुलनामा कम छ । दूतावासले शुक्रबार पक्राउ परेको आप्रवासीमा नेपालीको संख्या यकिन नभएको जनाएको छ । स्थानीय सुरक्षा अधिकारीहरूले कुवेतका प्रमुख सहरहरू फर्वानिया, अल राय, सुक जुमा, जलिप अल सुयुख्खालगायत स्थानहरूमा छापा मार्दा गैरकानुनी कामदारलाई पक्राउ गरेका छन् ।

'गैरकानुनी कामदार निरुत्साहित गर्न हामीले यो अभियान सुरु गरेका हौं,'सार्वजनिक सुरक्षा मामिला विभागका महानिर्देशक अब्दुल्लाह फाटिहा अल अलीले स्थानीय सञ्चार माध्यमहरूसमक्ष भनेका छन्, 'यसलाई निरन्तरता दिनेछौं ।'

सुरक्षा अधिकारीहरूले शुक्रबार मध्याह्नदेखि रातिसम्म यो अभियानलाई निरन्तरता दिएका थिए । अलीले ती कामदारहरूमाथि थप अनुसन्धान गरी सम्बन्धित मुलुक पठाइने बताएका छन् । उनले ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि कारबाही गरी देश निकाला गर्ने बताएका छन् । कुवेतमा नेपाली ड्राइभरहरूको संख्या धेरै नै छ ।

अधिकारीहरूले यो लुकीछिपी काम गर्ने घरेलु कामदार (हाउसमेड) लाई पनि पक्राउ गरेका छन् । कुवेतमा भाग्नेमा महिलाको संख्या उल्लेख्य छ । 'भागेर सीधै दूतावास आइपुगेको खण्डमा हामीले सेल्टरमा राखेर उद्धार गर्ने गरेका छौं,'श्रम सहचारी सृजना तिवारीलेे भनिन्, 'बहिर अवैध रूपमा काम गर्नेहरू पक्राउ पर्ने गरेका छन् ।'

त्यसरी भागेर स्वदेश फिर्ताका लागि दूतावासमा आश्रय लिने महिलाको संख्या सधैंजसो दुई सय हाराहारी हुने गरेको छ । भागेर काम गर्नेमध्ये कतिपय वेश्यावृत्तिमा समेत लाग्ने गरेका छन् । हालैका महिनामा प्रहरीले त्यस्तो कार्यमा संलग्न भएको भन्दै ५ महिलालाई पक्राउ गरी मुद्दा चलाएको थियो । कुवेतमा ७० हजार नेपाली छन्, जसमा आधा महिला छन् ।
- कान्तिपुर

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>