काठमाडौं, असोज ८ । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहले विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आएको क्यासिनो रोयल बिक्री गरेका छन् ।
करिब ३० करोड रुपैयाँमा उनले गत महिना एक भारतीय व्यापारीलाई क्यासिनो बिक्री गरेका हुन् । राजबहादुरले क्यासिनो बिक्री गरेसँगै विभिन्न क्यासिनोमा महाप्रवन्धक भएर काम गरिसकेका मनोज सुवेदीले रोयल क्यासिनोको व्यवस्थापन सम्हालेका छन् ।
कम्पनी रजिस्टार कार्यालयबाटै आधिरकारिक रुपमा क्यासिनोको नामसारी भइसकेको छ । नेपाली प्रवेशमा प्रहरीको कडाइका कारण केही समययता कर्मचारीलाई समेत तलब दिन नसक्ने अवस्था आएपछि राजबहादुरले क्यासिनो बिक्री गरेको आजको नयाँ पत्रिकामा खबर छापेको छ ।
भारतीय व्यपारीबाट उनले पाउने पैसाले कर्मचारीको पुरानो तलब तथा रोयल्टी तिर्ने समझदारी भएको स्रोतले बताएको छ । दरबारमार्गस्थित याक एन्ड यती होटलपरिसरमा रहेको रोयल क्यासिनो करिब पाँच बर्षअघि सिंहले किनेका थिए ।