काठमाडौं, आषाढ ४ । २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत परियोजनाका लागि लगानी रकम जुटाउन सरकार सफल भएको छ । अछाम जिल्लामा बन्ने सो परियोजनाका लागि विकासका लागि साउदी फन्डले पनि तीन करोड डलर अर्थात् २ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबर ऋण सहयोग गर्ने सम्झौता गरेको छ ।
अर्थ मन्त्रालयमा बुधबार सम्पन्न लगानी सम्झौतामा फन्डका उपाध्यक्ष युसुफ वीन इब्राहिम अल्बसाम र अर्थसचिव युवराज भुसालले हस्ताक्षर गरे । विद्युत विकास विभागले निर्माण गर्ने सो परियोजनाको कुल लागत ६ करोड डलर रहेको छ ।
त्यसमध्ये अरब आर्थिक विकासको लागि कुबेत फन्डले १ करोड ८० लाख डलर सहयोग गर्ने सम्झौता सन् २०१३ मा नै गरिसकेको छ भने बाँकी १ करोड २० लाख डलर बराबर लगानी नेपालले गर्नेछ ।विद्युत विकास विभागले यसअघि विद्युत आयोजनाको अनुमतिपत्र बाँड्ने र अनुगमन मात्र गर्ने काम गर्दै आएकोमा अब विद्युत उत्पादन पनि गर्ने भएको हो । परियोजना सन् २०१९ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्झौताअघि एसएफडीका उपाध्यक्ष तथा प्रबन्ध निर्देशकको टोलीले अर्थमन्त्री डा. रामशरण महतलाई भेटी विविध पक्षबारे छलफल गरेको थियो । सो अवसरमा उपाध्यक्ष तथा प्रबन्ध निर्देशक युसुफ वीन इब्राहिम अलबासामले नेपालसँगको सम्बन्ध विस्तार गर्न दूतावास नै खोल्न लागिएको जानकारी गराएका थिए ।
साउदी अरबले नेपालमा जलविद्युत, सिंचाइका अतिरिक्त शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्न सक्ने जानकारी पनि सो अवसरमा दिइएको थियो । source : imagekhabar.com