Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

टीनएजमा डिस्मेनोरिया

$
0
0
पीडादायी महीनावारी 'डिस्मेनोरिया'ले महिला र किशोरीको दैनिक क्रियाकलाप नै अवरुद्ध पारिदिन्छ।
डा. सुमनराज ताम्राकार

महिला र किशोरीलाई बिना कुनै कारण (प्राथमिक प्रकारको) वा जनेन्द्रियमा समस्या भएर (सेकेन्डरी प्रकारको) पीडादायी महीनावारी हुन सक्छ। जनेन्द्रियमा कुनै समस्या नभए पनि करीब ५ देखि १० प्रतिशत किशोरी र महिलामा डिस्मेनोरिया हुन्छ। पिल्स, ब्रुफेन, एस्पिसिन जस्ता पीडानाशक औषधिको आविष्कारले यस्तो समस्या भएकालाई उल्लेख्य राहत दिएको छ।

टीनएजमा डिस्मेनोरिया"किशोरीवस्थामा डिम्ब निस्कने खालको महीनावारीसँग सम्बन्धित प्राथमिक प्रकारको डिस्मेनोरियामा सानो पेट दुख्नुको कारण पत्ता लागेको छैन। गर्भावस्था वा सुत्केरी (सिजेरियन होइन) भएपछि निराकरण हुने यस्तो डिस्मेनोरिया पाठेघरको अनियमित खुम्च्याई र पाठेघरमा अक्सिजन अभावबाट हुने विश्वास गरिएको छ।

मानसिक तनाव, पीडा खप्न सक्ने क्षमतामा कमीका साथै पाठेघरको मुख साँघुरिने, पाठेघरको जन्मजात खराबी, महीनावारीको वेलामा अत्यधिक भ्यासोप्रेसिन (पाठेघर खुम्च्याई बढाउने रासायनिक पदार्थ) तथा प्रोस्टाग्लान्डिन (पाठेघरमा रक्त सञ्चार घटाउने रासायनिक पदार्थ) को उत्पादनले पनि प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ।

महीनावारी शुरू भएको दुई वर्षसम्म यस्तो डिस्मेनोरिया हुन सक्छ। प्रभावित किशोरीकी आमा वा दिदीहरूमा पनि यस्तो समस्या भएको हुन सक्छ। सम्भ्रान्त परिवारका महिलाहरूमा प्राथमिक तहको डिस्मेनोरिया बढी हुन्छ।

यो समस्यामा महीनावारी शुरू हुनु केही घण्टा अगाडिदेखि वा शुरुआतसँगै सानो पेट दुख्न थाल्छ। यो क्रम २४ घण्टासम्म रहन सक्छ। यस्तो पीडा ढाड वा तिघ्रातिर पनि सर्न सक्छ। पीडासँगै वाकवाकी, थकान र टाउको दुख्ने पनि हुन्छ। तर, पेट वा जनेन्द्रियको जाँचमा केही समस्या भेटिंदैन।

यस्तो वेला मानसिक टेवा सबभन्दा महत्वपूर्ण उपचार हुन पुग्छ। केही दिनसम्म मेफेनेमिक एसिड, ब्रुफेन, नेप्रोक्सिन लगायत औषधि पनि प्रयोग गर्न सकिन्छ। यस्ता औषधिबाट सुधार नभएमा विवाहितले पिल्स चक्की चलाउन सक्छन्। कसैलाई पाठेघरको मुख फुकाउने तथा स्नायु प्रणाली शिथिल बनाउने सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ।

सेकेन्डरी प्रकारको डिस्मेनोरियामा महीनावारी अगाडि जनेन्द्रियका आन्तरिक अङ्गहरूमा रक्त सञ्चार बढ्नाले पीडा महसूस हुन्छ। जीर्ण प्रकारको जनेन्द्रिय संक्रमण, सानो पेट वरिपरि रगत जम्ने समस्या (इन्डोमेटि्रओसिस), उमेर पुगेका महिलामा पाठेघर बढ्ने स्थिति (एडेनोमायोसिस), पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पाठेघरको भित्री तहबाट मासु झोलिने समस्या (पोलिप) तथा पाठेघरमा राखेको कपर्टीका कारण यस्तो खाले डिस्मेनोरिया हुन्छ।

३० वर्ष नाघेका र बच्चा पाइसकेका महिलामा सेकेन्डरी प्रकारको डिस्मेनोरिया हुन्छ। यो समस्यामा तल्लो पेट र ढाडमा पीडा हुन्छ। महीनावारी शुरू हुन ३ देखि ५ दिन अगाडि पेट दुख्न शुरू भई महीनावारीमा रगतको बहावसँगै पीडा कम हुन्छ। वाक्वाकी लाग्ने, टाउको दुख्ने भने हुँदैन। इन्डोमेटि्रओसिस, एडेनोमायोसिस, फाइब्रोइड र पोलिप आदिको भने छुट्टै लक्षण देखा पर्छ। यसको कारण पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउण्ड, ल्याप्रोस्कोपी परीक्षणहरूबाट पत्ता लगाउन सकिन्छ।

डिस्मेनोरियाबाट छुटकारा पाउने कतिपय घरेलु उपाय छन्। यसका लागि तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका मालिस गर्न सकिन्छ। रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर तल्लो पेट वा ढाड सेक्न पनि सकिन्छ। अदुवा पानी तताएर खाँदा पनि आराम मिल्छ। यस्तो वेला खेलकुद, योग, टेलिभिजन, घुमफिर लगायत आफ्ना रुचिको क्षेत्रमा केन्द्रित हुनुपर्छ।

____________________________________________________________________________________

मिट्टलसमर्ज सिन्ड्रोम

डिम्ब निष्काशनमा हुने पीडा महीनावारीको मध्यताका हुन्छ। तल्लो पेटको दायाँ वा बायाँतिर हुने यस्तो पीडा १२ घन्टाभन्दा बढी रहँदैन। मिट्टलसमर्ज सिन्ड्रोम भनिने यस्तो समस्यामा योनीद्वारबाट रक्तस्राव र योनीस्रावसँग सम्बन्धित हुन सक्छ। यसो हुनाको कारण ठ्याक्कै थाहा छैन।

डिम्बभित्र अत्यधिक चाप बढ्नाले भित्री पेटको झिल्ली, डिम्बवाहिनी नली र पाठेघरको खुम्च्याइको कारणले यस्तो पीडा हुने अनुमान गरिन्छ। ढाडस र पीडा घटाउने सामान्य औषधिबाट यस्तो पीडा घटाउन सकिन्छ।

साप्ताहिक खबरपत्रिका हिमालबाट


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>