Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

टेरिया भन्छिन्, 'पुरस्कारको रकम बुवालाई दिने विचार छ । ताकि, उहाँ नेपाल फर्कनुहुनेछ

$
0
0

 
 
डान्स इन्डिया डान्स(डिआइडि) तेस्रो संस्करणकी विजेता टेरिया फौजामगरलाई विभिन्न कार्यक्रममा सम्मानको निम्तो आइरहेको छ । उपाधि जितेसँगै नेपालमा उनको प्रतिक्षा गरिरहेका शुभचिन्तक खुसी छन् । उनी असार १४ गते काठमाडौं आइपुगिन् ।
 
त्यही दिन उनलाई राष्ट्रिय सभागृहमा विभिन्न संघसंस्थाले सम्मान गरे । १५ गते साँझ राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरे । भेटघाट उस्तै छ । ६ महिनाको अवधिमा उलटपुलट भएको देख्दा उनकी आमा अनिता अचम्ममा परेकी छिन् । 'मैले आफैले जन्माएकी हुँ र, मलाई यस्तो लाग्न थालेको छ,' अनिताले एभरेस्ट टाइम्ससँग भनिन् ।
 
छोरी पहिलो छनोटमा परेपछि उनी पनि छोरीसँगै लागिन् प्रतियोगिता भइरहेको ठाउँमा । अनि सफल बनाएर आइन् । सन्तानका लागि आमाको 'गाइड' एकदम आवश्यक पर्ने मुख्य उदाहरण बनेकी छिन् अनिता । अबको दिनहरुमा छोरीलाई कसरी अघि बढाउने, यो चुनौतीको विषय भएको अनिताले बताइन् ।
 
रुपन्देहीको रुद्रपुरमा हिड्दा पनि कमैले चिन्थिन् रे उनलाई । टेरिया भन्छिन्, 'मलाई स्कुलका साथीहरु, सरमिस र घरकाले मात्र चिन्नुहुन्थ्यो, आज सबैले चिन्छन्, यो खुसी मैले कसरी देखाउनु ?' जिटिभीको रियालिटी शो डिआइडी जस्तो उपाधि जित्न सफल पहिलो नेपाली टेरियासँग गरिएको कुराकानी :
 
कतिको गाह्रो भइरहेको छ ?
 
मलाई सम्पूर्ण नेपालीले यति ठुलो उपाधि जित्न सफल बनाई दिएर पनि सम्मान गर्न थालेका छन् । उहाँहरुको भोटले म डिआइडि लिटल स्टार भएकी छु । उहाँहरु खुसी हुनुभएको छ । उहाँहरुले मलाई सम्मान दिन भेट्न खोज्नुभएको छ । भेटिरहनुभएको छ । पहिलोपटक यतिको भीडभाडमा मैले आफूलाई प्रस्तुत गरिरहेकी छु । तैपनि त्यति गाह्रो 'फिल' छैन । खुसीले होला ?
 
तीनलाखलाई जिते जस्तो लागिरहेको छ अहिले ?
 
मैले सुनेको अडिसनमा तीनलाखभन्दा बढी थिए रे । ती सबै जनालाई जित्ने सपना पनि देखेको थिएन । तर जब छानिदै गए । लाग्यो, जित्छु कि । जित्छु कि, जित्छु कि । यस्तै सोच्दासोच्दै, अथक प्रयास गर्दा गर्दै नेपालीहरु एक भएर म जिते । विदेशमा नेपालकी छोरीको प्रतिभा उच्च पारिदिनुभयो नेपालीहरुले । मेरो मेहेनत, नाच र नेपालीको सहयोगले म आज नेपालको नाम राख्न सफल भए । आज मलाई लागिरहेको छ, मैले तीनलाखलाई जितेकी रहेछु ।
 
पढाई के भइरहेको छ, सरमिसले के भन्नुभएको छ ?
 
म अहिले रुद्रपुरकै पिस ल्यान्ड भुपु सैनिक स्कुलमा कक्षा ४ मा पढ्दै छु । तर, स्कुल नगएको ६ महिना भइसक्यो । अब स्कुल जान्छु । पढाईलाई निरन्तरता दिन्छु । सरमिससँग बीचमा कुरा गर्ने मौका नै मिलेन । उहाँहरु एकदमै खुसी हुनुहुन्छ रे । यो सुनेर म झनै खुसी छु ।
 
१० लाख पुरस्कार पाएकी छ्यौ, यो रकमलाई कसरी सदुपयोग गर्ने विचार छ ?
 
मेरो बुवा दुबईमा हुनुहुन्छ । उहाँ हामीहरुलाई पढाउन, हुर्काउन उता जानुभएको हो । मैले जितेको पैसा बुवालाई दिने विचार छ । ताकि, उहाँ नेपाल फर्कनुहुनेछ र आफ्नै व्यापार व्यवसायमा लाग्नुहुनेछ ।
 
यो दौडमा आफुसँगै को भइदिए जस्तो लाग्छ ?
 
म आमासँग छु । हजुरबासँग छु । बाबा कामका लागि टाढा हुनुहुन्छ । उहाँलाई मिस गरिरहेकी छु । दिदी हुनुहुन्छ । रिक्मा दिदीले मलाई एकदमै माया गर्नुहुन्छ । उहाँको पनि ठुलो सहयोग छ, मलाई । दिदी कक्षा ९ मा पढदै हुनुहुन्छ । उहाँ घरमा बसेर पनि मलाई ठुलो सहयोग गरिरहनु भएको छ । मलाई दिदीले धेरै माया पनि गर्नुहुन्छ ।
 
टेरिया नामको अर्थ के हो ?
 
मैले सुनेकी, यसको अर्थ 'आज्ञाकारी' हुन्छ रे ।
 
अबको योजना के छ ?
 
म ठुलो भएपछि कोरियाग्राफर र एक्टर बन्छु । 
 
एभरेस्ट टाइम्स
 

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>