Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हामी सबै विदेशमै बसे कसले बनाउँछ त नेपाल ?

$
0
0
- विशाल सिलवाल
आफ्नो शैक्षिक करियरमा मैले सबैभन्दा बढी सुनेको शब्द मध्ये एक हो ’स्कोप’। इन्जिनियरिङ पढ्न सुरु गर्नुअघि धेरैले प्रश्न गरे, ’स्कोप छ? इन्जिनियरहरु त सबैभन्दा धेरै बेरोजगार छन् रे नि त।'कतिले भने, 'ओहो! नेपालमा एलेक्ट्रिकलको त धेरै स्कोप छ नि, ठीक गरिस् पढेर।'म ट्वाँ पर्थे। मैले त पढ्न मन लागेको बिषय भएर पढेँ। ४ वर्ष इन्जिनियरिङ पढ्दा धेरै कुरा सिकियो, कति पढेर, कति परेर। 

पछि आफूले पढेकै विश्वबिद्यालयमा पढाउँदा एकजना नयाँ भर्ना हुन आएका विद्यार्थीले सोधे, 'सर, एलेक्ट्रिकल इन्जिनियरिङको स्कोप कत्ति छ नेपालमा?'मैले भनेँ, 'कुनै पनि बिषयको स्कोप हुने र नहुने हुँदैन, पढिसकेपछि स्कोप आँफैले बनाउनुपर्छ।'उनलाई मेरो कुरा चित्त बुझेन क्यारे, हाँसेर हिँडे। तर मैले बुझेको त्यही थियो, कुनै बिषयको यति र उति स्कोप हुँदैन। मन लगाएर पढे, स्कोप आफैँले नै बनाउन सकिन्छ।

आज धेरै वर्षपछि पनि मैले यो ’स्कोप’ भन्ने शब्दबाट छुट्कारा पाएको छैन। पिएचडी सकेर नेपाल जान्छु भन्दा वाक्य पूरा भएको हुँदैन, साथीभाइबाट 'नेपालमा गएर के गर्छस त? स्कोप छ?'भन्ने प्रश्न झरिहाल्छ। नेपालमै काम गरिराखेका साथीहरुसँग कुरा गर्दा पनि किन आउनुपर्यो, यहाँ केही छैन भन्ने कुरा आउँछ। तर मेरो आँखाले हेर्दा, म नेपालमा जति स्कोप कतै देख्दिन। के कस्तो स्कोप छ त नेपालमा भनेर सोच्नुभन्दा अगाडि हामीसँग के छ र के छैन भन्नेको हिसाबकिताब गर्नुपर्छ। 

विकास पुर्वाधारहरुलाई हेर्यो भने हामीसँग नगन्य कुराहरु छन्। हामीसँग बत्ती छैन, बाटो छैन, खानेपानी छैन। कृषिप्रधान देश भनिन्छ तर चामल, दालदेखि तरकारीसम्म आयात गर्नुपर्छ। उर्जा छैन, कलकारखाना छैन। ब्यवस्थित यातायात छैन। हिमालपहाडहरु छन्, तर तीसम्बन्धी अध्ययन अनुसन्धान गर्ने निकाय छैन। प्राकृतिक श्रोत साधन यति धेरै छन् तर सदुपयोग गर्न सकिएको छैन। समग्रमा हेर्दा, हामीसँग निक्कै थोरै छन्। सबै जरादेखि सुरु गरेर बनाउनुपर्ने छ र यस्को जिम्मेवारी अब हाम्रै काँधमा छ। काम गर्न चाहे कुन क्षेत्रमा काम छैन र। नेपालमा धेरै कुराको स्कोप छ।

यी कुरा बुझ्ने मान्छेहरु नभएका हैनन। नेपालमा केही छैन, केही गर्न सकिदैन भन्ने सोच हावी भएको हाम्रो समाजमा बसेर त्यही सोचलाई चुनौती दिँदै काम गर्ने पनि धेरै छन्। नयाँ ’स्टार्ट अप्स’हरु शुरु गरेर रोजगारी सिर्जना गर्ने उहाँहरुको काम एकदम सराहनीय छ। नेपालमा स्कोप छैन भनेर बसेको भए शायद त्यसो हुँदैनथ्यो होला। 

इन्जिनियरिङ डिग्री लिएर पनि कृषि ब्यवसायमा हात हालेर राम्रो काम गरिराखेको उदाहरण हाम्रै समाजमा छ। बिदेशमा पढाई सकाएर नेपाल फर्की पर्यटन लगायत अरु ब्यवसाय सुरु गरेर प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेहरुको संख्या पनि अचेल बढ्दै छ। उहाँहरुको सकारात्मक सोचको कदर गर्नैपर्छ।

हामीसँग नभएको अर्को कुरा भनेको स्थायी सरकार र त्यसका कार्यक्रम पनि हो। स्थायी सरकार र उसका कार्यक्रमले भारी मात्रामा बाहिरिने नेपालको मानव संसाधनलाई रोक्ने वा कम गर्ने नीति अप्नायो भने मात्र पनि हामीसँग धेरै दक्ष जनशक्ति देशमै हुनेथ्यो। उच्च शिक्षा हासिल गर्ने हेतुले हामीजस्ता धेरै विद्यार्थी बिदेशमा छौँ। दुई तीन वर्ष पढ्नेक्रममा हामी यताको हावापानीमा यसरी भिज्छौँ कि हामीलाई नेपाल भनेको बर्षमा एक महिना बिदा मनाउन भन्दा बढी बस्न सकिन्छ जस्तो लाग्न छोड्छ। 

दुखै पाएपनि यताको रमझममा हामी नराम्ररी भुलिएका हुन्छौँ। बत्ती छैन, पानी छैन, फास्ट इन्टरनेट छैन। यी र यस्ता आदिइत्यादि बहानाहरु फुर्न थाल्छन्। तर सोचौँ त, उच्च शिक्षा हासिल गरेका सबै विदेशमै बसे कस्ले बनाउँछ त नेपाल? अहिले कम्सेकम दिनको १२ घण्टा त बत्ती आउछ, हप्ताको एक दिन भए पनि पानी आउँछ, तर नेपालमा स्कोप छैन केही गर्न सकिँदैन भनेर बसिरह्यौँ भने केही वर्षपछि न बत्ती आउनेछ न त पानी नै।

हामी यहाँ सिक्न आएका हौँ, सिकेर फर्किन्छौँ र सिक्या कुरा उता लागु गर्छौ भन्ने भावना अँगाल्नुपर्छ।

याद गर्नुस्, सरकार वा राज्यले त नीति बनाउने हो। देश त हामीले बनाउनुपर्छ। पत्याउनुस्, नेपालमा धेरै कुराको स्कोप छ।
(लेखक आल्तो युनिभर्सिटी, फिनल्यान्डमा इलेक्ट्रिकल इन्जिनियिरङमा विद्यावारिधि गर्दैछन्।)

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>