Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हजुरआमाको फोन

$
0
0
अचेल बिसन्चोले बढी नै चिथोर्न थालेको छ, मेरी हजुरआमालाई।

फोनमा नियमित बोलिरहन्छु। आँखा रसाउँछन्। रसाएर धमिलिएका मेरा आँखा उमेरले धमिल्याएर जालो लागेका हजुरआमाका आँखाले छर्लंग देख्छन्। वेभले उहाँको कानसम्म मेरो आवाज पुर्‍याउन सक्दैन। त्यसैले एकतर्फी कुराकानी हुन्छ।

उहाँ बोल्ने, मैले चुपचाप सुन्ने। घर जान मन लाग्छ, एउटा युग बाँचेकी उहाँलाई सुनिरहन। चौरासी पूजा गरेपछि मान्छे पनि देउता हुन्छन् अरे! हजुरआमा पनि देउता हुनुभयो।  देउता हुन्छन्/हुँदैनन्, संसार ढुक्क छैन।

मेरा लागि कम्तीमा तपाईं हुनुहुन्छ, त्यसैले म ढुक्क छु।  पढाइ र कामका अनेक टन्टाले घर गइरहन पाउँदिनँ। वेभले नसुनाएको मेरो आवाज उहाँ आफैँ सुनेर भन्नुहुन्छ, "तँ राम्ररी पढ्, काम अर्। आत्तिएर घर नआइज। मेरो पिर पनि नअर्। तेरा बा र आमाले नम्मरी स्याहार अर्चन्। तैँले ल्याइदेको मिस्री भ्याइयो। गुलियो मिस्री नातिको कमाइको हुँदा झन् गुलियो मानेर खाएँ !"

उहाँले रुचाउने खान्की, मिस्री लगिदिएको थिएँ। सकिएछ।  "बिहा अर्।"मलाई जिस्क्याउनुहुन्छ। "स्वास्नी ले। तँलाई चट्ट पारेर केम्पस पठाम्चे, मीठो ख्वाम्चे। मोया अर्चे। जे जात भए नि केई हुन्न। तेरा बा र आमाले नमाने म फकाम्चु। सुन्छु अनि मुसुमुसु हाँस्छु।"फेरि भन्नुहुन्छ, "हुन्त पढेर ठूलो मुन्छे हो पैला अनि ल्याउलास् स्वास्नी। अक्षरको डाक्टर हुनपर्च तँ।"अक्षर नचिनेकी उहाँले कसरी थाहा पाउनुभयो होला, 'अक्षरका डाक्टर'पनि हुन्छन् भनेर ! 
- सीपी अर्याल/नेपाल साप्ताहिक
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>