Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

'मलाई ज्यानको माया छैन, मरे मर्छु मेरा माग पूरा हुनुपर्‍यो'

$
0
0
माघ २, काठमाडौं : त्रिवि शिक्षण अस्पतालको पश्चिमी भवनको भुइँतलामा चिकित्सक गोविन्द केसी छटपटाइरहेका छन्। कोठाभरि सेतो एप्रोन लगाएका चिकित्सक चिउँडोमा हात राखेर बसेका छन्। सबैका आँखा छेवैमा राखिएको अक्सिजन सिलिन्डर र मुटुको धड्कन नाप्ने यन्त्रमा ठोक्किएका छन्।

चिकित्सक टोली पाँच दिनदेखि चौबीसै घन्टा भुइँमा ओछ्याइएको बिछ्यौनामा बिताइरहेको छ। केसीलाई हेर्न उनका समर्थकको भीड पनि बढिरहेको छ। बुधबार दिउँसो साढे दुई बजे अनशनस्थल पुग्दा गोविन्द केसी बचाउ अभियानका संयोजक चिकित्सक राजेन्द्रराज वाग्ले केसीसँग कानेखुसी गर्दै थिए। 'मरे मर्छु, औषधि उपचारका कुरै नगर्नुस्', केसीलाई उद्धृत गर्दै वाग्लेले अन्नपूर्णसँग भने।

चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्नेलगायतका माग राखेर अनशन थालेका केसी माग पूरा नभएसम्म पछि हट्ने सोचाइमा छैनन्। 'मलाई ज्यानको माया छैन, मरे मर्छु मेरा माग पूरा हुनुपर्‍यो, अनिमात्रै अनशन तोड्छु', अक्सिजन माक्स खोलेर केसीले मसिनो स्वरमा अन्नपूर्णसँग भने। उनीसँग कुराकानीको प्रस्ताव गर्दा सुरुमै 'छोटो है'भनेका थिए।

केसीको समर्थनमा भित्ताभरि विज्ञप्ति र समर्थनपत्र टाँसिएका छन्। धरानदेखि पोखरासम्मका मेडिकल कलेजका विद्यार्थी र पेसागत संगठनको समर्थनले केसीको कमजोर शरीरलाई ऊर्जा दिइरहेको छ। 'म सरलाई समर्थन जाहेर गर्न आ'को', धरानबाट आएका एक विद्यार्थीले यसो भन्दा केसीले हातको इसाराले धन्यवाद भनिरहेका थिए।

अनशनमा समर्थन गरिरहेका शिक्षण अस्पतालका चिकित्सक राजनीतिक हस्तक्षेपको विरोधमा खुलेरै बहस गरिरहेका छन्। आवासीय चिकित्सकले कामै बन्द गरेका छन्।

केसीलाई दिनहुँ स्वास्थ्य समस्या थपिँदो छ। टाउको र छाती दुख्ने समस्या बढेको छ। मेडिकल टोलीका सदस्यले उनलाई जबरजस्ती स्लाइन र अक्सिजन दिइरहेका छन्। 'उहाँले कुनै पनि औषधि र स्लाइन लिन मान्नुभएको छैन, स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ', टोलीका सदस्य महेशराज सिग्देलले भने, 'अबका हरेक घन्टा संवेदनशील छन्।'

चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने मागसहित अढाइ वर्षअघि आन्दोलन थालेका केसीका माग अहिले पनि तिनै हुन्। हरेकपटक सरकार तथा त्रिवि कार्यकारी परिषद्ले केसीका माग सम्बोधन गर्ने प्रतिबद्धता गरिरहे तर कार्यान्वयन गरेनन्।

पछिल्लोपटक पनि यही क्रम दोहोरियो। संस्थानका डिन प्रकाश सायमीले राजीनामा दिएपछि त्रिवि परिषद्ले शशि शर्मालाई उक्त पदमा नियुक्त गर्‍यो अनि केसी आमरण अनशन बसेका हुन्। केसीले वरिष्ठताका आधारमा बिनाराजनीतिक हस्तक्षेप पदाधिकारी नियुक्त हुनुपर्ने माग उठाएका छन्। तर शर्मा राजनीतिक पहुँचका आधारमा नियुक्त भए।

निष्ठाको लडाइँ लडिरहेका केसी पाँचौं दिन आमरण अनशन बसिरहँदा नवनियुक्त डिन शर्मा भने पत्रकार सम्मेलन गरेर आफ्नो बचाउ गरिरहेका थिए। उनले आफूले राजीनामा नदिने बताए। शर्माले उच्च तहका राजनीतिक नेताले आफूलाई सहयोग गरेकाले पनि राजीनामा नदिने आफू निकटका व्यक्तिलाई बताइरहेका छन्।

नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने सर्तमा उनलाई डिन बनाइएको चर्चा छ। केसीले आमरण अनशन सुरु गरेकै दिन शर्माले नेविसंघ कार्यकर्ताको सहयोगमा भाँड्न खोजेका थिए।

त्रिविका सबै पद राजनीतिक भागबन्डाका आधारमा बाँड्ने प्रचलन छ। त्यहीअनुसार उपकुलपति हीराबहादुर महर्जन एमाले, रजिस्ट्रार चन्द्रणमणि पौडेल एमाओवादी तथा गुणनिधि न्यौपाने कांग्रेस कोटामा नियुक्त भएका हुन्।

यही भागबन्डाको विरोधमा केसी साढे दुई वर्षमा तीनपटक आमरण अनशन बसिसकेका छन्। प्रतिबद्धता लत्याउँदै उपकुलपति महर्जनले धर्मकान्त बास्कोटालाई तीन महिनाका लागि निमित्त डिनको जिम्मेवारी दिएपछि केसी अनशन बसेका थिए। त्यसपछि वरिष्ठताका आधारमा प्रकाश सायमी डिन नियुक्त भएका थिए। नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन राजनीतिक र प्रशासनिक दबाब परेपछि सायमीले गत महिना राजीनामा दिएका थिए।

पहिलोपटक २०६९ सालमा प्रतिबद्धताविपरीत महर्जनले अवकाश पाउन लागेका कुमुद काफ्लेलाई डिन बनाएका थिए। उनको म्याद सकिएपछि पुन: राजनीतिक खेल सुरु भयो। आफ्नो कमाइसमेत सामाजिक काममा खर्च गर्ने केसीले व्यापारिक उद्देश्यका लागि चिकित्सा पेसा नअपनाउने घोषणा गरेका छन्।

यसैबीच शिक्षामन्त्री माधव पौडेलले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक तथा संस्थानका पदाधिकारीसँग बुधबार छलफल गरेका छन्। उनले सुधारका लागि समिति बनाउने प्रस्ताव भगवान कोइराला र अरुण सायमीमार्फत केसीलाई पठाए पनि केसीले अस्वीकार गरेका छन्। मन्त्री पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त बनाउन समिति गठन गर्ने प्रस्तावसहित बिहीबार केसीले भेट्ने तयारी गरेको स्रोतले बतायो।
- अन्नपूर्ण पोष्ट
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>