‘छ एकान छ’ हिट भएपनि नेपालबाट लगानी मात्र उठेको बताउन थालेका छन्, निर्माता तथा कलाकार दीपकराज गिरीले । सिनेमाको आक्रामक व्यापारले नेपालबाटै राम्रो कमाइ हुन्छ भन्ने सोचाइ थियो, उनको । तर ५० लाख लगानीको सिनेमालाई लगानी उठाउन मात्र १ करोड २० लाखमाथिको व्यापार गर्नुपर्छ भन्ने उनले बल्ल वुझेको बताउँछन् ।
‘नेपालमा ९९ प्रतिशत सिनेमाले लगानी उठाएको हुँदो रहेनछ’ उनले भने ‘निर्माताहरु सन्तोष जनाउनमात्र लगानी उठेको गफ दिँदा रहेछन् ।’ १५ देखि २० लाख घाटा खाएका सिनेमा हिटको सूचिमा पर्नेगरेको उनको आँकडा छ ।
उनले आफ्नो सिनेमा ब्लकबस्टरको सूचिमा परेतापनि बल्ल लगानी उठेको बताए । ‘हिट सिनेमाको त यो हालत छ, ठिकै चलेका सिनेमाको हुन्छ होला ?’ दीपकले प्रश्न गरे ।
छ एकान छ ले नेपालबाट लगानी उठाएको भन्दै उनले ओभरसिज व्यापारमात्र आफूहरुका लागि फाइदा हुने जनाएका छन् । धेरै निर्माताहरु बुझ्दै नबुझी सिनेमामा लगानी गर्न आउने गरेको तर्क उनको छ ।
source : onlinekhabar