आफ्ना नागरिक हराउँदा नेपाली दूतावास जान आग्रह
दार्जिलिङको भेषभुषामा एक भारतीय महिला
दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट बाहिरिने क्रममा विमानस्थलका एक अधिकारीले केही झोक्किएर भने, ‘कुन फारम भर्नु भएको ? विदेशीहरुको निम्ति अर्कै फारम छ ।’ म विदेशी होइन भन्दै भारतीय पासपोर्ट देखाएपछि उनी केही शान्त त भए, तर कसरी नेपालीहरु भारतीय हुन सक्छन् भन्ने शंका उनको अनुहारमा स्पष्टै देखिन्थ्यो ।
साहित्य एकेडेमीको कार्यक्रममा दक्षिण भारत पुगेका दार्जीलिङका दुईजना युवा कविहरु कमल रेग्मी र मनोज बोगटीलाई कार्यक्रमका उद्घोषकले ‘नेपालका कविहरु’ भन्दै परिचय गराएपछि वातावरण एकाएक तनावपूर्ण बन्यो । पछि कवि रेग्मीले भने- ‘हामी नेपाली नागरिक हौं र नेपालबाट आएका हौं भने कसरी भारतीय साहित्यमा प्रदान गरिने सबैभन्दा उच्च सम्मान एकेडेमी पुरस्कारको हकदार भयौं त ? के एकेडेमीले विदेशी साहित्यकारलाई पनि राष्ट्रिय पुरस्कार दिने चलन छ ? कार्यक्रमका आयोजकलाई यति कुराको हेक्का हुनुपर्यो ।’ कवि रेग्मीले यति भनेपछि कार्यक्रमस्थलमा समर्थनको तालीले गुञ्जियो ।
यतिमात्र होइन, नाट्य शिरोमणि सीके श्रेष्ठलाई तपाई नेपाल कहिले जानुहुन्छ भनेर दिल्लीमा सोधिएको प्रश्न र उनले ‘नेपाल होइन, चीन जान्छु, विदेश नै जानु हो भने किन नेपाल ? चीन जाउँला’ भनेर दिएको उत्तर र यसको आशय आफैंमा रोचक छ ।
भर्खरै मात्र पनि दार्जीलिङका कवि मनप्रसाद सुब्बालाई राज्यका एक मन्त्रीले कलकत्ताको एउटा कार्यक्रममा नेपालका कवि भनेर सम्बोधन गरेको घटनाको चर्चा र आक्रोश सेलाएको छैन । भारतको एक गरिमामय राष्ट्रिय स्तरको समाचारपत्रका वरिष्ठ सम्पादक एवं गोरखा जनमुक्ति मोर्चाको विज्ञ टोलीका सदस्य स्वराज थापालाई एकजना केन्द्रीय मन्त्रीले ‘तपाई नेपालको हुनुहुन्छ ?’ भनेर प्रश्न गरेको स्वयं थापाले एक कार्यक्रममा स्वीकारेका थिए । कुरा के थियो भने ती केन्द्रीय मन्त्री र थापा दुबै एक राष्ट्रिय टीभी च्यानलले आयोजना गरिरहेको गोरखाल्याण्ड र यसको आवश्यकतासम्बन्धी बहसमा भाग लिन पुगेका थिए ।
यसरी भारतीय गोरखाहरुका प्रतिष्ठित एवं चर्चित व्यक्तिहरु नै परिचय संकटबाट गुजि्ररहेका छन् भने अन्य भारतीय गोरखाहरुको अवस्था के होला ? भारतीय गोरखामा अन्तरनिहित यही परिचय पीडाले नै आन्दोलनको रुप लिइरहेको छ । आना, माना र छानाको जोहो गर्न आफ्नो देश भारतका विभिन्न भागहरुमा पुग्ने गोरखाहरुले यो पीडालाई अझ नजिकबाट भोगेका छन् ।
कालेबुङबाट कामको खोजीमा बैंगलोर पुगेका एकजना युवा केही वर्षअघि बेंगलोरमा हराए । तर, पुलिसले छानबीनका निम्ति निवेदन धरि दर्ता गर्न नमानेको युवकका दाजुको अनुभव छ । वास्तवमा उनीहरु पनि परिचय संकटकै कारण पिरोलिएका थिए । नेपाली नागरिक हो भन्ने भ्रममा पुलिसले उनीहरुको केसलाई गम्भीरतापूर्वक लिन नमानेको उनी बताउँछन् । भारतीय हुँ भन्ने परिचय दिँदा पनि उल्टै नेपाल दूतावासलाई सम्पर्क गर् भन्दै थानाका प्रभारीले टक्टकाएका थिए ।
नाटककार एवं राजनैतिक समालोचक सीके श्रेष्ठले एउटा कार्यक्रममा भनेका छन्, ‘हरेक एक मिनेटमा देशको कुनै न कुनै सरकारी निकाय एवं कार्यालयहरुमा नियुक्तिको फाइल एक विभागदेखि अर्को विभाग पुगिरहेको हुन्छ । हरेक मिनेटमा देशको कुनै न कुनै सरकारी निकायमा नियुक्ति प्रक्रिया चलिरहेको हुन्छ । ती सबै प्रक्रियाहरुमा गोरखाहरु अरु जाति जतिकै योग्य हुँदाहुँदै पनि उनीहरुको फाइल रोकिन्छ । उनीहरुलाई नियुक्ति दिइन्न । यी सबै हुनुमा गोरखा हुनु र मंगोलियन अनुहार नै मुख्य कारण हो । अनि हाम्रो लडाइँ भनेको पनि यही अन्याय र परिचय संकटको विरुद्धमा हो ।’
वास्तवमा भारत भन्ने देशको भ्रमात्मक अस्तिस्व र अधिकांश देशवासीको पुरातन सोच पनि गोरखाहरुको चिनारी संकटको ठूलो कारणमध्ये एक हो । अहिले पनि अधिकतर भारतीयहरु भारतलाई महाभारत र रामायणकालको भारत नै ठान्छन् । झाँसीकी रानी र महाराणा प्रताप उनीहरुका राष्ट्रिय हिरो हुन् । शिवजी र चन्द्रगुप्त मौर्य राष्ट्रिय नायक ।
तर, वास्तविक भारत भने सन् १९४७ पछिको भारत हो । अझ भन्नुपर्दा १९४७ सम्म पनि वर्तमान भारतको स्वरुप शत-प्रतिशत रुपमा बनिएको थिएन । १९४७ को १६ अगस्तमा दार्जीलिङ कता पर्छ भन्ने भ्रमकै कारण यहाँ पाकिस्तानको झण्डा फर्फराएको थियो भने सिक्किम र गोवाजस्ता राज्य पछिबाट मात्रै भारतमा जोडिएका हुन् ।
तर, देश स्वतन्त्रताको युद्धमा सुवाससितै कप्तान दुर्गा मल्ल भएर लड्ने, गान्धीसितै दलबहादुर गिरी भएर होमिने अनि राष्ट्रिय गीतका धुनहरुमा रामसिंह भएर बज्ने गोरखाहरु भने अहिले पनि देशभित्र नै देशबाहिर भइरहेका छन् । देशको विकासदेखि बाहिर, देशको कानूनदेखि बाहिर, देशको संविधानदेखि बाहिर, देशको परिचयदेखि बाहिर ।
(भारतीय पत्रिका हिमालय दर्पणबाट)
source : onlinekhabar