Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विदेशिनेका पत्नीमा 'मनोरोग'

$
0
0
काठमाडौं-टिचिङ अस्पतालको मानसिक रोग विभागमा उपचार गर्न आएकी गुल्मीकी ३४ वर्षीया राधा पौडेल (नाम परिवर्तन) ले सम्पूर्ण स्वास्थ्य जाँच गराउँदा पनि कुनै समस्या देखिएन। तर उनलाई हातखुट्टा झम्झमाउने, टाउको दुख्ने, मुटु पोल्ने, निद्रा नलाग्ने समस्याले कहिल्यै छाडेन।


कुनै रोग देखा नदेखिएपछि उनी चिकित्सकको सिफारिसमा टिचिङ अस्पताल महाराजगन्जको मानसिक रोग विभाग पुगिन्। त्यहाँ पत्ता लाग्यो, उनी 'साइकोसिम्याटि्रक पेन डिस्अर्डर'बाट पीडित रहिछन्। उनलाई नशाको भिटामिन र परामर्श दिएर उपचार गरिएको मानसिक विभाग प्रमुख डा. सरोज ओझाले बताए।

गुल्मीकी ३२ वर्षीया विष्णुमाया थापा (नाम परिवर्तन) पनि खान मन नलाग्ने, काम गर्न जाँगर नचल्ने र सधैंभरि मन आत्तिरहने समस्याले पीडित छन्। घरिघरि 'बाँच्न मन नलाग्ने'सोच उनमा हाबी भएर आउँछ। चारपाँच ठाउँमा जचाउँदा पनि निको नभएपछि उनी मानसिक विभाग पुगिन्। उनको मनोरोग छिप्पिएर 'डिप्रेसन'भइसकेको डाक्टर बताउँछन्। छ महिना लगातार उपचारपछि बल्ल उनी सामान्य अवस्थामा फर्कंदैछन्।

यी दुई फरक व्यक्तिका फरक घटना भए पनि दुवैमा एउटा कुरा समान छ। राधा र विष्णु दुवैका पति वैदेशिक रोजगारमा गएका छन्।

टिचिङको मानसिक रोग विभागमा पछिल्लो समय विभिन्न कारणले पति विदेशिएका महिला मनोरोगको उपचार गर्न आएको पाइएको छ। विभागका अनुसार यहाँ उपचार गराइरहेका करिब ६० प्रतिशत महिला बिरामीका पति विदेशिएका छन्। विभागमा दैनिक ६० देखि ७० जना बिरामी आउँछन्। यसरी आउनेमा २० देखि ४० वर्ष उमेर समूहका महिला बढी रहेको विभागले जनाएको छ।

पति विदेशिएका महिलामा मनोरोगको समस्या तीन गुणा बढी पाइएको डा.ओझाले बताए। 'उनीहरू सुरुमा अर्कै रोग लागेको शंकामा विभिन्न अस्पतालमा उपचार गराउँछन्,'उनले नागरिकसँग भने, 'के भयो भन्दै सबै जाँच गर्छन्, केही गरी नभएपछि हामीकहाँ आइपुग्छन्।'यस्ता महिला बिरामीमा मनोरोगको अवस्था 'साइकोसिम्याटि्रक पेन डिसअर्डर' (शारीरिक लक्षण) को तह हुँदै डिपे्रसनसम्म पुगेको उनले बताए।

केन्द्रीय मानसिक रोग अस्पताल लगनखेलमा दैनिक कम्तीमा पाँचजना महिला विभिन्न मनोसमस्या लिएर आउँछन्, जसका पति वैदेशिक रोजगार वा अन्य कारणले विदेश गएका छन्। अस्पतालका मानसिक रोग विशेषज्ञ डा. कृष्ण गौतमका अनुसार अन्यत्र उपचार गरेर थाकेपछि अन्तिममा मानसिक उपचार गराउने चलन छ।

आप्रवासी कामदारबारे 'सुरक्षित आप्रवासी परियोजना'कार्यक्रम सञ्चालन गर्दै आएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको एक अध्ययनले पनि पति विदेशिएका वा आफैं विदेश गएका महिलामा मनोरोगको समस्या बढ्दै गएको देखाएको छ। केन्द्रको अध्ययनअनुसार खोटाङ र सर्लाहीमा दुई महिनायता ६० जना विदेशिनेका पत्नी र विदेश गएर फर्केका महिलामा मनोरोग पाइएको छ। केन्द्रले यी जिल्लामा ८ जना मनोसामाजिक परामर्शदाता खटाएर अध्ययन गरेको थियो।

मनोरोग छिप्पिँदै गएर डिप्रेसनका कारण हालै तराईका दुई महिलाले आत्महत्या गरेको केन्द्रकी मनोविद करुणा कुँवरले बताइन्। उनका अनुसार दुई वर्षयता पति विदेशिनेका ८ जना महिलाले आत्महत्या गरिसकेका छन्। 'कतिले आत्महत्याको प्रयास गरेका छन्, कतिले आत्महत्या गरिसके,'कुवँरले नागरिकसँग भनिन्, 'चर्को ब्याजमा ऋण खोजेर पति विदेश पठाउने, पछि मेडिकल फेल भएर फर्किंदा ऋणको पीरले आत्महत्या गरेको घटना पनि छ।'

उनका अनुसार यस्ता महिलामा काम गर्न जाँगर नचल्ने, चिन्तामा डुबिरहने, उदासी, रिस उठ्ने, खान मन नलाग्ने, असुरक्षाको भावना बढ्ने लगायत समस्या देखिएका छन्। लामो समय पति विदेशमा भएपछि परिवारमा आइपर्ने पारिवारिक बोझ, बालबच्चा हेरचाह, लेनदेनको तनाव, संयुक्त परिवार छ भने बूढाबूढीको हेरचाहजस्ता जिम्मेवारी थपिएर उनीहरूमा यस्तो समस्या आउने मनोविद बताउँछन्। कतिपयलाई लामो समय पतिको अभावमा असुरक्षाको भावना उत्पन्न भएर पनि मनोरोग लाग्ने गरेको छ। 'पतिले फोन गर्न छाडेको पीडामा मनोरोग लागेका घटना पनि पाइएका छन्,'कुवँरले भनिन्।

डा. ओझाका अनुसार सामाजिक/सांस्कृतिक मूल्यमान्यता र संस्कारमा जीवनयापन गरिरहेका, घरबाट स्वतन्त्र हुन नसकेका महिलामा यस्तो समस्या बढी देखिएको छ। 'यस्ता बिरामीमा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट सामान्य आउँछ, तर रोग जहीँको तहीँ हुन्छ,'उनले भने।

मनोरोग सुरुमा सामान्य देखिए पनि समयमै उपचार नगरे ठूलो रूप लिने विशेषज्ञ बताउँछन्। 'कति डिप्रेसन भएर आत्महत्या गर्न मन लाग्ने स्थितिमा समेत पुग्छन्,'मनोविद कुँवरले भनिन्। समस्या देखिनेबित्तिकै मानसिक उपचारमा आए जटिल रूप लिन नपाउने उनको सुझाव छ। रोगले जटिल रूप लिँदै गएपछि बालबच्चाको हेरचाह गर्न नसक्ने, आमाको समस्याले बालबालिकामा पनि यस्ता लक्षण देखिन सक्ने चिकित्सक बताउँछन्। 
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>