काठमाडौं, माघ २४ । नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले संसदमा तत्काल राष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न माग गरेका छन् । आजको व्यवस्थापिका संसद बैठकमा विशेष समय लिएर बोल्दै उनले दुई वर्षका लागि निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ६ वर्ष पुग्नै लाग्दा समेत ताजा जनादेश अनुसार चुनाव हुनु पर्छ कि पर्दैन भनेर प्रश्न गरे ।राष्ट्रपतिको कामसँंग सन्तुष्ट वा असन्तुष्ट भएर होइन आवधिक हुनुपर्छ भनेर एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा जोड दिएको ओलीको भनाइ थियो । उनले अहिलेको संसदले राष्ट्रपतिलाई भोट नहालेको र नयाँ प्रधानमन्त्री छान्न पाउने सांसदले राष्ट्रपति पनि छान्न पाउनुपर्ने बताए । नेपाली कांग्रेसलाई सरकार गठनको ठोस प्रस्ताव ल्याउन आग्रह गर्दै ओलीले कांग्रेसले सक्दैन भने उसकै प्रस्तावमा एमालेले सबैलाई समेटेर सरकार बनाउने दाबी पनि गरे ।
गणतन्त्र, लोकतन्त्र वा संघीयता जस्ता विषयमा पूर्व सहमतिबाट पछि फर्कन नसकिने ओलीको भनाइ थियो ।संसदमै कांग्रेस नेता अर्जुननरसिंह केसीले भने संसदले राष्ट्रपतिलाई नचिन्ने ओलीको भनाइप्रति आपत्ति जनाए । उनले संविधान जारी भएपछि मात्र राष्ट्रपति निर्वाचन हुन सक्ने संवैधानिक व्यवस्था रहेको भन्दै कसैलाई राष्ट्रपति परिवर्तन गर्न मन भए संवैधानिक प्रक्रिया पुर्याएर आउन चुनौती समेत दिए । बैठकमा बोल्दै एमाओवादी नेता गिरिराजमणि पोखरेलले पनि राष्ट्रपतिको चुनाव गर्नुपर्ने धारणा राखे ।
