काठमाडौं- एक महिनाभित्र अमेरिका पठाइदिन्छु भन्दै काठमाडौं शान्तिनगरका अभिषेक शाहले ललितपुर सुनाकोठीकी कमला तामाङबाट १५ लाख रुपैयाँ बुझे। महिना दिन बित्यो, न कमलाको भिसा आयो, न शाह नै सम्पर्कमा छन्।
रामेछापकी डोमा शेर्पाले दाङका जनम गुरुङलाई अस्ट्रेलिया जान १० लाख बुझाइन्। काठमाडौं महानगरपालिका–२२ का कृष्णराज थापाले पनि अस्ट्रेलिया जानकै लागि रुपन्देही शंकरनगरका धर्मराज थापालाई १२ लाख ७३ हजार रुपैयाँ बुझाएका थिए। उनीहरुले आफू ठगिएको बल्ल थाहा पाए, जब दलाल दुवै सम्पर्कविहीन भए।
सुर्खेत वीरेन्द्रनगर–६ की सुमन बिसीको पनि न बेलायतको भिसा आयो, न १२ लाख रुपैयाँ फिर्ता भयो। भक्तपुर–१३ का रामसुन्दर शिल्पकारलाई बेलायत जान १२ लाख बुझाएकी उनी अहिले फसेको पैसा फिर्ता कसरी गराउने भन्ने चिन्तामा छिन्।
इजाजत नलिएका संस्था र व्यक्तिलाई आकर्षक मुलुकको रोजगारीको आशमा पैसा बुझाउनेहरु ठगिने क्रम बढ्दो छ। वैदेशिक रोजगार विभागका अनुसार यसरी दैनिक दुईजना ठगिएको उजुरी पर्ने गरेको छ।
पछिल्ला चार महिनामा मात्र अमेरिका जान दलाललाई पैसा बुझाएका २० जना पैसा उठाउन विभिन्न निकाय धाइरहेका छन्।
अस्ट्रेलिया, क्यानाडा, बेलायत, जापान, पोल्यान्डजस्ता देशमा आकर्षक तलबको रोजगार पाउने आशमा अवैध बाटोबाट विदेश जान खोज्नेहरू डुबेको पैसा उठाउन वैदेशिक रोजगार विभाग र प्रहरीकहाँ धाइरहेका छन्।
विभागका उजुरी तथा अनुसन्धान शाखाका निर्देशक नारायण रिमाल ठूला देशमा जान पैसा बुझाउनेहरु अधिकांश आफन्तबाटै ठगिएको बताउँछन्। 'आकर्षक देश भन्दै तलब र सुविधा पाइने प्रलोभनमा पर्दा चिने–जानेको र आफन्तबाटै नै ठगिएका छन्,'उनले भने।
विभागका उजुरी तथा अनुसन्धान शाखाका निर्देशक नारायण रिमाल ठूला देशमा जान पैसा बुझाउनेहरु अधिकांश आफन्तबाटै ठगिएको बताउँछन्। 'आकर्षक देश भन्दै तलब र सुविधा पाइने प्रलोभनमा पर्दा चिने–जानेको र आफन्तबाटै नै ठगिएका छन्,'उनले भने।
खाडी, मलेसिया र अन्य मुलुकका लागि म्यानपावर र म्यानपावरका एजेन्टले ठगी गरे पनि ठूला र आकर्षक मुलुक मानिएका देशमा व्यक्तिगत चिने–जानेका र आफन्तबाटै बढी ठगी हुने गरेको छ।
विभागका अनुसार पुसमा मात्रै व्यक्तिगत रुपमा ठगिएको ९५ वटा उजुरी परेका छन्। तीमध्ये ६० भन्दा बढी उजुरी ठूला देशमा पठाउने प्रलोभन दिएर रकम असुलिएका छन्।
इजाजतपत्र नलिएको संस्था र व्यक्तिसँग पैसा लिनु–दिनु नै अवैधानिक भएको उनले बताए। 'अनुमति नलिएका कसैलाई पनि पैसा नदिन भनिरहेका छौं, तैपनि ठगीका उजुरी बढिरहेका छन्,'रिमालले भने। उनका अनुसार प्रलोभनमा परेर ठगिएका घटनामा ठग्ने व्यक्तिलाई पक्राउ गर्नसमेत प्रमाण हुँदैन।
गत महिनामात्र ६ करोड ५२ लाख ६६ हजार ९ सय ५४ रकम ठगिएको उजुरी परेको छ। आर्थिक वर्षको ६ महिनामा भने व्यक्तिगत ठगीमा ४ सय ८६ उजुरी परेकामा ३८ करोड ७२ लाख ९३ हजार ९ सय ३८ रकम ठगिएको देखिएको छ।
म्यानपार कम्पनीले ठगी गरेको भन्दै पुसमा १ सय ३९ उजुरी परेको छ भने आर्थिक वर्षको ६ महिनामा ६ सय ७१ उजुरी परेको छ। पुसमा २ करोड ३४ लाख ३२ हजार ५ सय १७ र ६ महिनामा ११ करोड ६९ लाख ६ हजार ५ सय २ रुपैयाँ ठगिएको उजुरी परेको छ।
काभ्रे देवीटारका रामप्रसाद भट्टराईले ललितपुर–१३ का सुवर्ण विष्टलाई अमेरिका जान पैसा बुझाएका थिए। सिन्धुली कमलामाईका कार्तिकेय श्रेष्ठले ललितपुरका केशवबहादुर सुब्बा र म्याग्दी बेनीका प्रमोद केसीले काठमाडौं सिनामंगलका भुवन केसीलाई अमेरिका जानकै लागि ८ लाखसम्म पैसा बुझाएका थिए। पैसा लिएर सुवर्ण, केशव र भुवन तीनैजना बेपत्ता छन्।
भट्टराईले डुबेको रकम फिर्ता नहुँदा घरमा समस्या पर्दै गएको बताए। २५ दिनभित्र अमेरिका लैजान्छु भनेपछि बनेपास्थित एक सहकारीमा १७ प्रतिशत ब्याज तिर्नेगरी घरजग्गा धितो राखेर उनले विष्टलाई पैसा बुझाएका थिए।
'न अमेरिका जान पाइयो, न पैसा फिर्ता पाइयो,'भट्टराईले भने, 'पैसा लिएदेखि नै विष्ट सम्पर्कविहीन छन्।'किस्ता रोकिँदा सहकारीले ताकेता गरिरहेको उनले बताए। 'घरजग्गा लिलामी होला भन्ने चिन्ता छ, परिवारसँग झगडा हुन्छ, मानसिक तनावमा छु,'उनले दुखेसो गरे।
भट्टराइैकै जस्तो पीडा छ काठमाडौं बौद्धका श्याम लामाको। उनले लगनखेल बटुकका विजय प्रधानलाई क्यानाडा लैजाने भनेकाले ७ लाख बुझाएका थिए। प्रधान पनि अहिले फरार छन्।
काठमाडौं जोरपाटीस्थित अर्थाेपेडिक अस्पतालमा काम गर्ने बिसीले कार्यालयमा फर्निचरको काम गर्न आएका शिल्पकारलाई बेलायत जान पैसा बुझाएका थिए।
'चिनेका दाइहरुले पनि यसले पठाउँछ भनेकाले विश्वासमा पैसा दिएँ,'उनले भनिन्, 'पैसा पाएपछि आज–भोलि भन्दाभन्दै मान्छे नै सम्पर्कबाहिर भयो।'
- नागरिकन्युज