काठमाडौं, फागुन १४ । जापानको नागोयामा परिवारसहित बसोबास गर्दै आएकी एक सुत्केरी महिला अचानक बेपत्ता भएको केही दिन पछि मृत फेला परेको एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले जानकारी दिनुभएको छ ।
केही दिन अघि देखी हराईरहेकी २८ वर्षीया दिनुता गौतम मिनातो कुस्थित मिनातो पुलिस स्टेशन नजिकको समुन्द्रमा मृत अवस्थामा फेला परेकी हुन् ।
गौतमको शरीर पानीमा डुबिरहेको अबस्थामा रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । मृत अबस्थामा फेला परेपछि जापानी प्रहरीले उनको श्रीमानलाई खबर गरेको थियो । प्रहरीले खबर गरेपछि एनआरएन जापानका अध्यक्ष पारसमणि पोख्रेल, एनआरएन नागोया संयोजक विष्णु घिमिरे, गल्कोट समाजका सदस्य दीपक केसी, बिमल केसी, शेरबहादुर केसी सो स्थानमा पुग्नु भएको थियो
भर्खरै सुत्केरी भएकी २० दिन मात्र पुगेको अवस्थामा गत १९ तारिखदेखि उनी वेपत्ता भएकी श्रीमान प्रकाश पौडेलले बताएका छन् । उनको नागोयामा नेपाली समुदायले तीव्र खोजी कार्य जारी राखेको थियो ।
गुल्मी माइती रहेकी गौतमले बुटवलका पौडेलसँग विवाह गरेकी थिइन् । जापान बसाइकै क्रममा उनले गत जनवरी ३० मा छोरा पाएकी हुन् । आमा हराएपछि नाबालक शिशुको अहिले बुबा पौडेलले हेरचाह गरिरहेका छन् ।