१५ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटको तयारीमा छ । विश्वकप खेल्ने नेपाली टोलीको सदस्यहरुको जीवनका महत्वपूर्ण क्षणहरुलाई समेटेर पत्रकार जगदिश्वर पाण्डेले तयार पारेको पुस्तक ‘विश्वकप ट्वान्टी-२० क्रिकेटका सारथिहरु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा भएको कार्यक्रममा प्रशिक्षक र विश्वकप खेल्ने टोलीका सदस्यहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरे । कार्यक्रममा महानायक राजेश हमाल, तेक्वान्दो खेलाडी दीपक विष्ट, नायिका निशा अधिकारी लगायतले शुभकामना दिएका छन् । कार्यक्रममा नेपाली टोलीका कप्तान पारस खड्काले विश्वकप खेल्नु आफूहरुको सपना भएको बताए ।
विश्वकप खेल्नुपर्छ भन्ने भएपनि कहिले र कसरी भन्ने थाहा नभएको भन्दै उनले भने-इच्छा थियो तर, बाटो थाहा थिएन । प्रशिक्षक पुवुद्धु दशानायकेले बाटो देखाइदिनुभयो ।’ विगतमा अभ्यासका लागि भारत जाने क्रममा अध्यागमनका कर्मचारीहरुले नेपालमा पनि क्रिकेट छ भन्ने गरेको सम्झँदै पारसले भने-’अध्यागमनमा कर्मचारीहरुले क्या नेपालका भि क्रिकेट टिम हे भन्थे । त्यसबेला एकदिन तिमीहरुलाई देखाउँछौं’ भन्ने इख थियो ।’ पारसले अब नेपालले खेलेको विश्वकप भारतकै स्टार स्पोट्र्सले देखाउँदा भन्दा हल तालीले गडडाएको थियो ।क्रिकेटले देशलाई एकताबद्ध पार्न सक्ने भन्दै उनले सबै नेपालीको मुहारमा खुसी ल्याउनु नै ठूलो भएको बताए । दबावमा खेल्नु आफूहरुको जीवनको एक अंग भइसकेको उनले बताए । खेलाडीहरुको अटोग्राफ रहेको पुस्तकको मुल्य १२०० राखिएको छ, जसको विक्रीको ७० प्रतिशत खेलाडीलाई दिइनेछ । यस्तै सामान्य पुस्तकको मूल्य ४ सय ९९ राखिएको छ र यसको विक्रीको २० प्रतिशत खेलाडीलाई दिइनेछ । कार्यक्रममा प्रकाशकले खेलाडीहरुलाई संयुक्त रुपमा १ लाखको चेक समेत प्रदान गरेको छ