२२ वैशाख ०६५ : झापाको दमकस्थित लक्ष्मी बैंकबाट ७९ लाख रुपैयाँ लुटपाट गरेर फरार, प्रहरीद्वारा २२ लाख रुपैयाँ मात्र बरामद
७ फागुन ०६६ : उर्लाबारी–६ का राम थापाको सुनचाँदी पसलमा साढे ५२ लाखबराबरको नगद र सुनचाँदी लुटपाट, प्रहरीद्वारा करिब १० लाखबराबरको सुनचाँदी बरामद
१७ कात्तिक ०६७ : ताप्लेजुङको फुङलिङका रणबहादुर पालुङलाई काका, विर्खबहादुरलाई हजुरबुबा र भीमबहादुरलाई बाबु बनाएर ०११०२७।१३०१८ नम्बरको नागरिकता प्रमाणपत्र लिन सफल
७ असोज ०६८ : मोरङको बयरवन–९ कानेपोखरी–रमाइलोको भित्री सडकखण्डमा स्थानीय व्यापारी सन्तोष भन्ने त्रिभुनाथ फुँयालको साढे २१ लाख लुटपाट
९ पुस ०७० : सुनसरीको इटहरी–१ स्थित ओमसाई ज्वेलर्समा डकैती गर्ने क्रममा प्रतिकार हुँदा सञ्चालक दीपेशशंकरलाई गोली प्रहार
९ पुस ०७० : इटहरीको सुनपसल लुट्न असफल भएपछि भाग्ने क्रममा प्रहरी सम्झेर गोली प्रहार गरी मोरङको सुन्दरपुर–६ का मानबहादुर तामाङको हत्या, अन्य दर्जनौँ चोरी–डकैतीका घटनामा संलग्न
विराटनगर, २० फागुन । पूर्वी नेपालमा हत्या, बैंक डकैती र लुटपाटको रेकर्ड नै बनाएका एक भुटानी शरणार्थीलाई खोजेको ६ वर्षपछि प्रहरीले पक्राउ गरको छ । साइबा भनिने रामप्रसाद राईले दशौँ लाख लुटका दर्जनौँ घटना गराएका छन् ।
झापाको दमकस्थित लक्ष्मी बैंकमा लुटपाट, सुनसरी र मोरङका सुनपसलहरूमा डकैती तथा राजमार्गमा व्यापारीलाई लुटपाटका घटनामा संलग्न उनलाई प्रहरीले खोजी गर्दै आएको थियो । उनले ९ पुस ०७० मा सुनसरीको इटहरी–१ स्थित ओमसाई ज्वेलर्सका सञ्चालक दीपेशशंकरलाई गोली प्रहार गरेका थिए । त्यसपछि भाग्ने क्रममा सोही दिन मोरङको सुन्दरपुर–१ का मानबहादुर तामाङलाई पनि उनले गोली प्रहार गरेका थिए । पूर्व क्षेत्रीय प्रहरी र मोरङ प्रहरीले विशेष टोली बनाएर राईको खोजी थालेको थियो ।
इटहरीको घटनापछि क्षेत्रीय प्रहरी कार्यालयका सइ राजेन्द्र चौहान, मोरङ प्रहरीका सइ बबिन्द्र नेम्बाङ र असइ दीपक बस्नेतको टोली उनको खोजीमा खटिएको थियो । शंकास्पद अभियुक्तहरूको कलडिटेलका आधारमा इटहरी घटनामा राईको संलग्नता खुलेको थियो । प्रहरीका अनुसार उनी काठमाडौं, धरान, मोरङ र झापाको विभिन्न ठाउँमा सर्दै लुक्दै आएका थिए । मोरङको लेटाङमा रहेको सूचनाका आधारमा ११ फागुनमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई गोली प्रहार गरी राई भाग्न सफल भएका थिए । तर, प्रहरीले फलो गर्दै झापाको दमकमा उनी पक्राउ परेका हुन् । मोटरसाइकलमा भाग्दै गरेका उनलाई इप्रका दमकका सइ उत्तम कार्कीको सहयोगमा घेरा हालेर पक्राउ गरिएको हो । उनले प्रहरीलाई गोली प्रहार गरेर भाग्ने प्रयास गरेका थिए । तर, प्रहरीले चलाएको गोली लागेर घाइते उनी भाग्न असफल भएको मोरङका एसपी विश्वराज पोखरेलले बताए ।
मोरङको शनिश्चरे १ भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ मा बस्ने भनिए पनि साइबा १० वर्षदेखि क्याम्पबाहिर बसेर अपराधमा संलग्न थिए । पक्राउ परेकाले उनले आफू १० वर्षदेखि क्याम्पबाहिर बसेर अपराधमा संलग्न रहेको स्विकारेका छन् । उनकी पत्नी शरणार्थी भिसाबाट अमेरिका गएकी छिन् ।
एसपी पोखरेलले राई झापा, मोरङ, सुनसरी र ताप्लेजुङमा अपराधमा संलग्न रहेकाले उनीमाथि चारवटै जिल्लामा मुद्दा चल्ने जानकारी गराए । उनले भने, ‘पहिले हामी कर्तव्यज्यान र डकैतीमा मुद्दा चलाउँछौँ, त्यसपछि सुनसरी, झापा र ताप्लेजुङमा पठाउँछौँ ।’
- नयाँ पत्रिका