Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

‘पाँचजना बचाएँ, पत्नी र छोरो गुमाएँ'

$
0
0
लालबोझी (कैलाली)- सत्ताइस वर्षीया इन्द्राकली चौधरी नाबालक छोरो च्यापेर डुंगाको एउटा कुनामा बसिन्। डुंगा खचाखच भरिएकाले पति जितेन्द्र अर्को खेपमा तर्ने भन्दै नदीको डिलमा उभिइरहे। डुंगा हेलिएर केही पर मात्र पुगेको थियो, पानी भरियो र हल्लँदै चुर्लुम्म डुब्यो। इन्द्रावतीले बचाऊ भनेर चिच्याएको आवाज सुन्नासाथ जितेन्द्र आत्तिँदै नदीमा हामफाले।

पौडँदै डुंगा डुबेनिर पुगे र लगालग पाँचजनालाई तानेर किनारामा ल्याए। उनीहरूको ज्यान जोगियो। आफ्नी पत्नी र छोरोलाई जति प्रयास गर्दा पनि भेट्टाउन सकेनन्।

‘हेर्दाहेर्दै डंुगा पानीले भरिएर घोप्टियो, मान्छे बग्न थाले। पाँचजनालाई तानेर बचाएँ, पत्नी र छोरो बचाउन सकिनँ,'शनिबार साँझ भारतीय सीमावती कैलालीको मोहना नदीमा डुंगा डुब्दाको क्षण सम्झँदै जितेन्द्रले सुनाए।

सामान्य खेती–किसानी गरेर गुजारा गर्दै आएका जितेन्द्रको परिवार भारतीय हाटबजार जाँदै थियो। नदी तर्न पुल थिएन। डुंगा तरेर पारिको शनिबारे हाटमा किनमेल र स्वास्थ्य जाँच गर्ने योजना थियो उनीहरूको।

प्वाल परेको डुंगा पानी भरिएपछि बढी भार थेग्न नसकेर हल्लन थालेपछि यात्रुले फर्काउन नाविक (डुंगा खियाउने चालक) लाई जोड गरे पनि मदिराले लठ्ठ भारतीय चालक र पैसा उठाउने मुन्सीले अटेर गर्दा दुर्घटना भएको बाँचेकाहरूलाई उद्धृत गर्दै जितेन्द्र सुनाउँछन्।

मोहना नदीमा बेपत्ता पत्नी र छोरो खोज्दाखोज्दै रात छिप्पियो, दुवै भेटिएनन्।

शनिबार रात झिमिक्कै गरेनन् उनले। तै धुकधुक सास फेला पर्ला कि भनेर उनी गाउँलेसँगै आइतबार पनि खोजीमा निस्किए। धेरै बेरपछि छोराको शव फेला पर्योप, जितेन्द्र विक्षिप्त भए। पत्नीको शव सोमबार मात्र घटनास्थलबाट करिब ८ सय मिटर तल किनारमा फेला पर्दा शोकले झन् आहत भए उनी।

‘छोरा र आमाको एकै चिहान भो, यस्तो दिन कसैले देख्न नपरोस्,'बोल्दाबोल्दै उनको गला अवरुद्ध भयो।

दुई छोराका बाबु जितेन्द्रसँग अब १० वर्षीय एउटा छोरो छ सहारा।

बर्सेनि बाढीको पीडा खेप्दै आएको लालबोझीगाउँ डुंगा दुर्घटनामा आफन्त गुमाउँदा शोकमा चुर्लुम्म छ। पुरुषहरू पौडिएर बाँचे, मर्ने अधिकांश महिला र बालबालिका छन्। अहिलेसम्म दुई बालक र तीन महिलाले ज्यान गुमाइसके। बेपत्ता पाँचै महिला छन्।

‘सबै एक सय मिटर तलसम्म पनि मौरीजस्तो एकै गुजुल्टो भएर बगिरहेका थिए। आत्तिएर गुहार गर्दै एकअर्कालाई समातिरहेका थिए। उद्धार सामग्री भइदिएको भए सबैलाई बचाउन सकिन्थ्यो,'उद्धारमा खटिएका स्थानीय राजेन्द्र खनाल भन्छन्, ‘डोरी, लट्ठी वा लाइफ ज्याकेट केही थिएन, चाहेर पनि बचाउन सकिएन।'

यात्रुले डुंगा फर्काऊ भन्दा पनि अटेर गरी बीच नदीमा डुबाउने दुई चालक र पैसा उठाउने मुन्सी दुर्घटनापछि उद्धार नगरी भागेका थिए।

डुंगामा पहिल्यै प्वाल थियो, काठ कुहिएर जीर्ण थियो। क्षमताभन्दा बढी यात्रु बोकेर शनिबार साँझ हेलिएको डुंगा लालबोझी–४ हलुनाघाटमा अनियन्त्रित भई डुबेको थियो।

डुंगासँगै डुबेका २७ यात्रुमध्ये ६ को मृत्यु भएको छ, ५ अझै बेपत्ता छन् भने बाँकी बाँच्न सफल भएका छन्। केही आफैं पौडिएर निस्किएका थिए भने कसैलाई पौडी खेल्न जान्नेले उद्धार गरेका थिए।

दुर्घटनामा दुई भारतीय नागरिक पनि परेको अनुमान गरिएकाले बेपत्ताको संख्या बढ्न सक्ने इलाका प्रहरी कार्यालय, भजनीका प्रहरी निरीक्षक लालबहादुर साउदले सुनाए। उनका अनुसार सोमबार बेपत्तामध्ये इन्द्रकला र १३ वर्षीया कलैया लोहनीको शव फेला परेको हो।

२५ वर्षीया पुष्पदेवी कठरिया, एक भारतीय युवती, लालबोझीका १२ वर्षीया बग्गी लोनिया, नन्दादेवी चौधरी र ४० वर्षीया चुनादेवी चमार अझै बेपत्ता छन्।

दुई दिनदेखिको वर्षाले शनिबार मोहना नदीमा बाढी आएको थियो। शनिबार भारतीय बजारमा हाट लाग्ने भएकाले यताबाट थुप्रै मानिस सामान किन्न र उपचार गर्न गएका थिए।

उक्त डुंगा भारत, लख्खिमपुर खिरी जिल्ला कठरिया ग्राम पञ्चायतका जमिनदार बब्बु सापले अवैध रूपमा चलाउँदै आएका थिए। ‘अवैध रूपमा जीर्ण डुंगा चलाउँदा पनि प्रशासनले ध्यान नदिँदा यो दुर्घटना भएको हो,'स्थानीय तेजबहादुर साउदले भने, ‘प्वाल परेको डुंग्ाामा पानी भरिएपछि डुब्ने नै भइहाल्यो।'

आफ्नो जमिनमा मजदुरी गर्नेलाई ओहोरदोहोर गराउन भनेर बब्बुले डुंगा सञ्चालन गरेको र मनपरी पैसा लिएर अरूलाई पनि चढाउने गरेको स्थानीयले बताए। बब्बुकै उखुबारीमा मजदुरी गरेर फर्कंदा मृत्यु भएकी खुबलली लोहनीका १५ वर्षमुनिका ३ छोरा र ५ छोरी अलपत्र छन्। उनका पति ओमप्रकाश भारतमा मजदुरी गर्छन्।

शोकमा डुबेको लालबोझीका परिवार सोमबार पनि बेपत्ता आफन्तको खोजीमा छन्।
- नागरिक 

Viewing all articles
Browse latest Browse all 20351