Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपाली युवा खाडीमा, भारतीय श्रमिक नेपालमा

$
0
0

फागुन २०, झापा : नेपालका युवा खाडी मुलुकमा गएर जति कमाउँछन्, लगभग त्यति नै नेपालमा आएर भारतीय कामदारले कमाउने गरेका छन्। नेपाल आएका भारतीय कामदारले १५ हजारदेखि ३० हजार रुपैयाँसम्म कमाउने गरेका छन्। त्यो खाडी मुलुकमा नेपाली कामदारले पाउने न्यूनतम् तलबभन्दा खास फरक छैन। भारतीय कामदारलाई रोजगार दिने नेपाली भन्छन्, 'नेपाली कामदार तयार भए भारतीय कामदार लगाउनै जरुरी छैन।'

बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलको भवन निर्माणमा भारतीय कामदार खटिएका छन्। सिमेन्टको काममा होस् वा काठ मिस्त्रीको काम, सबै भारतीय कामदारले गरिरहेका छन्। हस्पिटलका संस्थापक गोपालकुमार बस्नेतका अनुसार नेपाली कामदार पाउन गाह्रो भएको छ, भारतीय सजिलै पाइन्छन्।

तर उनी नेपाली कामदार कामका लागि मरिहत्ते गरेर विदेश जानु बेकार ठान्छन्। बस्नेत भन्छन्, 'हामीले जति भारतीय कामदारलाई पैसा दिन्छौं, त्यति नै पैसा नेपाली कामदारलाई पनि दिन्छौं। ऋण खोजेर सामान्य कामका लागि खाडी मुलुक जानुभन्दा त यहीं काम गर्दा राम्रो हुने हो।'

भारत बिहार राज्यका काठ मिस्त्री राजेश शर्माले बस्नेतको हस्पिटलमा काम गरेबापत मासिक ३० हजार रुपैयाँ कमाउँछन्। उनी एक वर्षदेखि झापाका विभिन्न निर्माण कम्पनीका लागि काम गरिरहेका छन्। उनी नेपालमा काम गर्दा धेरै सन्तुष्टि प्राप्त गरेको बताउँछन्। उनी भन्छन्, 'हामीलाई घर आउनजान पनि सजिलो छ। खाडी मुलुकमा गएर के गर्नु? मलाई त कामका लागि नेपाल नै ठीक छ। अन्य मुलुक जाने त सोच्नु पनि नपरोस्।'

शर्माका सहयोगीका रूपमा काम गर्ने बिहारकै अर्का कामदार ऋतुराज शर्मा पनि मासिक १५ हजार रुपैयाँ कमाउँछन्। उनी पनि नेपालमा काम गर्न पाउँदा सन्तुष्ट छन्। उनले भने, 'विदेश (अन्य मुलुक) जाने भन्नेबित्तिकै अग्रीम पैसा बुझाउनुपर्छ। फेरि कमाउन सकिने पनि त ग्यारेन्टी हुँदैन नि। बरु यहीं (नेपाल) ठीक छ।'

नेपाली युवा रोजगारका लागि खाडीलगायत मुलुकमा जाँदा ठूल्ठूला भवन निर्माणसँगै अन्य ठेकेदारीका कामका लागि पनि भारतीय कामदारको भर पर्नुपर्ने अवस्था आएको छ।

निर्माण व्यवसायी संघ झापाका अनुसार नेपालमा काम गर्ने कामदारमा भारतीयको संख्या नै बढी छ। संघका झापा अध्यक्ष दीपेन्द्र पोखरेल भन्छन्, 'केही समय अघिसम्मको तथ्यांक हेर्ने हो भने भारतीयको संख्या ७० प्रतिशत थियो। अहिले आएर नेपालका ट्रेड युनियनहरूले केही कडाइ गरेका कारण भारतीयको संख्या केही घटेको छ। तर अहिले पनि बाहुल्य त उनीहरूकै छ।'

कमाउनकै लागि दैनिक एक हजार पाँच सयसम्म नेपाली युवा खाडी मुलुक जान्छन्। तर भारतीय कामदारले नेपालबाटै प्रशस्त कमाएका छन्। यस्तो अवस्थामा नेपाली युवाका लागि नेपालमै रोजगारको प्रशस्त सम्भावना देख्छन् वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष भानु शिवाकोटी। उनले भने, 'विदेश गएर कस्तो अवस्थामा आइपुगिन्छ, थाहा हुँदैन। त्योभन्दा त आफ्नै ठाउँमा काम गर्न उचित हो।'
- अन्नपूर्ण पोष्ट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>