१९ भदौ, काठमाडौं । मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होलारु कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले क्यास अन एडु नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ।
त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।एन्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन गरेपछि एप्लिकेसन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगाना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेसन प्रयोग गर्न सकिन्छ। त्यसपछि मोबाइलमा घन्टी बज्नेबित्तिकै स्त्रि्कनमा डिजिटल विज्ञापन बज्छ।
विज्ञापन हेर्न मन नभए सोझै फोन उठाउन सक्नुहुन्छ। नत्र कम्तीमा ६ सेकेन्ड त्यही विज्ञापन हेरेबापत् एक अमेरिकी सेन्ट कमाउन सकिन्छ। जति मोबाइल उठाउँदै गयो, अकाउन्टमा उति रकम जम्मा हुँदै जान्छ। कति पैसा जम्मा भयो भन्ने सूचना प्रत्येक कलपछि एप्लिकेसनमै आउँछ। १० डलर जम्मा भएपछि प्रयोगकर्ताले रकम निकाल्नसक्ने कम्पनीले जनाएको छ।
रकम निकाल्न इसेवा भने लिनैपर्छ। अन्य देशका लागि पेपल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ।औपचारिक रूपमा केही दिनभित्र सार्वजनिक हुन लागेको यो एप्लिकेसन गुगल प्लेमा राखेको २० दिन भइसक्यो। अहिलेसम्म करिब १० हजार डाउनलोड भइसके। सिरान टेक्नोलोजीले विश्वमै पहिलोचोटि यस्तो एप्लिकेसन निर्माण गरेको दाबी गरेको छ। - नागरिक दैनिक