स्याङ्जा, भदौ २० । मोवाइलमा आएको अपरिचित व्यक्तिको फोनकै कारण स्याङ्जा पुतलीबजारकी दुर्गा महत पतिबाट मरणासन्न हुने गरी कुटिएकी छन् । पुतलीबजार ८ सतौंकी ३४ बर्षकी दुर्गा एक साताअघि ४० वर्षका पति मनबहादुर महतबाट कुटिएकी हुन् ।उनको घाँटी, पिठ्युँ, हात र खुृट्टामा नीलडाम छ । अनुहार सुन्निएको छ । दुर्गाका अनुसार कृष्णाष्टमीको साँझ एक अपरिचित व्यक्तिको फोनबाट उनको मोवाइलमा मिस्डकल देखिएको थियो । सोही विषयमा नानाथरी शंका र उपशंका गरेर पतिले लौरो र हातले हिर्काएको दुर्गाले सुनाइन् । घटनापछि दुर्गा छिमेकीको घरमा बस्न थालेकि छन् । दुर्गाका १२ बर्षकी छोरी र नौ बर्षका छोरा छन् । बुबाले आमालाई कुटेको देखेपछि छोरा मनीष एक सातादेखि आमासँगै बसेका छन् । मनीष बिरामी परेका छन् । ‘हामी डरले घर जान सकेका छैनौं,’ छोराको उपचारका लागि मंगलबार जिल्ला अस्पताल पुगेकी दर्गाले भनिन् । प्रहरीको सुझाव अनुसार अहिले उनी छोरा मनीषसहित महिला विकास कार्यालयमा बसेकी छन् । पत्नी कुट्ने मानबहादुर विरुद्ध न्यायिक कारबाहीका लागि प्रहरीले अनुसन्धान थालेको आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ । पीडित दुर्गालाई न्याय दिलाउन कानुनी प्रक्रिया अघि बढाइएको महिला विकास अधिकृत मीरा शेरचनले जानकारी दिइन् । विवाहपछि पतिले आफूलाई यसरी नै शारीरिक र मानसिक यातना दिने गरेको दुर्गाले बताइन् ।
↧
अपरिचित व्यक्तिको मिस्डकल आउँदा पतिले कुटे, घरबाटै विस्थापित I
↧