- चट्याङ मास्टर
छोरा बुहारी जागिर खान गए नाति नातिना स्कुल पढ्न गए
यता घरमा बुढो दिनभर एक्लै व्याकुल छ
उता पल्लाघरे बुढीको पनि त्यहीँ हाल छ।
परिवार ठूलो छ, बुढो एक्लै छ
इस्टमित्र धेरै छन्, बुढी एक्लै छ।
बुढो उता जान मिलेन, बुढीका सन्तान छन्
बुढी यता आउन मिलेन, बुढाका सन्तान छन्।
राती झ्याल खोलेर बुढो ख्वाक्क खोक्छ
उता बुढीको कोठामा बत्ती ट्वाक्क बल्छ
बुढो हत्तपत्त चस्मा खोज्न थाल्छ
बुढी हत्तपत्त गिलासको दाँत मुखमा कोच्न थाल्छिन् ।
दाँत कोचिसकेर बुढी ‘हे कृष्ण’ भन्छिन्
चस्मा लगाई सकेर बुढो ‘राधे राधे’ भन्छ
उता कृष्ण कृष्ण यता राधे राधे
भजनमै बिते रात सबै कस्ट भागे ।
उता दमको स्याँस्याँ यता बाथ दुख्छ
साझा एक्लोपनले दुवैलाई पोल्छ ।
सुते सन्तति सब पीडाले यी जागे
उता कृष्ण कृष्ण, यता राधे राधे ।
दुबैलाई सबै थोक पुगेकै छ घरमा
तन मन जलेको खरानी जगतमा
दुबैले जीवनलाई नजिकै बोलाए
उता कृष्ण कृष्ण यता राधे राधे ।
हरेक पल छ युद्ध, जीवन जित्नलाई
हरेक पल छ मृत्यु, जीवन जित्नलाई
‘नहार तँ, म छु है’ यो सन्देश सुनाए
उता कृष्ण कृष्ण यता राधे राधे ।
अनौठा यी प्रेमी नभेट्नु छ कहिल्यै
अनौठा यो युद्ध नजित्नु छ कहिल्यै
दुबैले दुबैको जीवनरस बढाए
उता कृष्ण कृष्ण यता राधे राधे
उता कृष्ण कृष्ण यता राधे राधे