काठमाडौँ, बाङलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको भर्खरै सम्पन्न खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरि एतिहासिक जित हासिल गरेको छ । बंगलादेशको चटगाउँमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । त्यसको जवाफमा ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५६ रन बनाएका थिए । त्यस्तै शरद भेषावकरले ३२ रन तथा उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाएका थिए । बलिङतर्फ अफगानिस्तानका शपुर जार्दनले दुई विकेट लिए । अफगानिस्तानका लागि अस्घर स्टानिज्घाइले सर्वाधिक ४९ रन बनाएका थिए । यस्तै शफिकुल्लाहले ३६ तथा समिउल्लाह सेनवारीले १५ रन बनाए । निकै रोमाञ्चक यस प्रतियोगितामा बलिङतर्फ नेपालका जितेन्द्र मुखियाले तीन, शक्ति गौचन र सोमपाल कामीले दुई/दुई तथा बसन्त रेग्मीले एक विकेट लिएका थिए यस जितसँगै नेपालले अघिल्लो चरण प्रवेशको झिनो संभावना कायमै राखेको छ । प्रतियोगिताको म्यान अफ दि म्याच जितेन्द्र मुखिया भए । सन् २००७ यता ट्वान्टी ट्वान्टी क्रिकेटमा भएको सातौँ भेटमा अफगानिस्तालाई नेपालले बिहीवार पहिलो पटक हराएको हो ।
↧