काठमाडौं, १० चैत्र - चिट चोराउन पाउनुपर्ने माग गर्दै हुम्लामा अभिभावकहरूले आइतबार हुम्लाको रोडिकोटस्थित हिमज्योति उच्च मावि परीक्षा केन्द्रमा ढुंगामुढा गरेका छन् । परीक्षा केन्द्रमा प्रवेश गर्न पाउनुपर्ने माग गर्दै आएका अभिभावकले शनिबारदेखि नै परीक्षा केन्द्रमा ढुंगामुढा सुरु गरेको छ ।
घटनाले उग्र रूप लिएपछि आइतबार बिहान १० बजदेखि १५ मिनेट परीक्षा स्थगित गरिएको केन्द्राध्यक्ष धनबहादुर ऐडीले जानकारी दिए । आइतबार गणित विषयको परीक्षा थियो ।
जिल्ला शिक्षा कार्यालयले भने परीक्षामा अमर्यादित गर्ने केही व्यक्तिका कारण १५ मिनेट असहज परिस्थिति सिर्जना भए पनि परीक्षा सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले परीक्षालाई मर्यादित बनाएकोमा आक्रोशित केही समूहले परीक्षा केन्द्रमा ढुंगामुढा गरेपछि स्थिति असामान्य बनेको र परीक्षा केन्द्र रद्द गर्न लाग्दा स्थिति नियन्त्रणमा आएको बताए ।
सोमबार पनि आइतबारजस्तै भए कुनै पनि विषयको परीक्षा सञ्चालन नगरी परीक्षा केन्द्र नै रद्द गर्ने चेतावनीसमेत जिशिअ फडेराले दिएका छन् ।