Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

कतारमा नेपालीको कथा

$
0
0
- तिलविक्रम थेवे, दोहा-कतार

आफुलाई नेपाली समुदायमा समाजसेवी, व्यवसायी, बुद्धिजिवी, पत्रकार, कलाकार, गीतकार, गजलकार, साहित्यकार, कवि, पार्टी नेता, कार्यकर्ता, समाजका अगुवा, भन्ने व्यक्ति र संघसंस्थाहरुलाई सिधै इंगित गरेको नभई प्रवृति र स्वभावको मात्र आलोचना गरिएको हुदाँ कुनै पनि संघसस्थाको कार्यशैली, या व्यक्तिको प्रवृति र स्वभावसंग यो लेख दुरुस्त भए संयोग मात्र हुनेछ ।

आजभन्दा करीव ३० वर्ष अगाडि अर्थात् सन् १९८४/८५ सालदेखि आएर काम गरिरहेका नेपालीदेखि अहिलेसम्मै दैनिकरुपमा निरन्तर काम गर्न नेपालबाट लर्कोका लर्को काम गर्न आइरहेका कार्यरत् झण्डै पाँचलाख नेपालीहरु कार्यरत् रहेको खाडी मुलुक कतारमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरीथरीका नेपालीहरु छन् । कति दार्जिलिङ्ग, सिक्किम, शिलोङ्ग, आसाम, नागालैण्डतिरका नेपालीभाषीहरुले पनि नेपालको कुनै एकजिल्लाको राहदानी बोकेर काम गर्न आएका छन् । श्रम विभागको रेकर्डअनुसार त कतारमा लगभग ७ लाख नेपालीहरु आइसकेका छन् ।

यो नेपाली समुदायको भीडभित्र केही बहुमुखी प्रतिभाका धनीहरु पनि छन् केही मान र सम्मानका भोकप्रसादहरु पनि अस्तित्वमा छन् । यी बहुमुखी र भोकप्रसाद समाजसेवकहरुको उठवस गर्ने ठाँउ कतारमा स्थापना भएका वडा, गाविस, जिल्ला, पेशा संस्था, समाज, धर्ममुखी, परोपकार, राजनैतिक, साहित्य, प्रवचन र प्रशिक्षण, नाफा, बचतजस्ता विभिन्न स्वभावका अनगिन्ती संघसस्थाहरु मार्फत हो ।

विदेशीभूमिमा काम गर्नुको मज्जा नै अर्कै हुन्छ कसैकसैलाई । मज्जा यसअर्थमा कि कसैकसैले आफ्नो ८/१० घण्टे खेताले ड्यूटीपछि स्वस्फुर्त बडागजवको समाजसेवकको जिम्मेवारी समेत आफ्नो काँधमा थपेका छन् । कतारमा यी स्वस्फुर्त समाजसेवीहरु सवैभन्दा बढी अस्तित्वमा रहेका जिल्लामुखी संस्थाहरुमा र माथि भनिएजस्तै अनेक संस्थाहरुको अध्यक्षदेखि लिएर सदस्य, सल्लाहकार, संरक्षकसम्म अझ नपुगे अरुअरु पदसमेत सिर्जना गरेर भए पनि संस्थाको कुनै न कुनै पदमा टाँसिएर बस्नैपर्ने हुन्छ ।

आफ्नो केही आर्थिकसुधार र परिवारको सुखद भविष्यका लागि वैदेशिक रोजगारीमा आएर रोजगारको काम गरीरहेका, कन्स्ट्रक्सन कम्पनी स्थापना गरेर विल्डिीङ्गहरु निर्माण गर्ने पेशा गरिरहेका, रेष्टुरेन्ट या अन्य थोक, कपडा व्यवसाय गरिरहेका, सानातिना कन्स्ट्रक्सनका साइड ठेक्कामा लिएर त्यहाँ कामदार लगाउने तथा अन्य कम्पनीहरुलाई निश्चित कमिशन खानेगरी सप्लाईमा पठाउने ठेकेदारहरुमध्येबाट केही टाठावाठाहरु आफुलाई राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय चिन्तन बोकेर आफैलाईर् समाजचिन्तक, विविधक्षेत्रमा समाजका टाठाबाठा अगुवा, उद्धारक, सामाजिक संस्थाका सक्षम सारथी भन्ने गरेकाछन् ।

नेपालमा आफ्नैनेरको छिमेकीले पनि नपत्याएका र घरको आर्थिक अवस्थाकै कारण र सुखद भविष्यको लागि सम्पत्ति जोहो गर्न आएकाहरु -अपवादको रुपमा औंलामा गन्न सकिने सक्कली व्यवसायी, समाजसेवी र सर्जक वाहेक) आफुलाई नेपाली समुदायमा समाजसेवी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, कलाकार, गीतकार, गजलकार, साहित्यकार, कवि, पार्टी नेता, कार्यकर्ता, समाजका अगुवा, भन्ने गरेका यी महाशयहरु संाच्चै यसरी भनेजस्तैका नै हुन् त ?

यिनीहरुका वारेमा नजिकबाट बुझेर र मुल्यांकन गरेर यिनीहरुको अगुवापनको परिभाषा दिने होभने यिनीहरु “लाटो देशमा गाँडो तन्नेरी” हुन खोजेका महाशयहरु मात्र हुन् कि जस्तो पनि लाग्छ ।

नेपाली समुदायका विभिन्न स्वभावका संघसस्थाहरु राम्रै उद्धेश्यका लागि खोलिएका छन् । केही प्रवासी संघसस्थाहरुले आफ्नो संस्थालाई नेपालमापनि गैह्ररसरकारी संस्थाको (एनजिओ) रुपमा दर्तापनि गरेकाछन् । उनीहरुले नेपालमा सम्बन्धित जिल्लाका विभिन्न स्थानहरुका समामाजिक तथा विकासे काममा धेरथोर मद्दतपनि गर्दै आएका छन् ।

नेपालमा सम्बन्धित जिल्लाका केही विद्यालयहरुमा अक्षयकोष खडा गर्दछन् त्यहाँको व्याजले विद्यालयमा निर्माण, छात्रवृति, भौतिकसामाग्री आदि इत्यादिमा खर्च गर्ने गर्छन, तत्काल आर्थिकसहयोग गर्नुपर्ने विरामीलाई, दैवी प्रकोपको मारमा परेकाहरुलाई आर्थिक भौतिक सहयोग, कतारबाट र्फकन समस्यामा रहेकाहरुलाई हवाइ टिकट, बाटो खर्च, लत्ताकपडा, विभिन्न मुद्धामा जेलनेल परेका प्रवासी नेपालीहरुको उद्धारका लागि आर्थिक सहायता अभियान, नेपालमा एम्बुलेन्स संचालन, कृषि व्यवसाय बाख्रापालन, गाईवस्तु पालन, सिलाइ-बुनाइ तालिम केन्द्र, सञ्चारमाध्यममा कार्यक्रम सञ्चालन आदिजस्ता गतिविधिहरुमा धेरैजसो कतारका संघसंस्थाहरुले सहयोग गर्ने गरेको पनि पाइएको छ । यस्ता सहयोगहरु अत्यन्त प्रसंशनिय हुँदाहँुदै पनि केही लुकेको यथार्थताहरु चाँही तीतो भएपनि सत्यता घामजत्तिकै छर्लङ्ग छ ।

संघसंस्थाले विद्यालयमा अक्षयकोष स्थापना, आर्थिक, भौतिक सहयोग गर्ने कुरामा पनि अध्यक्ष वा अर्कोकुनै टाठोबाठोको गाविस, आफ्नै वडाको विद्यालयहरु प्राथमिकतामा परेकाछन् । सहयोग रकमको राशी या सामाग्रीको संख्या थोरै भएपनि संचारमाध्यममा बढाइ-चढाइको र हल्लीखल्ली अलि बढी हुनुपर्ने संस्कार बसेको छ । उनीहरुलाई सानो दाम र कामलाइृ भरयाङ्ग बनाएर ठूलो नाम चाहिएको हुनाले यसबाट अपवादको रुपमा औंलामा गन्न सकिने मन वचन र कर्मले सामाजिक कार्यमा सहयोग गर्ने सक्कली समाजसेवी तथा व्यवसायी चाँही ओझेलमा पर्ने गरेकाछन् ।

वास्तवमा नागरिक समाजभित्र सेवाले अभिप्रेरित भएर स्वस्फूर्त अगुवाई गर्नु नराम्रो हुँदैहोइन केहीले गरेका र गरिरहेका पनि छन् । कसैको नेतृत्वले नागरिक समाजको हरेक अभियान अघि बढ्न सक्छ भने त्यस्तो नेतृत्वले समाज डोर्याउनु पर्दछ तर डोर्याईनुपर्नेले डोरयाउनेलाई उल्टो डोरयाउनुपर्ने भएपछि चाँही अस्वभाविक हुने गर्दछ ।

कतारमा नाम निकै चलेका केही समाजसेवी, संघसंस्थाका ठूलाबडाहरुका विषयमा नेपालमा सन्दर्भ आउदा उनीहरुलाई त आफ्नै घरको पल्लो छिमेकीले पनि समाजसेवक हो भनेर नपत्याउदा रहेछन् । कतारमा समाजसेवक, सामाजिक अगुवा भाछरे, भन्ने सुन्दा तीनछक्क पर्दै उसका छिमेकीले, त्यो कतारका कथित् समाजसेवी फटाहाले भर्खरै छुट्टीमा आउदासमेत गाँउघरमा गर्नु नगर्नु गरेर फर्केका हुनाले यहाँ आउदा बरु त्यसलाई कानुनी कारवाही गर्नुपर्ने मान्छे भएको कुरा गर्छन् । नेपालमा आफ्नै छिमेकीले नपत्याएका र वेइज्जती कमाएर आएका मान्छे कतारमा सम्मानित समाजसेवकको पगरी गुथेका छन् । यो कस्तो अचम्म ।

 यसमा आवद्ध हुने अनेक अनुहारहरु भनेका तिनै व्यक्तिका एउटै अनुहारहरु नै हुन् जो अनेक व्यक्तिको रुपमा अनेक भूमिकामा जहिँत्यहीँ देखिन्छन् । यिनीहरुको चिनिने नाम भनेको समाजसेवी, व्यवसायी, बुद्धिजीवी, पत्रकार, कलाकार, गीतकार, गजलकार, साहित्यकार, कवि, पार्टी नेता, कार्यकर्ता, समाजका अगुवा, आदि इत्यादि हुन् । कतारमा नेपाली समुदायमा आफु ठूलाबडा भइसकेको मानेर गमक्क फुलेर हिँड्ने यी अनेकरुपका व्यक्तिहरुलाई विभिन्न समाजका एक दिनमा आयोजना हुने विभिन्न कार्यक्रममा त्यहाँको माहौलअनुसार उनीहरुको परिचय र अनेकरुप हुने र पृथक-पृथक नामको पगरी लगाएर सम्बोधन समेत गरिने हुनाले उनीहरुलाई अनेकरुप भएकाहरु हुन् भनिएको हो । उनीहरुलाई अझ अनेक फुलवुट्टा भरेर चाहिएको नचाहिएको प्रशंसा गर्दै ठूलाबडा बनाउने काम भने कतारमा भएका विभिन्न संघसस्थाहरुले गर्दै आएकाछन् । वास्तवमा ती ठूलाबडाहरुलाई नजिकैबाट पढ्ने हो भने तिनीहरु गुण र दोष दुवै भएका व्यक्तिहरुमात्र हुन् ।

संघसंस्थाहरुले अनावश्यक रुपमा माथि चढाएकोले नै अझै उनीहरु स्वघोषित् उपमाको विल्ला भिरेर लाजैनमानी आफैले आफ्नो बढाईचढाई गर्दै आफु फलानो समाजसेवी,व्यवसायी, पत्रकार, कलाकार, गीतकार, गजलकार, साहित्यकार, कवि, पार्टी नेता, कार्यकर्ता, समाजका अगुवासमेत भनेर परिचय आदानप्रदान समेत गर्ने गरेका छन् ।

मन वचन र कर्मको मुलमन्त्रलाई हृदयबाट आत्मसात् गर्ने केही समाजसेवीहरु, केही व्यवसायीहरु अपवादको रुपमा भएपनि, यँहाका संघसस्थालाई अलिकति आर्थिक सहयोग या मिठो गफ गरिदिएर आफू उच्च समाजसेवी भएको सम्झने गर्छन् यी गुण र दोष दुवै भएका अनेकरुपका समाजसेवीहरु चाँही ।

यी समाजसेवीहरुले कुनैपनि कार्यक्रममा आफु प्रमुख अतिथी या अतिथिको रुपमा आमन्त्रित भएको चाहन्छन् । त्यँहा गएर खोक्रो भाषण, प्रवचन दिन पाएनन् भने आफ्नो साख गिरेको सम्झन्छन् । यिनीहरु जहिले जहाँपनि अरुद्धारा प्रशंसित भएको चाहन्छन् । उनीहरु कुनैपनि सभा, समारोहमा छुट्टन मिल्दैन । आफ्ना भाषणमा नछुटाउने कुरा भनेको आफुले यो गरियो त्यो गरियो, यँहा गरियो, त्यँहा गरियो, यति गरियो त्यति गरियो भनेर आफ्नै ढोल पिट्ने काम गर्नु नै हो ।

तर तिनै अनेकरुपका समाजसेवीहरुलाई व्यक्तिको रुपमा मात्र हेर्ने हो भने उनीहरुमध्ये कतिजना नेपालीहरुलाई कतारमा ल्याउन घुमाउरो बाटोबाट भीषाको कारोवार गरिराखेका छन् । जँहा पायो जस्तो पायो त्यस्तै भीषा निकालेर नेपालीहरुलाई कन्तविजोग पारिराखेका पनि छन् । आफूले काममा लगाएका कैयों नेपालीहरुलाई आफैले पनि महिनौसम्म तलव नदिएर, भिसा नविकरण नगरिदिएर, नेपालीहरुलाई भागेर गैरकानुनी बनाउन वाध्य बनाएका पनि छन् । धेरै वर्षसम्म घर नगएर बसेका कतिपय नेपालीहरुलाई घरजाने सल्लाह र सुझाव नदिएर उल्टै अझ प्रोत्साहन गर्दै, अलिअलि पैसा दिएर, उनीहरुलाई नेपाली समुदायमा फटाहा बनाउन अभिप्ररित गर्ने काममा पनि संलग्नछन् भनेर भन्न सकिन्छ ।

यस्तैयस्तै समाजसेवा, व्यवसाय र नेपाली समुदायभित्रको अनेकरुपका व्यक्तिहरुबाट सिर्जित मानव तस्करीको विरोध गर्नेहरु कतारमा भएका संघसस्था र राजनैतिक पार्टीका आवद्ध सस्थाहरु नै हुन तैपनि यिनीहरुका विरोध केवल नाङलो ठटाएर हात्ती तर्साउने पाराको मात्र हो ।

आर्थिक सहयोगको अपेक्षा राख्दै संघसस्थाहरुले पनि तिनीहरुका गलत प्रवृतिको विरोध गर्न चाहदैंनन् बरु उनीहरुका अलिकति आश्वासन, र आफ्नो संस्थालाई दिएको सानो आर्थिक बल्छीको कारण उल्टै संरक्षण दिएर गरेर राखे जस्तो लाग्छ । तिनै संघसस्थाहरुबाट यी भोकप्रसादहरुलाई तामझामका साथ सम्मान गरिने परम्परा पनि फस्टाएको छ ।

संघसस्थाहरुले नाम चाही गजवले राखेपनि सिन्को नभाच्नेहरुपनि छन् । यदी साँच्चै संघसस्थाहरु सामुदायिक भावनामा तातिने हो भने धेरैजना नेपालीहरुले दुःखपाएर, अलपत्र परेर रुनुपर्ने थिएन, हारगुहारको लागि दुतावासमा जाने नेपालीहरुको संख्या पनि कम हुनेथियो । यो कार्यमा किन संघसस्थाहरु पछि परेका होलान् बुझ्न सकिएको छैन ।

अनेकरुपका नेपालीहरु जसले कसैको विचार र विश्लेषणलाई अध्ययन नगरी, नबुझी त्यसको अन्धाधुन्ध प्रतिक्रिया विरोध जनाएर, आफूलाई दिग्गज आलोचक, समालोचक, पत्रकार, लेखक, साहित्यकार, कवि, कथाकार, कलाकार सम्झदाहुन् । तर ती स्वघोषित कलम चलाउने पारखीहरु भन्नेहरुले कतारको नेपाली समुदायभित्र रहेका बहुरुपका अनेकन व्यक्तिहरुको खरावपक्ष, शोषण गर्ने, ठग्ने र गडयौला प्रवृतिको कहिले विरोध गर्न सकेनन् ।

यहाँ कलम चलाउनेहरु सर्जक पारखीहरु सिर्जनशील नभएका त होइन तर ख्वै किन हो यहाँ मिलन र विछोड, दुःख र सुख, आँशु र हाँसो, उकालीओराली भन्ज्याङ्ग चौतारीका कविता, हाइकु, कथा, निवन्ध, स्मरण, गजल लेखिएका भएपनि समाज भित्रका अनेकरुपका व्यक्तिहरुका आफ्ना करतुतहरुको विरोध लेखिन सकेन ।

मनमा तनमा र धनमा आफुले पाएका पिडा, वेदना र दुःखका कुराहरु धेरै लेखिएकाछन् तर तैँले मलाई दुःख दिइस् भनेर कहिल्यै लेखिएन समाजसेवी, व्यवसायी, पत्रकार, कथाकार, बुद्धीजिवी, राजनैतिक नेता, कार्यकर्ता, आदि इत्यादी भनेर अनेक रुपकालाई अनेक अलंकार जोडेर सम्बोधन गरिएता पनि नेपालीलाई दुःख दिने, झुक्याउने, ठग्ने, नेपालीहरुको पसिनाको उचित मुल्य नदिने, नेपालीहरुलाई उल्लु बनाउने फटाहापन चरित्रका अनेकरुपका अनुहारहरुलाई गाली गरिएन । अपवादको रुपमा केहीलाई छोडेर यँहाका लेखक पत्रकार, साहित्यकार, कवि, कलाकारहरु रहरको लागिमात्र कलम चलाएका हुन् जस्तो लाग्छ र यसक्षेत्रमा पनि अनेकुरुपकाहरुको संख्या निकै देखिएको छ । त्यसकारण समाज त यस्तै छ तर समाजमा भएका सृजनशीलतामा पनि बढाईचढाई र खोक्रोपन नै बढी छ । संघसस्थाका ठुलावडा, अगुवाहरुको गमक्क परेर ठुलै काम गरेजस्तो देखाउने प्रवृति र त्यही समाजभित्र रहेका सर्जकहरुका समेत फाईफुट्टीले गर्दा समाजका ठुलावडा, अगुवाहरु, सर्जकहरु, सवै एकैखालको फरककिसिमको या फरकखाले एकैकिसिमको ठूलावडाहरु भनेजस्तो र त्यस्तै भईराखेको हो ।

प्रायः प्राणमात्र जसोतसो धानेजस्ता, थोरै तलवमा गार्‍हो ठँाउमा गार्‍हो काम गर्ने सातो हराएजस्तो, केही हराएर खोजेजस्तो नेपाली श्रमिकहरु बढी देखिन्छन् । यिनीहरु शिकारीले लखेट्दा लखेट्दा लखतरान भएर अलमलिएको मृगजस्तो कुनै न कुनै समस्याले आफ्नो टाउको रिंगाइराखेका थकित पीडैपडाले थकित र पराजित नेपालीको अनुहार लिएर कतारमा भेटिएका धेरै नेपाली भीडहरुमा आफुलाई संघसस्थाको ठूलाबडा ठान्ने तर केही नगर्ने, मान र सम्मानको भोकप्रसादहरुलाई के भन्ने ?

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>