नितु घले |
चिकित्सा विज्ञान पढेकी छोरीलाई राम्रो परिवारको केटासँग विवाह गरिदिने खुश्बुप्रिया मिश्रका आमाबुवाको ठूलो सपना थियो। जनकपुर निवासी रजनिश झा खुश्बुको हात माग्न आएपछि त उनीहरूलाई आफ्नो सपना साकार भएझैं लाग्यो।
त्यसमा पनि डाक्टर पढेकी छोरीलाई डाक्टर केटाकै प्रस्ताव आएपछि आमाबुवाको खुसीको सीमा नै थिएन। केटा पक्षले विवाहका लागिएक सातामात्रै समय दिँदा पनि केटी पक्षले विवाहमा कुनै कमी महसुस हुन दिएनन्।
यसरी २०६८ असार ६ गते खुश्बुको घर सिनामंगलमा धूमधामले गरिएको विवाह नै एक दिन मिश्र परिवारका लागि अभिशाप बन्ला भनेर उनीहरूले सपनामा पनि सोचका थिएनन्। विवाह भएको तीन दिनमै रजनिशको आँखा खुश्बुको बुवाक ो गाडीमा परेको र दाइजोविरोधी खुश्बुले गाडी माग्न नमानेपछि उनलाई परिवारै मिलेर मानसिक र शारीरिक यातना दिन सुरु गरे।
विवाहपछि पनि झा परिवारले राम्रो साइत छैन भन्दै १० महिनासम्म बुहारी भित्र्याएनन् भने रजनिश खुश्बुको माइतीमै बसेर आफ्ना माग राखिरहे। खुश्बुका आमाबुवाले निकै जोड गरेपछि उनलाई घर त भित्र्याइयो तर उनीहरूको दाइजोको माग भने झन् बढ्दै गयो। 'छोरी घर गएको पाँच दिनमै ज्वाइँसहित फेरि काठमाडौं आएकी थिई। त्यतिबेला दिएको पाँच लाख रुपैयाँ र १५ तोला सुन पनि उनीहरूले नै लिए', खुश्बुकी आमाले गहभरि आँसु पार्दै भनिन्।
खुश्बुले २०६९ साल वैशाखमा एमडीका लागि नाम निकालिन्। उनी हाल नेसनल मेडिकल कलेज वीरगन्जमा इन्टरनल मेडिसिनमा एमडी गर्दैछिन्। रजनिश पनि वीर अस्पतालमा इन्टरनल मेडिसिनमै एमडी गरिरहेका छन्। 'नाम निस्किएपछि पढ्न भनेर उनले हामीसँग २० लाख रुपैयाँ र गाडी मागेका थिए। त्यो नदिँदा आफ्नो दानवीपन झन् बढाउँदै लगे', खुश्बुका बुवाले भने।
खुश्बुका आमाबुवाले रजनिशको मनशाय बुझेर उनको दाइजोको मागप्रति वास्त नगरेपछि रजनिशले आफ्नै पत्नीको चरित्रहत्या गर्न समेत बाँकी राखेनन्। सामाजिक सञ्जालमार्फत खुश्बुको नक्कली फेसबुक एकाउन्ट खोलेर उनका बारेमा नराम्रा प्रचार गर्ने र आफ्ना आमाबुवालाई विभिन्न अपशब्द प्रयोग गरेर एसएमएस पठाउने र ज्यान मार्ने धम्कीसमेत दिँदै आएको खुश्बुले बताइन्।
'म एउटा डाक्टरजस्तो मान्छेलाई पनि यस्तो पर्न सक्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ', उनी भन्छिन्, 'मेरो आफ्नो कमाइ पनि लिने र मेरो आमाबुवालाई पनि दाइजोका नाममा तनाउ दिने कुरा त सहन सकिन्न नि।'
गत वर्ष चैतमा सिनामंगलस्थित आफ्नै घरअगाडि खुश्बुका आमाबुवालाई रजनिशलगायत पाँचजनाको समूहले सामूहिक आक्रमण गरेको थियो। यसले गर्दा खुश्बुका आमाबुवाको टाउकोमा चोट लाग्नुका साथै उनीहरूलाई अस्पतालमा दुई दिनसम्म बस्नु परेको थियो। त्यहाँबाट छिमेकीको सहयोगमा रजनिश र उनका बाबुलाई पक्राउ गरी एक सातासम्म बौद्ध प्रहरीले हिरासतमा राखेर उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइयो।
रजनिश अहिले खुश्बुलाई पारपाचुकेका लागि दबाब दिन थालेका छन्। तर, खुश्बु भने आफूले पारपाचुके गरेपछि अन्य अबोध केटीहरूलाई पनि रजनीशले सहजै फसाउने देखेर तयार भएकी छैनन्। उनी भन्छिन्, 'मैले डिभोर्स दिँदा उसको बाटो क्लियर हुन्छ। अर्की सोझी केटीलाई फेरि फसाउन सक्छ।'
त्रिभुवन विश्वविद्यालयमा अध्यापक रहेका खुश्बुका बुवा र कीर्तिपुरमा ल्याब अफिसर रहेकी उनकी आमा हिजोआज सधैं त्रासमा बाँच्नु परेको पीडा सुनाउँछन्। छोरीको पीडामा भक्कानिँदै खुश्बुकी आमाले भनिन्, 'समाजमा यस्ता घटना लुकाएर राख्दा झनै नराम्रो सन्देश जान्छ भन्नेमात्रै हाम्रो विचार हो।'
पैसाका लागि पत्नी, सासू र ससुरालाई समेत मार्ने धम्की दिन सक्ने रजनिशले भविष्यमा जे पनि गर्न सक्ने खुश्बुका बुबाको भनाइ छ। आक्रोशित हुँदै उनले भने, 'यस्ता डाक्टरले भोलिका दिनमा अरूको भविष्य बर्बाद नपार्लान् भन्न सकिन्न। यस्ता मान्छेले मानव अंग तस्कर नगर्लान् पनि भन्न सकिन्न।'आफ्नै बुहारीमाथि झूटो आरोप लगाउँदै रजनिशको परिवारले घरेलु हिंसाको मुद्दासमेत हालेका खुश्बुका अभिभावकले बताए।
जनकपुरस्थित ब्राह्मण समाजले पनि रजनिशलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ। रजनिशले बारम्बार दाइजोका नाममा खुश्बुको परिवारलाई सताउन थालेपछि पीडित परिवारको उजुरीका आधारमा गत चैतमा उनलाई गौशाला प्रहरीले प्रहरीचौकीमा बोलाएर दुवै पक्षलाई सँगै राखेर कुराकानी मिलाएर पठाएको थियो।
तर पनि रजनिशको बानी नसुध्रिएका कारण उनलाई अर्को महिना फेरि प्रहरीले पक्रेर बौद्ध प्रहरी वृत्तलाई बुझाएको गौशाला प्रहरी वृत्त प्रमुख अभिनारायण काफ्लेले बताए।
दाइजो नल्याएको भन्दै डाक्टर बुहारीमाथि हिंसा गरेको आरोप खेप्दै आएका रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा गणित विषयका प्राध्यापक कौशलेन्द्र झाले आफूमाथि लगाइएका सम्पूर्ण आरोप निराधार रहेको बताए। खुश्बुप्रियाले सम्पत्ति पाउनमात्रै आफ्नो छोरा र आफूलाई बदनाम गरिरहेको उनको भनाइ छ।
आफ्नो एउटा सन्तानलाई पढाउन आफूसँगै भएको सम्पत्ति पर्याप्त भएको बताउँदै उनले भने, 'मैले डाक्टर बुहारी खोजेर बिहे गरेँ किनकि मलाई दाइजोभन्दा पनि छोराको ओहदाको ख्याल थियो। दाइजो लिनु थियो त बिहेअगाडि नै माग्थ्यौं, पछाडि होइन।'
बिहेपछि आमाबुवासँग सम्बन्ध नराख्न छोरा रजनिशलाई बुहारी खुश्बु र उनकी आमाले दबाब दिइरहेको र छोराले काठमाडौंमा भाडा लिएको कोठामा नबसी माइतमै बुहारी बस्दै आएको उनले बताए। यस्तो अवस्थामा बुहारीलाई सम्झाउन गएको बेलामा भनाभन हुँदा मेरा आमाबुवालाई कुटेको भन्दै सार्वजनिक अपराधमा मुद्दा हालेर खुश्बुले आफूहरूलाई थुन्न लगाएको पनि झाले बताए।
जनकपुर संवाददाता मनिका झाको सहयोगमा
source : annapurnapost