![]()
नयाँ दिल्ली, भदौ २८ । गत डिसेम्बर १६ का दिनमा भारतको नयाँ दिल्लीमा भएको सामूहिक बलात्कारको आरोपी चार व्यक्तिलाई शुक्रबार नयाँ दिल्लीस्थित एक अदालतमा फाँसीको सजाय सुनाइएको छ । नयाँ दिल्लीस्थित एक अदालतमा न्यायाधीश योगेश खन्नाले उक्त सजाय सुनाउनु भएको हो । न्यायाधीश खन्नाले हालका दिनहरूमा महिलामाथि बलात्कारको घटना बढ्दै गएको र यसलाई अदालतले आँखा चिम्लन नसक्ने बताउनुभएको छ । बलात्कारबाट ज्यान गुमाएकी ती युवतीका बाबुले ती आरोपीलाई अदालतले दिएको सो फाँसीको फैसलाबाट आफू अत्यन्त खुसी भएको बताएको समाचारमा जनाइएको छ । गत डिसेम्बर १ मा सार्वजनिक बसमा आफ्ना पुरुष मित्रसँग सिनेमा हेरेर फर्केकी २३ वर्षीया मेडिकल कलेजकी विद्यार्थीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारपछि उपचारार्थ सिङ्गापुर लगिएकी ती युवतीको सिङ्गापुरको एक अस्पतालमा मृत्यु भएको थियो । बलात्कारमा संलग्न चारै व्यक्ति– मुकेश सिंह, अक्षय ठाकुर, पवन गुप्ता तथा विनय शर्मालाई अदालतले गत मङ्गलबार नै दोषी प्रमाणित गरेको थियो । उनीहरूमाथि हत्या, बलात्कार तथा चोरीको मुद्दा लगाइएको थियो ।