
बिभिन्न गेटअपमा भिन्न भिन्न चरित्र निभाउन सफल मानिन्छन कलाकार सिताराम कट्टेल । कहिले धुर्मुस, कहिले खड्काजी त कहिले मुस्कान पासा । उनी सवै भूमिका जोडदार लाग्छन् । पछिल्लोपटक धुर्मुस ‘जुल्फे’को नयाँ भूमिकामा देखिदैछन, तर मेरी बास्सैमा भने हैन ।सितारामले पछिल्लोपटक ‘जुल्फेको घर’ सिनेमा बनाएका छन् जसमा उनी जुल्फेको भूमिकामा छन् । आगामी असार महिनामा नेपालका सवैजसो टेलिभिजनबाट प्रसारण हुने यो सिनेमाको निर्देशन पनि सिताराम आफैले गरेका छन् ।
हेभिट्याट फर ह्यूमानिटी नामक संस्थाले निर्माण गरेको ४५ मिनेट लामो यो सिनेमामा सिताराम मुख्य भूमिकामा छन् । यो क्यारेक्टरलाई उनले टेलिभिजनबाट प्रशारण भएपछि मात्र ‘मेरी बास्सै’मा प्रस्तुत गर्ने बताएका छन् । सितारामले भने, ‘सिनेमा प्रशारण हुनु अघि नै ‘मेरी बास्सै’मा यो भूमिका देखाउादा मज्जा नआउने भएकाले ‘जुल्फेको घर’ सार्वजनिक भएपछि मात्र गर्ने तयारीमा छु ।’‘सिनेमाले सन्देश त दिन्छ, तर दर्शलाई पेट मिचिमिची हसाउँछ’ निर्देशक तथा कलाकार सितारामले भने । यो छोटो सिनेमाभित्र लभस्टोरी, कमेडी, सन्देश सबै भएको उनको भनाई छ । मानिसको पहिलो आवश्यकता घर भएको भन्दै उनले ‘जुल्फेको घर’ले यस्तै कथा बोल्ने बताए । ‘धमिरा नलागेको, भुकम्पबाट बच्ने खालको घर मानिसको पहिलो आवश्यकता हो । हामी सिनेमाबाट यही कुराको सन्देश दिदैछौ’, सितारामले भने । उनले भाले कट राख्नुको कारण खुलाउँदै भने, ‘भालेबाट अत्याधिक प्रभावित क्यारेक्टर भएकाले यस्तो गेटअप गरिएको हो ।’ भाले बास्ने समयमा ‘जुल्फे क्यारेक्टर’ भालेको कोखबाट जन्मिएको सिनेमामा देखाइन्छ । अरुको कुरा केही पनि नसुन्ने, आफ्नै मात्र ढिपीमा लागिरहने क्यारेक्टरमा सितारामलाई देख्न सकिनेछ ।
source : onlinekhabar