Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पतिले घाउ दिए, अन्जानले मलम

$
0
0
काठमाडौं-फक्रेको फूलमा त भमरा झुम्मिन आइहाल्छ, ठूलो त्यो हो जो मुर्झाएको फूल स्याहार्न अघि सर्छ। जीवनमा कहिलेकाहीँ चिताउँदै नचिताएको मान्छे नङमासु बन्न आइपुग्छ। अनायसै हित्तचित्त मिलेपछि ऊ जिन्दगीभर सँगै जिउने कसम खाएका साथीभन्दा नजिकको सहयात्री बनिदिन्छ। दाइजोको निहुँमा आफ्नै पतिद्वारा जिउँदै जलाइएकी बाँकेकी रिहाना सेख ढपालीको जिन्दगीमा अहिले यस्तै मोड आएको छ।
जीवनभर साथ दिने कसम खाएर ‘निकाहा'गरेका पतिबाटै आगोमा झोसिइन् उनी। विपदमा सहारा दिन हात बढाइन् एक अञ्जान युवतीले, जो रिहानाको दुःख थाहा पाएदेखि दिनहुँ वीर अस्पतालको बर्न वार्ड धाइरहेकी छन्।

हेटौंडा भुटनदेवीकी सीमा पाण्डे दिनको तीन–चार घन्टा वीरमै बिताउँछिन्, रिहानासँग। आधा जलेकी रिहानालाई उनका बुबाले नेपालगन्जबाट गत मंगलबार वीरमा भर्ना गर्न ल्याएका थिए। खबर सुन्नेबित्तिकै सोधिखोजी गर्दै अस्पताल पुगिन् सीमा। त्यसयता छ दिनदेखि लगातार रिहानाको हेरचाहमा जुटेकी छन्। उनको यो समर्पण परिवारकै सदस्यको भन्दा कम छैन।
नर्सहरूका अनुसार उनी अस्पताल छउन्जेल रिहानालाई नै कुरेर बस्छिन्। पतिबाट सताइएर अस्पताल आइपुगेकी रिहानासँग मीठामीठा कुराकानी गरेर मन भुलाउँछिन्। खाना खुवाउँछिन्। सरसामान जुटाइदिन्छिन्। रिहानालाई चाहिने पोषणयुक्त खानेकुरादेखि पानी उमाल्ने इलेक्ट्रिक भाँडो, थाल, कचौरा, साबुन, घाउमा लगाउने तेल, स्याम्पु सबै उनैले जुटाइदिएकी हुन्। रिहानालाई दुःखको सागरबाट उतारूँ भन्ने नै उनको उद्देश्य रहँदै आएको छ।
उनको यस्तो व्यवहारबाट रिहानाले शरीरको घाउ र मनको चोट तैबिसेक बिर्सन पाएकी छन्। ‘दिदी आइरहनुहुन्छ, उहाँसँग कुरा गर्दा दुखाइ बिर्सन्छु,'रिहानाले सोमबार नागरिकसँग भनिन्, ‘कुनै दिन आउन ढिला भए नरमाइलो लाग्छ, फोन गरेरै डाक्छु।'
बुबा समिम सेखले रिहाना नयाँ संगीसँग निकै झ्याम्मिएको बताए। ‘अलिबेर भेट भएन कि न्यास्रो मान्न थाल्छे,'उनले भने, ‘एक हप्ता भएको छैन, वर्षौं पुरानो साथीजस्तो गर्छन्।'
सीमाले पनि कम्ता ज्यान फालेकी छैनन्। आइतबार आफ्नी दिदी संगीताको जन्मदिन रिहानासँगै मनाउन केक बोकेर अस्पताल पुगिन्। उनीहरूले त्यहीँ केट काटे। रिहानाका बुबा, बहिनी, बर्न वार्डका नर्स र टिचिङ अस्पतालका तीन चिकित्सक तनय सिन्हा, आलोक राज र प्रकाश मिश्र पनि सरिक थिए।
गुलियो केकको स्वादमा रिहाना एकछिन जिन्दगीको टर्रो यथार्थ भुलेर रमाइन्। ‘थाहै नपाई एउटा बलियो नाता गाँसिएको आभाष भइरहेको छ,'सीमा भन्छिन्, ‘उनी पनि मसँग बढ्तै झ्याम्मिन्छिन्।'
रिहानालाई नेपाली भाषा बोल्न समस्या छ, घरतिर उनीहरू अवधी भाषा बोल्छन्। यहाँ भने हिन्दीमा कुराकानी हुन्छ। वीरमा भर्ना भएदेखि अरूसँग भन्दा सीमासँग बढ्ता हिमचिम छ। उनी आफ्ना दुःख र अनुभूति सीमासँग धक नमानी खोल्छिन्। यसले पनि सम्बन्ध गाढा बनाउँदै लगेको सीमाको भनाइ छ।
पुर्ख्यौली घर जनकपुर भएकी सीमाले सानैदेखि महिलामाथि हुने हिंसाका अनेक घटना देख्दै आएकी छन्। दाइजोदेखि जातपातका नाममा हुने हिंसासमेत उनीबाट छिपेको छैन। त्यही भएर रिहानाको घटना सुन्नेबित्तिकै उनी भावुक भइन्।
‘मधेसमा छँदा सानैदेखि यस्ता घटना देखेकी थिएँ, रिहानाको कुरा थाहा पाउनेबित्तिकै यस्तो लाग्यो, म फेरि आफ्नो बाल्यकालमै फर्किएँ,'उनले सोमबार नागरिकसँग भनिन्, ‘म उनको पीडा बाँड्न सक्दिनँ, तर अनुभूति गर्न सक्छु, अलिकति सहयोगको हात बढाएँ भने उनको मन हलुका हुन्छ भन्ने लाग्यो। त्यही भएर घटना थाहा पाएदेखि भेट्ने हुटहुटी चलेको थियो, काठमाडौंमा भर्ना हुनेबित्तिकै पुगिहालेँ।'

पहिलोचोटि भेट्दा रिहानाको शारीरिक अवस्था देखेरै आफूलाई थाम्न नसकेको सीमाले बताइन्। ‘म त उनलाई देख्नेबित्तिकै रोएछु, अरूले सम्झाउनुपर्‍यो,'उनले भनिन्, ‘त्यही दिनदेखि हाम्रो सम्बन्ध गाँसियो।'
उनका अनुसार सुरुमा रिहाना घरिघरि त्यही घटना र त्यससँग जोडिएका पात्रबारे मात्र कुराकानी गर्थिन्। पति र सासूले आगो सल्काएको दुई दिनसम्म कसरी बिनाउपचार घरमै थुनेर राखे, त्यति गर्दा पनि सास नगएपछि कसरी गुपचुप भारतको बहराइच पुर्‍याए, मोटरसाइकल र भैंसी दाइजो नल्याएको निहुँमा कसरी दिनरात प्रताडित गरे, आफ्नो बिहेका कारण गरिब बुबालाई कसरी समस्यामा परे, रिहाना खालि यही कुरा झिकेर बिलौना गरिरहन्थिन्। आँसु बगाइरहन्थिन्।
यसले उनको दुःख अझ बल्झेला भनेर सीमाले नै अन्य कुरा झिक्न थालिन्। घरि मोबाइलमा गीत सुनाउँथिन्। घरि भिडियो देखाउँथिन्। घरि आफ्नै कलेजको अनुभव सुनाएर दंग पार्थिन्। आइतबार दिदीको जन्मदिन अस्पतालमै मनाउने योजना पनि रिहानालाई खुसी बनाउने एउटा सुखद कारण थियो।
बहिनीकै उत्प्रेरणाबाट अस्पताल पुगेकी संगीता पनि साथीभाइसँग रेस्टुराँमा भन्दा रिहानासँग जन्मदिन मनाउँदा खुसी लागेको बताउँछिन्। ‘हाम्रो खुसीमा सरिक गराउँदा उनको दुःख कम हुन्छ भन्ने लागेर हामी दिदीबहिनीले रिहानासँग जन्मदिन मनाउने निर्णय गरेका हौं,'उनले भनिन्।
सीमा र रिहानाको सम्बन्ध कति गाढा भइसक्यो भने सोमबार घुँडा र शरीरका अन्य भागमा शल्यक्रियाका लागि लैजानुअघि रिहानाले इसारामै सीमाको हात मागेकी थिइन्। ‘मलाई आफूनजिक बोलाइन्, तर घाउ बिग्रन्छ भनेर सम्झाएँ,'सीमाले भनिन्।
सेन्ट जेभियर्सबाट सोसल वर्कमा स्नातक गरेकी सीमाले पोर्चुगलबाट अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। महिलासँग सम्बन्धित मुद्दामा अभिरुचिकै कारण केही समय महिला पुनर्स्थापना क्षेत्रमा समेत काम गरेकी छन्। ‘अहिले भने म जागिर खोज्दैछु,'उनी भन्छिन्।
सीमाले रिहानाका निम्ति सहयोग जुटाउन सामाजिक सञ्जालको पनि सहारा लिएकी छन्। फेसबुकमार्फत पनि सहयोगको आग्रह गरेको उनले बताइन्। ‘साथीभाइ र छरछिमेकबाट सहयोग जुटाउन दौडधुप गरिरहेकी छु,'उनले भनिन्, ‘सहयोग पनि आउन थालेको छ।'यसको व्यवस्थापनका लागि सानिमा बैंकमा रिहानाकै नाममा बैंक खाता खोलिदिएको उनले बताइन्।

‘अहिलेलाई धेरै ठूलो योजना केही गरेकी छैन, खालि रिहानाको उपचारमा कुनै समस्या नहोस्, उनको आधारभूत आवश्यकतामा कमी नआओस् र खान्की पुगोस् भन्ने नै मेरो उद्देश्य हो,'उनले भनिन्।

घुँडाको शल्यक्रिया
उपचारमा संलग्न चिकित्सक डा. पियुष दाहालका अनुसार सोमबार रिहानाको घुँडा र खुट्टाको एक भागको शल्यक्रिया भएको छ। जोडिएका दुवै घुँडा शल्यक्रिया गरी सिधा पारिएको र जलेर छाला खुइलिएको खुट्टाको एक भागमा छाला प्रत्यारोपण गरिएको उनले जानकारी दिए।
‘शल्यक्रिया सफल भए–नभएको दस दिनपछि मात्र थाहा हुन्छ,'उनले भने, ‘छाला प्रत्यारोपण भनेको बिरुवा रोपेजस्तै हो, सफल हुन पनि सक्छ, नहुन पनि।'
शल्यक्रिया र औषधि खर्च महँगो छ। त्यसमा ‘बिबिएस'भन्ने संस्थाले सहयोग गरिरहेको छ। विभिन्न सहयोगदाताबाट जुटेको ३५ हजार रुपैयाँ औषधि किन्नमै सकिएको बाबु समिमले बताए। रिहानाको उपचारका लागि अस्ट्रेलियास्थित दुई नेपाली युवाले १०–१० हजारका दरले २० हजार रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए। -नागरिक 

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>