काठमाडौं : नेपाल वायुसेवा निगमको गत फागुन ४ गते अर्घाखाँचीको मसिनेलेकमा भएको ९एन एबीबी नामक ट्वीनअटर जहाज क्याप्टेनले उडान आवर बढाउन लिएको जोखिमका कारण दुर्घटना भएको तथ्य सार्वजनिक भएको छ।निगमको ९एन एबीबी जहाज दुर्घटना जाँच आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले निगमको आन्तरिक उडानमा पाइलट जगेडा रहेका र जहाज भने थोरै मात्र उडेकोले पनि क्याप्टेनले आफ्नो उडान आवर बढाउन यस्तो जोखिम लिएको पाइएको जानकारी दिए।
निगमको आन्तरिक उडानका लागि प्रशस्त पाइलट भए पनि जहाज भने दुईवटामात्रै उडानमा हुनु नै पाइलटले उडान आवर बढाउन जोखिम लिएको देखिएको मानन्धरको बुझाइ छ।'निगमको यो जहाजमा दुर्घटनमा परेका पाइलट शंकर श्रेष्ठले एअरबसको तालिम लिइसकेको कारण आफूलाई प्रमोसन गर्न लिएको एउटा जोखिमपूर्ण उडान नै दुर्घटनाको एउटा कारण बन्न पुगेको अनुमान रहेको उनले बताए। दुर्घजना जाँच प्रतिवेदनमा भने मानवीय त्रुटी भनिए पनि यो तथ्य उल्लेख भएको छैन। जहाज दुर्घटनामा चालक दलका सदस्यसहित एकजना डेनिस नागरिक र १७ जना नेपालीले ज्यान गुमाएका थिए। दुर्घटानको प्रमुख कारण भने पाइलटले रुट परिवर्तन गर्नु र मौसमको खराबी रहेको प्रतिवेदनले औंल्याएको छ।
'काठमाडौंबाट पोखरा हुँदै जुम्ला उडेको यो जहाजमा क्याप्टेनले कोपाइलटको कुरा नसुनेको र एकोहोरो निर्णय गरेको आरोपसहितको प्रतिवेदन जाँच आयोगले तयार पारेको छ। हवाई दुर्घटना छानबिन आयोगको प्रतिवेदनले क्याप्टेन र कोपाइलटको सामन्जस्यतामा कमी भएको देखाएको छ। कोपाइलटले जहाज टर्न नगरौं, तल नझरौं तथा रुट परिवर्तन नगरौं भनेको क्याप्टेनले नमानेको प्रतिवेदनमा उल्लेख छ। दुर्घटनाको कारण मानवीय गल्ती नै भएको संस्कृति, पर्यटन तथा नागरक उड्डयनमन्त्री भीम आचार्यलाई बिहीबार बुझाएको प्रतिवेनमा छ।
मानन्धरको अध्यक्षताको चार सदस्यीय समितिले साढे तीन महिना लगाएर यो प्रतिवेदन तयार पारेका हुन्। जहाज उडेको चार मिनेटमा नै रुट परिवर्तन गरेको थियो। जहाजले रुट परिवर्तन गरेर उत्तरपश्चिम लाग्नुपर्ने जहाज दक्षिणपश्चिम लागेको थियो। त्यो ठाउँमा भएको मौसमको खराबीले जहाज कहाँ पुग्यो भन्नेबारेमा पनि चालक दल अन्योलमा पुगेको प्रतिवेनदमा उल्लेख छ।जहाज दुर्घटनापछि गठन भएको आयोगले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डनय प्राधिकरणलाई आवश्यक सुझाउ दिएको छ। भोलिका दिनमा यस्तो प्रकृतिका घटना नदोहोरियोस् र सुझाउको पूर्ण पालना गरी हवाई उडान सुरक्षित राख्न सकिने प्रतिवेनदमा उल्लेख छ।
आयोगले प्राधिकरणलाई विमानस्थलमा मात्रै मौसमको जानकारी दिने संयन्त्रको सट्टा जहाज उड्ने रुटको मौसमको बारेमा पनि जानकारी दिने प्रविधि राख्न सुझाउ दिएको छ। सेफ्टि रेगुलेसनको कार्यान्वयन गर्नुपर्ने, प्राधिकरणसँग सहकार्य गर्नुपर्ने सुझाउ मन्त्रालयलाई दिएको छ। जहाजको ट्याकिङ प्रणाली बनाउनुपर्ने र पाइलट र कोपाइलटको सम्बन्ध सहज बनाउने काम सम्बन्धित एअरलाइन्सले गर्नुपर्ने सुझाउ प्रतिवेदनमार्फत दिएको आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। प्रतिवेदनले दिएको सुझाउलाई १० दिनभित्र कार्यान्वय गर्ने भरपर्दो आधार पेस गर्न मन्त्री आचार्यले निर्देशन दिएका छन्। - अन्न पूर्ण पोस्ट