काठमाडौं, जेष्ठ २६ । काठमाडौंको कान्ति बाल अस्पतालमा तीन वर्षको बालकको पेटबाट मृत अवस्थाको बच्चा निकालिएको छ । सर्लाहीको बबगञ्ज ३ का राकेश चौधरी र रामजैसी चौधरीका तीन वर्षीय छोरा अनुराग चौधरीको पेटबाट ४ सय ग्रामको ट्युमरभित्र रहेको २ सय ५० ग्रामको मृत बच्चा निकालिएको हो । गत वर्ष आश्विनमा बालकको पेटको दाहिनेपट्टी डल्लो फेला परेपछि उनलाई उपचारका लागि कान्ति अस्पताल ल्याइएको थियो । अल्ट्रासाउण्ड र सिटी स्क्यानबाट ट्युमरभित्र बच्चा रहेको पत्ता लागेको थियो । डा. अनुपमा थापा बस्नेत, डा. विजय थापा, डा. शान्त सापकोटा लगायतको टोलीले शल्यक्रिया गरी मृत बच्चा निकालिएको हो । शल्यक्रियापछि बालकको अवस्था अहिले सामान्य बन्दै गएको छ । गर्भमा रहेका जुम्ल्याहा भ्रुण मध्ये पूर्ण विकसित हुन नसकेको भ्रूण विकसित शिशुको पेटभित्र विकसित हुँदै जाँदा यस्तो हुने चिकित्सकहरु बताउँछन् । यसअघि पनि कान्ति बाल अस्पतालमा नौ महिने शिशुको पेटभित्रै भ्रूण फेला परेको थियो ।
source:- imagekhabar