Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भाउ घटेपछि सुन बिक्री बढ्यो

$
0
0
यादव हुमागाईं
काठमाडौं, २४ जेठ- अन्तर्राष्ट्रिय बजार पछ्याउँदै नेपाली बजारमा सुन १ वर्षयताकै सस्तो भएपछि बिक्री बढेको छ । सामान्यतया बजारमा दैनिक २० देखि २५ किलो सुन बिक्री भइरहेकोमा भाउ घटेपछि ३५ किलोसम्म कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
“माग १० किलो बढेर ३० देखि ३५ किलो बिक्री हुन थालेको छ,” महासंघ अध्यक्ष मणिरत्न शाक्यले भने, “सुनको भाउ ओरालो लागेपछि किन्नेको चाप बढेको हो ।”
यसपटक जेठ–असारमा विवाहको लगन कम भए पनि बचत गर्नका लागि सुन किन्नेहरू बढेको व्यवसायी बताउँछन् । “तुलनात्मक रूपमा यो महिना व्यापार ५० प्रतिशतले बढेको छ,” श्री ऋद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले भने, “भाउ घटेकाले ६–७ महिनापछि विवाह गर्नेहरूले पनि अहिल्यै सुन किनेर राख्न थालेका छन् ।”
नेपालमा सुनको भाउ ठ्याक्कै १ वर्षअघिको मूल्यमा झरेको छ । अघिल्लो वैशाख र जेठमा पनि प्रतितोला ४९ हजार रुपैयाँ हाराहारीमा झरेको थियो । त्यसपछि उकालो लागेको भाउ असोजमा ६० हजार रुपैयाँनजिक पुगेको थियो । कात्तिकबाट पुनः ओरालो लागेको सुन पुसमा ५१ हजार ६ सय रुपैयाँसम्म झरेको थियो । त्यसपछि फागुनमा ५६ हजार रुपैयाँ पुगेको थियो । ३ महिनायता भने निरन्तर घट्दै ५१ हजार रुपैयाँ कायम भएको छ ।
नेपालमा कुल आयात हुने सुनमध्ये ७० प्रतिशत गरगहना र ३० प्रतिशत लगानीका लागि खरिद–बिक्री हुने गरेको छ । सुनलाई आवश्यक परेका बेला तुरुन्त रकममा बदन्न सकिने र धितोमा ऋणसमेत लिन सकिने भएकाले किनेर बचत गर्ने प्रचलन छ ।
सुनप्रति बढेको आकर्षणलाई निरुत्साहित गर्न ५ वर्षदेखि राष्ट्र बैंकले आयातमा कोटा तोक्दै आएको छ । हाल वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउँछन् । व्यवसायीले पनि उक्त सुन गरगहना बनाएरमात्र बिक्री गर्नुपर्छ ।
तर, सरकारले प्रभावकारी रूपमा बजार अनुगमन गर्न नसक्दा तस्करी हुनुका साथै ढिक्का सुनको समेत कारोबार हुने गरेको छ ।
भाउ पुनः बढ्ने संकेत
यो साता घटेर १ वर्षकै न्यून बिन्दुमा पुगेको सुनको मूल्य पुनः बढ्ने संकेत देखिएको विश्लेषण महासंघको छ । उसले अन्तर्राष्ट्रिय बजारका आधारमा नेपालको दैनिक मूल्य तोक्ने गरेको छ ।
शनिबार महासंघले जारी गरेको विश्लेषणमा ‘युरोपेली युनियनले हालै सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिका कारण सुनको भाउ पुनः बढ्ने संकेत देखिएको’ उल्लेख गरेको छ । “मौद्रिक नीतिले निक्षेपको ब्याजदरलाई शून्यभन्दा तल झारेपछि बंैकको तरलता घट्ने र बजारको मुद्राप्रवाह बढ्ने भएकाले सुनचाँदीको मूल्य पुनः बढ्न सक्छ,” विश्लेषणमा भनिएको छ ।
यसैगरी यो साता प्रकाशित अमेरिकी आर्थिक सूचकांकले बेरोजगारको संख्या बढेको देखाएपछि यसले सुन र चाँदीको मूल्य बढाउन सघाउने विश्वास गरिएको छ । विश्वको दोस्रो ठूलो सुन उपभोक्ता बजार भारतमा सुन आयात नीतिमा गरिएको कडाइ क्रमशः खुकुलो गरिएपछि पनि क्षेत्रीय मागमा सुधार हुने संकेतले मूल्य बढ्ने महासंघले जनाएको छ । महासंघले अघिल्लो साता सुन ४८ हजार रुपैयाँसम्म झर्ने प्रक्षेपण गरेको थियो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा कमोडिटी बजारमार्फत सुन कारोबार हुने भएकाले स–साना घटनाका कारण पनि भाउमा तीव्र उतारचढाव आउने गरेको छ । यो साताको अन्त्यमा पनि सुनको भाउ सामान्य उकालो लागेको छ । साताको मध्यमा १ वर्षयताकै सस्तो भई प्रतितोला ५१ हजार रुपैयाँ कायम रहेकोमा शुक्रबार बढेर ५१ हजार ३ सय रुपैयाँ पुगेको छ । source : karobardaily

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>