डोल्पाको फोक्सुण्डो गाविसको नाउरे पाटनमा करोडौँको लुटपाट भएको प्रहरीले बताएको छ । यार्सागुम्बा सङ्कलन गर्न नाउरे पाटनमा गएका व्यापारी र सर्वसाधारण राति सुतिरहेको पालबाट १२ जना हतियारसहित आएका लुटेराको समूहले रु चार करोड बराबरको नगद र सङ्कलन गरेको यार्सागुम्बा लुटेर लगेको प्रहरीले बताएको छ । राति सुतिरहेका बेलामा एक्कासि पालमा पसी ‘तिमीहरु सबै घोप्टो पर, नत्र गोली हान्छु’ भनेर धम्क्याएपछि सबै चुप बसेका र उनीहरुको नगद र यार्सागुम्बा लुटेर लगेको बताइएको छ । लुटपाट से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र भएकाले आज बिहान से–फोक्सुण्डो निकुञ्जबाट नेपाली सेनाको एक टोली र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेले नेतृत्वको ११ सदस्यीय अर्को टोली घटनास्थलतर्फ गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले राससलाई बताउनुभयो । त्यसैगरी, रिग्मो पोस्टबाट नेपाली सेनाको एक टोली घटनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ गएको नेपाली सेनाले बताएको छ ।
दुनै सदरमुकामबाट तीन दिन पैदल हिँडेपछि मात्र सो घटनास्थलमा पुगिने भएका कारण थप जानकारी आउन समय लाग्ने प्रजिअ खनालले बताउनुभयो । source : nepalmother