
विश्वकप फुटबल २०१४ अन्तर्गत समूह एफको अर्जेन्टिना र बोस्निया हर्जगोभिनाको खेलपश्चात सेतोपाटी डिजिटल पत्रिकामा पत्रकार किरण भण्डारीले लेखेको लेखमा म टक्क अडिएँ । लेखले भन्दा पनि लेखको शीर्षकले मलाई रोकेको थियो। “अर्जेन्टिनाको जीत बाघले सिनो खाएजस्तो”, मलाई भनन रिङ्गटा लागेजस्तो भयो ।
शीर्षक फेरि दोहोर्याएर पढेँ। मेरो फेभरेट टिम अर्जेन्टिनाले बाघको उपाधि पाएको थियो, जो जंगलको राजा मानिन्छ, सँगसँगै बाघले सिनोको सिकार गरेको प्रसंग थियो जसले मलाई झस्काएको थियो। खेल मैले पनि हेरेको थिएँ, अर्जेन्टिनाको पर्फरमेन्स मलाई नि चित्त बुझेको थिएन तर सिकार गतिलो परेछ र अलि गाह्रो भयो भनेर चित्त बुझाएको थिएँ। अर्को खेल अवश्य राम्रो गर्नेमा म ढुक्क थिएँ।
तर किरण भण्डारीको लेखको शीर्षकले मलाई चसक्क कतै दुखेको थियो। मलाई अचम्म लाग्छ, किन यस्तो फिल भयो भनेर। न त अर्जेन्टिना मेरो देश न अरु कुनै सामीप्यता यो दक्षिण अमेरिकी मुलुकसँग। फुटबलमा अर्जेन्टिनाको बिरोध गर्ने मेरा शत्रुझैँ लाग्छन्। त्यस पछिका दिनहरुमा म सोचमग्न हुन थालेँ, किन ममा यस्तो छाप पर्यो अर्जेन्टिनाको र म खरो सपोर्टर भएँ अर्जेन्टिनाको र ब्राजिल विरोधी। आखिर यी दुबै राष्ट्र मेरा लागि सात समुद्र पारिकै हुन्। एउटा संयोग भने परेको रैछ, पछिल्लो पल्ट अर्जेन्टिनाले विश्वकप जितेको वर्ष म जन्मिएको थिएँ, तर यो एउटा संयोग नै कोही कसैलाई मन पराउने अन्तिम कडी हुँदैन र भएको हैन।
विश्वकप फुटवल खेल हुन्छ भन्ने ज्ञान मलाई १९९८ बाट सुरु भएको हुनुपर्छ। रेडियो र अखबारमा रोबर्टो कार्लोस, डुङ्गा, रिभाल्डो, रोनाल्डो जस्ता नामहरु खुब सुनिन्थे, पढिन्थे। पछि पो थाहा भयो ती सबै ब्राजिलियन स्टार खेलाडीहरुको नाम रैछन्। आफूभन्दा अग्रजहरुबाट उनीहरुको खुब प्रशंसा सुनिन्थ्यो तर मैले उनीहरु कसैको अनुहार कस्तो छ भनेर देखेको थिइनँ।
समय बित्दै गयो। सन २००२ मा फेरि विश्वकप हुने भयो, त्यो पनि सधैँ नाम सुनिरहेका देशहरु जापान र दक्षिण कोरियामा। त्यति बेला थाहा भयो मलाई, यो वर्ल्डकप फुटबल हरेक ४ वर्षमा हुने रैछ। त्यो बेलाको म्याच लाईभ हेर्न पाउने भइयो, त्यो पनि दिउँसोको समयमा। फुटवल फिभर नै चलेको थियो ।
त्यसपछि सबै कुराहरु विस्तारै प्रस्टिँदै गए। जम्मा ३२ वटा देशहरुले वर्ल्डकप खेल्ने रैछन्, हरेक ४ वर्षमा छुट्टा छुट्टै देशमा यो खेल आयोजना हुनै रैछ आदि आदि। अरु पनि धेरै जानकारीहरु थिए मैले पाएका। मैले सुनेका रोवर्टो कार्लोस,रिभाल्डो, रोनाल्डो जस्ता हस्तीहरुलाई लाइभ देख्दा खुसी लाग्थ्यो। अरु देश र खेलाडी त मैले चिनेको भए पो। २००२ को फुटबलले धेरै सिकायो। अर्जेन्टिना, इटाली, फ्रान्स, इङ्ल्याण्ड, जर्मनीजस्ता फुटबलका पावरहाउसहरु रैछन् भन्ने जानकारी गरायो।
फ्रान्सेली जिनेदिन जिदान, थियरी हनरी, इङ्गलिस डेविड वेकह्याम,ब्राजिलियन रोनाल्डो, अर्जेन्टिाइन कार्लोस टेभेज, इटालियन गोलकिपर बुफोन र पिटर चेक नाम गरेका मखुण्डो लगाएका गोलकिपर हेर्दा चिन्ने बनायो। वेकह्यामको फ्रिकिक र काका खुब पपुलर थिए। काका नाम नेपाली नामसँग मेल खाको भएर होला खुब मन पर्ने। यति बेला सम्म मेरो कोही पनि पक्ष विपक्ष थिएन, ब्राजिलका अलि बढी खेलाडीको नाम जानेको भएर होला अरु भन्दा बढी मन पर्थ्यो। अर्जेन्टिनाको जर्सी खुब मन पर्ने त्यो बेला। त्यसैले होला, अर्जेन्टिना मेरो दोस्रो रोजाइमा पर्थ्यो। अहिले आएर लाग्छ, त्यो बेला रैछ जुनबेला म बिशुद्ध फुटबल मन पराउँथे, नकि कुनै खेलाडी वा राष्ट्र। ब्राजिलले २००२ को वर्ल्डकप जित्यो, रोनाल्डोले ट्रफी चुमेको र पेलेलाई ब्राजिलियनहरुले बोकेको दृश्यहरु अझ पनि ताजै लाग्छन्।
सन २००६ को विश्वकप जर्मनीमा आयोजना हुँदै थियो। पुराना चर्चित नामका साथ साथ अरु नयाँ नामहरु पनि हेर्न र सुन्न पाउन थालियो। पहिलेका विश्वकप भन्दा यो विश्वकप मेरा लागि धेरै कुराले फरक थियो। यो विश्वकपमा म कसैको स्पष्ट पक्ष र विपक्ष लिँदै थिए। अर्को, यो म्याच म राजधानीमा हेर्दै थिएँ, ठुल्ठुला पर्दामा धेरै फुटबल फ्यानहरु जम्मा भएर हेर्दाको मजै बेग्लै।
अघिल्लो विश्वकप पाँचौ पटक ब्राजिलले जितेको भएर हुनुपर्छ, पहेँलो टिसर्टधारीहरुको बाहुल्य स्पष्ट देखिन्थ्यो। मैले पनि आफूलाई मन मरेको अर्जेन्टिनाको जर्सी आफ्ना लागि जोहो गरेको थिए। त्यति बेला आफूलाई ब्राजिलका “डाइहार्ट फ्यान” भनाउनेहरु बाँकी कसैलाई गन्दै नगन्ने। उनीहरुको कुरा सुन्दा लाग्थ्यो, ब्राजिल ट्रफी लिन जर्मनी गाको र बाँकी ताली बजाउन। त्यही बेला मैले बलियो अठोट लिएँ, ब्राजिलको विरोधी भएर म्याच हेर्ने। समर्थन कस्को गर्ने? सोचेँ जर्सी जसको किनेको छु उसैको। हो, सन २००६ को विश्वकपदेखि म अर्जेन्टिनाको खाँटी समर्थक भएँ र रहँदै आएको छु। हुन त ब्राजिल र अर्जेन्टिना दुवैले त्यो वर्ष विश्वकप जितेनन्, तर मलाई आफ्नो हारको दुख भन्दा अरुको हारको खुसी बढी महसुस भएको थियो।
त्यही समयमा हुनुपर्छ सायद, मेसी, म्याक्सी रोड्रिगेजहरुले राम्रो खेलेका। आयोजक भएको भएर हुनुपर्छ जर्मनहरुको खेल नि ईन्ट्रेस्टिङ लाग्थ्यो। पछि पो थाहा भयो धेरै राम्रो खेल्दा रैछन् जर्मनहरु। त्यसपछि आफ्नो रोजाइको दोस्रो नम्बरमा जर्मनी पर्यो र रहिआएको छ। सन २०१० विश्वकप मेरा लागि आयो गयो। किनकी अर्जेन्टिना र जर्मनीले जितेनन् तर म हारिनँ। मेरा लागि २०१४ को पर्खाई सहज भयो त्यतीबेला। भन्नेहरुले भन्लान् मेसी भएर मैले अर्जेन्टिना मन पराएँ, मलाई अरुका अनुमानको खण्डन गर्नु छैन।
म किन अर्जेन्टिना मन पराउँछु? स्पष्ट उत्तर मसँग नहुन सक्छ। मलाई यति थाहा छ, म मन पराउँछु र सपोर्ट गर्छु हृदयदेखि नै। र, म ढुक्क छु आगामी खेलहरुमा मेरा बाघहरुले सजिलै सिकार गर्नेछन्। जुन दिन अर्जेन्टिना र जर्मनी खेलबाट बाहिरिनेछन्, मेरो लागि विश्वकप त्यही दिन सकिनेछ तर म ब्राजिलबिरोधी भएर खेलको मजा लिइरहेको हुनेछु। अन्त्यमा, किरण भण्डारीको शब्द सापटी, 'आगे मेसी, हिगुइन, मुलर र क्लोजहरुको जो मर्जी'।