Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

वैद्य माओवादीले सभासदको लागि यस्तो शर्त राख्यो

$
0
0
१५ मंसिर, काठमाडौं । संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा- माओवादीले चुनाव सकिएलगत्तै आफूलाई पनि एमाओवादीको जति नै हुने गरी ८० सीट दिए संविधानसभामा सहभागी हुने जनाएको छ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका सचिव देव गुरुङले सुशील कोइराला पक्षधर एक कांग्रेस नेताका घरैमा पुगेर यस्तो प्रस्ताव राख्नुभएको हो ।dev-gurung
‘अन्तरिम संविधान संशोधन गरेर ६ सय १ सदस्यीय संविधानसभालाई ठूलो बनाउनुपर्ने र एमाओवादीले जितेको जति नै सीटमा आफूहरुलाई पनि दिइनुपर्ने गुरुङजीको माग छ ।’ गुरुङसँग भेट गरेका कांग्रेस नेताले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा अनलाइनखबरसँग भने, ‘गिरिजाबाबुले ०६३ सालमा एमालेको जति नै सीट माओवादीलाई दिएको जनाउँदै यसपटक प्रचण्ड पक्षले पाएकै जति सीट आफूहरुलाई दिइनुपर्ने गुरुङजीको प्रस्ताव छ ।’
आफूले वैद्य माओवादीको यो प्रस्ताव पार्टी सभापति सुशील कोइरालासम्म पुर्‍याएको तर, कोइरालाले अन्तरिम संविधान संशोधनमा तयार नहुने प्रतिक्रिया दिनुभएको कांग्रेस नेताले अनलाइनखबरलाई बताए । ‘मैले सुशीलजीलाई पनि भनें, तर उहाँले त्यसरी अन्तरिम संविधान संशोधन गर्न सकिँदैन भन्नुभयो ।’ उनले भने । साथै वैद्य माओवादीलाई ८० सीट दिएपछि दुबै माओवादी एक हुने हुन् कि भन्ने डर कांग्रेसमा रहेको उनले पनि बताए । ‘कम्युनिष्टको कुरामा विश्वासै गर्न सकिँदैन, ८० सीट दिएपछि वैद्य र प्रचण्ड मिले भने के गर्ने ?’ कांग्रेस नेताले भने ।
नेकपा-माओवादीले आफू अहिले पनि शान्ति सम्झौताको एउटा पक्ष भएकाले गिरिजाका पालामा जस्तै आफूहरुलाई संविधानसभामा मनोनित गरेर एमाओवादीकै जति हैसियत दिइनुपर्ने माग गरेको कांग्रेस नेताले बताए ।
गोलमेच सम्मेलनमा कांग्रेस तयार
स्रोतका अनुसार नेपाली कांग्रेस वैद्य माओवादीले माग गरेजस्तै गोलमेच सम्मेलनका लागि भने तयार रहेको छ । सबैभन्दा पहिले कां्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सानो सरकार गठन गर्ने र गोलमेच सम्मेलन गरेपछि हुने थप सहमतिअनुसार सरकार विस्तार गर्न सकिने कांग्रेसको प्रस्ताव छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन माग
यसैवीच नेकपा-माओवादीले सरकार सञ्चालन र संविधानका अन्तरवस्तुमा सहमति खोज्न उच्चस्तरीय सर्वदलीय समिति बनाउन समेत कांग्रेस नेतासमक्ष प्रस्ताव गरेको छ । त्यस्तो समितिले सरकारमा क-कसलाई राख्ने, संवैधानिक निकायमा कसलाई नियुक्त गर्ने, संविधान कस्तो बनाउने र सरकार कसरी चलाउने देखि लिएर नेपाल भारतवीच भएको १९५० को सन्धी समेत पुनरावलोकन गर्नुपर्ने वैद्य माओवादी नेताको प्रस्ताव छ । कांग्रेस नेताले भने चाँडै गोलमेच सम्मेलन गर्ने र यी सबै विषयहरुमा त्यहीँ छलफल गर्न उपयुक्त हुने वैद्य माओवादी नेतालाई आश्वासन दिएका छन् ।
देव गुरुङको भनाइ
यसैवीच माओवादी सचिव देव गुरुङले भने आफूले कुनै पनि नेतासँग त्यस्तो कुरा नगरेको बताउनुभएको छ । ‘मैले काँही पनि र कसैसँग पनि त्यस्तो कुरा भनेको छैन’ गुरुङले अनलाइनखबरसँग भन्नुभयो ।
Latest LokGeet + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351