- लीलानाथ श्रेष्ठ
कल्याणपुर–कालाबञ्जर गाविसको प्राथमिक विद्यालय मतदान केन्द्रको (क) र (ख) बुथबाट मलाई १८५ र पुष्पकमल दाहाललाई १०९० मत आयो, अरूलाई आएन।मलाई आएको मत पनि मलेवाको मतपेटिका मिसाएर गणना गरिएकाले आएको हो । बडहरामालको निमावि भुल्किया मतदान केन्द्रमा पनि बिहान मतदान शुरू भएको केही समयपछि नै एमाओवादीले बुथ कब्जा गरेको थियो ।
बुथ कब्जा हुनु अघि मैले ८४ मत पाएँ, मालेले १८ र कांग्रेसले २ मत पाएको थियो । एमाओवादीले त्यहाँबाट ८५४ मत पायो ।
त्यो बुथमा दिउँसो १ बजेतिर पाँचवटा मत पेटिकामा एउटै व्यक्तिले पटकपटक छाप लगाएर मतपत्र हालेको देखेपछि प्रहरीले पाँच वटै मत पेटिका खोसेर मतदान अधिकृतलाई बुझाएको रहेछ । उनै अधिकृतले मलाई सबै बताएका हुन्।
हाम्रा प्रतिनिधिलाई फोन समेत गर्न नदिएर कब्जामा राखिएको थियो । मृतक र विदेशमा भएकाको नाममा पनि मत हालिएको छ । कल्याणपुर–काला बञ्जरमा ‘सात बजे मतदान शुरू भएको १५ मिनेटपछि एमाओवादीले कब्जा गरेर मत खसाएको ‘कर्मचारीले मलाई बताए।
कल्याणपुर–कालाबन्जर गाविसको प्रावि मतदान केन्द्रको (क) र (ख), बडहरामाल गाविसको निमावि भुल्किया मतदान केन्द्रको (क) र (ख) र सोही गाविसको प्रावि बडहरामालको (क) र (ख) बुथमा एमाओवादी कार्यकर्ताहरूले मतदान अधिकृत र सुरक्षा–प्रमुखहरूको मिलेमतोमा एकलौटी मत खसाले।
धाँधलीको तरीका
कसैलाई पैसा दिएर तथा कसैलाई धम्क्याएर मतदाताको नागरिकता जम्मा गरियो। बुथ कब्जा भएका ठाउँमा कहीं डेढ सय, कहीं अढाइ सय तकहीं तीन सय सम्म नागरिकता देखाएर एकै जनाले परिचयपत्र लगेको पाइयो।
कल्याणपुर–कालाबञ्जरमा एमाओवादीलाई शत प्रतिशत मत खस्नुको कारण त्यही हो।
बडहरामालमा बिहान साढे सात बजे नै कब्जा गरे, हाम्रा कार्यकर्ताहरूलाई घरमै गएर निस्किइस् भने खुट्टा भाँच्ने भन्दै धम्क्याए। र, मतदान केन्द्र जाने बाटो छेकेर बसे।
बुथमा हाम्रा प्रतिनिधिलाई प्रवेश गर्न दिइएन भनेर १० बजे फोन आएपछि मैले जिल्ला निर्वाचन अधिकृत र सिडिओलाई सम्पर्क गरें। त्यसपछि सशस्त्रप्रहरी पुगेर उनीहरूलाई प्रवेश गरायो, तर त्यतिञ्जेल ७० प्रतिशत मत खसाइसकिएको थियो ।
त्यहाँ पुग्दा मैले देखें– एमाओवादी कार्यकर्ता मत पेटिका छेउमा उभिएर ‘हँसिया हथौडामा’ जबर्जस्ती भोट हाल्न लगाइरहेका थिए। यस्तो देखेर ‘किन रोक्नुहुन्न’ भन्दा प्रहरी केही बोलेनन्। मतदान अधिकृतले पनि उम्कने कुरा मात्र गरे।
यो अवस्था जानकारी गराएपछि मतदान भइरहेकै वेला एमाले केन्द्रीय कार्यालयले निर्वाचन आयोगलाई पत्र लेखेर कब्जा गरिएका बुथमा पुनः मतदान गर्नुपर्ने माग गर्यो। मैले जिल्ला निर्वाचन कार्यालयमा पनि पुनः मतदानको माग सहित निवेदन दिएँ।
भोलिपल्ट मत गणना शुरू गर्न खोज्दा हामीले पुनः मतदान हुनुपर्ने माग गर्दै एक घण्टा अवरोध गर्यौं । माग सुनुवाई नभएपछि हामीले मतगणनामा भाग लिएनौं। मैले त्यसपछि कुनै प्रक्रियामा हस्ताक्षर गरेको छैन। हामी नभए पनि मत गणना अघि बढाइयो ।
६ गते बेलुकी ६ बजे एक्कासि मत गणना रोकियो, काठमाडौंबाट शुभचिन्तकहरूले फोन गरेर ‘काठमाडौंबाट हारेपछि पुष्पकमल दाहाललाई सिरहाबाट जिताउँदैछन्, सतर्क होऊ’ भने। त्यसपछि काठमाडौंमा पार्टी अध्यक्ष लगायत नेताहरूसँग कुरा गरें, उहाँहरूले सतर्क हुनुहोला भन्नुभयो।
जिल्ला निर्वाचन अधिकृतसँग ‘मैले पुनः मतदानको माग गर्दा सुन्नुभएन, अहिले किन रोक्नुभो ?’ भन्दा केही बोलेनन् । कसैले दाबी–उजुरी नगर्दा पनि गणना रोकिनु शंकास्पद छ। करीब १९ घण्टापछि मात्र पुनः गणना शुरू गरियो ।
मैले पाएका ९५० मत बदर गरिएको छ, सूर्य सँगै हलो, रूख र हँसिया हथौडामा पनि छाप लगाइएकाले । गणना रोकिएको वेला अन्य चिन्हमा छाप लगाइएको हुन सक्छ। हँसिया हथौडामा छाप लगाइएका अर्धकट्टी र मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिनु पनि शंकास्पद छ।
एमाओवादीले १ मंसीरदेखि वाईसीएल र पूर्वलडाकू जम्मा गरेको थियो । गाउँहरूमा नयाँ मान्छेको हूल देखिएपछि सिडिओ र पुलिसका हाकीमहरूलाई मैले बताएँ ।
तर, एमाओवादीको सरकार बन्ने ठानेर होला, उहाँहरूले मेरो भनाइ सुन्नु भएन। मिर्चैयाको इन्स्पेक्टरबाट त हाम्रा समर्थक र कार्यकर्तालाई सताउने र हतोत्साहित पार्ने काम नै भयो।
धाँधली नभएको भए ६ वटा बुथबाट ५००–६०० का दरले मैले मत पाउँथें। अहिले संविधानसभा अदालतमा उजुरी दिएर धाँधलीका प्रमाण जुटाउँदैछु । न्यायपाउने आशा अझै मरेको छैन।किनभने, कानूनले ठूलो सानो भन्दैन भन्ने मेरो विश्वास छ।
- श्रेष्ठ सिरहा–५ बाट एमालेका उम्मेदवार हुन्/हिमालखबर